कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पुनर्निर्माण भएन साततले दरबार

कृष्ण थापा

नुवाकोट — यहाँका पुरातात्त्विक सम्पदा दिनानुदिन भत्किँदै र खण्डहरमा परिणत हुन लाग्दासमेत सरोकारवाला निकायले अझैसम्म चासो लिएको छैन ।

पुनर्निर्माण भएन साततले दरबार

पुरातात्त्विक साततले दरबार लगायतका वरिपरिका संरचना पुनर्निर्माणको सट्टा कुन दिन ढल्छ भन्ने स्थानीयवासीमा त्रास बढेको छ । ‘दरबार कुन दिन ढल्छ भनेर हेरेर बसेका छौं,’ स्थानीय सुरेन्द्रकुमार शाहीले भने, ‘कति पटक पुरातत्त्व विभागका महानिर्देशकलाई भनियो, भैरवी मन्दिर जाने भक्तजनलाई

झिँगटी र इँटा खसेर लाग्न सक्छ भनेर छिटो बनाउनु पर्‍यो भनेर कयौंपटक भन्यौं । भन्दाभन्दै थाकिसक्यौं ।’


नुवाकोट भन्नासाथ यही नुवाकोट साततले दरबारलाई चिनिन्छ । ‘यही रहेन भने के हेर्ने ?’

स्थानीयवासी शाहीले भने, ‘नुवाकोटको चिनो भनेर दरबारको फोटो अतिथिलाई दिने चलन छ । त्यसपछि के दिने ? पुर्खाको सम्पत्ति जोगाउन सकेनौ भनेर इतिहास मेटिन्छ ।’


चीन सरकारले यही कात्तिक–मंसिरमा पुनर्निर्माण थाल्ने भनिएकोमा अहिलेसम्म अत्तोपत्तो नभएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, संग्रहालयका कार्यालय प्रमुख अर्जुनप्रसाद फुयालले बताए ।


‘अझै केही जानकारी आएको छैन,’ उनले भने । गत भदौमा चिनियाँ प्राविधिकले दरबारको सर्भे गरेका थिए । दरबारको डीपीआर तयार भइसकेको र लागत इस्टमेट चीन सरकारले तयार पार्दै गरेको जानकारी कार्यालयले पाएको छ । दरबारको पूर्वपट्टि नारायण र विष्णु मन्दिर, बग्दै गरेको तादी नदी र डाँडाकाँडा, पश्चिम तलतिर सुसाइरहेको त्रिशूली नदी, बजार र सामरी भन्ज्याङ डाँडाहरू ।


पुननिर्माणको पर्खाइमा साततल्ले दरबार । तस्बिर : कृष्ण/कान्तिपुर


उत्तरपट्टि कालिका मन्दिर, गणेश हिमाल, भग्नावशेष पाँचतले तुलजा भवनी दरबार, भत्किएका मल्लकालीन रंगमहल र गारदघर भवन सहितका पुरातात्त्विक सम्पदाका दरबार छन् । प्यागोडा शैलीमा निर्मित उक्त दरबार २०७२ साल वैशाख १२ गतेको भूकम्पले गर्दा टेको लगाएर राखिएको छ । पूर्वीद्वार भएको दरबारलाई केही इतिहासकारले नौतले भएको बताउँछन् ।


१९९० सालको महाभूकम्पले दरबारको माथिल्लो भाग खसेपछि श्री ३ महाराज जुद्ध शमसेरको पालामा सात तलामा सीमित भएको स्थानीयको भनाइ छ ।


गोरखाका राजा पृथ्वीनारायण शाहले १८१७–१९ भित्रमा ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाउन लगाएको इतिहास छ । काठमाडौंबाट ७५ किमि उत्तर र सदरमुकाम विदुरबाट ६ किमि दूरीमा विदुर नगरपालिका २ मा साततले दरबार रहेको छ ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?