भूकम्पपीडितले पाए नयाँ घर

भूकम्पको ४४ महिनापछि तंग्रिन थालेको हेलम्बुको १ देखि वडा ७ सम्मका अधिकांश बस्ती रंगीन घरले भरिइसकेका छन् 
अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका इचोक दंगाल टोलका अशक्त डिल्लीप्रसाद चापागार्इंले सजिलैसित घर पाइएला भनेर चिताएका थिएनन् ।

भूकम्पपीडितले पाए नयाँ घर

भूकम्पले ध्वस्त पुख्र्यौली घरमा पुरिएका एकल पुरुष चापागाईं दुवै खुट्टा कमजोर र बांगो भएपछि दिक्क थिए । ‘उबेला कतै कुहिएर मर्छु भन्ने सोचेको थिएँ, कोही सहारा नभएको मान्छेको घर कसैले बनाइदिन्छ भनेर कल्पना गरेको थिइन्, दैवले दया गर्‍यो,’ ६५ वर्षे चापागाईंले भने ।


अपांगमैत्री घरमा सुधारिएको चुलो, आँगनमै धारा, भाडा राख्ने चाङ, केही छेउमै शौचालय पाएपछि दैनिकी सहज बनेको उनले सुनाए । ‘मैले खोजेजस्तै घर छ, आनन्द लागेको छ,’ उनले भने । बिहे भएलगत्तै लोग्नेले छोडेपछि बेसहारा बनेकी हेलम्बु किउल ढोडेनीकी ७२ राम्री तामाङले घर बनेपछि ठूलो सहारा मिलेको बताइन् । ‘सरकारी अनुदान लिएर यस्तो घर कहाँ बनाउन सक्थ्यें र हजुर, यहाँ मलाई चाहिने सबै कुरा रहेछ,’ उनले भनिन् ।


मेलम्ची नगरपालिका— ११ की ३६ वर्षीया उर्मिला दनुवारको मुहार बल्ल उज्यालिएको छ । भूकम्पपछि घर बनाउने तयारी गर्दागर्दै लोग्ने बितेपछि अत्तालिएकी उनको इच्छाअनुरूप बल्ल घर बन्यो । ‘जाने त गइहाले, आफू बाँच्नका लागि घर कसरी बनाउने, पिरलो थियो, त्यो पीर मेटियो, भनेजस्तै घर बन्यो,’ उनले भनिन् ।


भूकम्पको ४४ महिनापछि तंग्रिन थालेको हेलम्बुको १ देखि वडा ७ सम्मको अधिकांश बस्ती रंगीन घरले भरिइसकेका छन् । हेल्भेटास नेपालको आर्थिक, प्राविधिक र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सीडीईसीएफ) को सामाजिक सहयोगमा पक्की आवास ठडिएपछि पीडित उत्साहित बनेका छन् ।


‘भूकम्प प्रभावित समुदायको सुविधा पुनस्र्थापना परियोजना’ अन्र्तगत सबै आवास स्थानीय सामग्री प्रयोग गरेर काठको बन्धन मापदण्ड राखेर बनाइएको छ । विपन्न परिवार संख्याअनुसार डिजाइन गरेर घर बनाइएको मञ्चका मुरारीप्रसाद सापकोटा सुनाउँछन् ।


‘हेलम्बु गाउँपालिका र मेलम्ची नगर क्षेत्रभर ७ सय ८३ भूकम्पपीडितको आवास बनेका छन्,’ सापकोटाले भने । उनले विपन्न वर्गका भूकम्पपीडित लक्षित गरेर मेलम्ची वडा ११, ६, ७ , ८ मा र हेलम्बु गापाभर आवास बनाइएको जनाए । ‘सरकारी आवास अनुदान ३ लाख बराबर व्यवस्थित आवास बनेको छ,’ उनले भने ।


भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय तहसँग मिलेर खानेपानी, सरसफाइको सचेतना कार्यक्रम फैलाएको उनले प्रस्टयाए । फोहोर व्यवस्थापन, लगायत विभिन्न वातावरणमैत्री अभियान व्यापक बनाइएको उनको कथन छ । पर्यटकीय क्षेत्रको रूपमा चर्चित हेलम्बुमा होमस्टे अभियानलाई ल्याउन स्थानीय सरकार जुटेको देखिन्छ ।


अभियानलाई सघाउन यहाँको बस्तीभर एउटै रंग र एकै संरचनाका आवास बनाउन थालिएको छ । सापकोटाका अनुसार मेलम्ची जलाधार क्षेत्रमा निजी आवास र ३८ खानेपानीसहित एक घर एक धारामार्फत झन्डै २४ सय परिवारमा सहयोग पुर्‍याएको छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?