पुनर्निर्माण बल्ल ३० प्रतिशत

पहिलो किस्ता लिएका १६ हजार ७ सय ४७ लाभग्राहीेले पुनर्निर्माण सुरु गरेनन्
कान्तिपुर संवाददाता

भक्तपुर — भूकम्प गएको साढे ३ वर्षमा भक्तपुरमा ३० प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणित गरेको २८ हजार ३ सय ८ लाभग्राही (भूकम्पपीडित) मध्ये २४ हजार १ हजार ४४ लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।

सूर्यविनायक नगरपालिका–८, नैचालमा निर्माणाधीन घर । तस्बिर : फातिमा/कान्तिपुर


तर, अनुदान सम्झौता गरेका ७ हजार ३ सय ९७ अर्थात्, ३० प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जीएमएएलआई) को तथ्यांकमा उल्लेख छ ।

लाभग्राही सूचीमा परेकामध्ये २० हजार ९ सय ११ भूकम्पपीडित पुनर्निर्माणको प्रक्रिया बाहिर रहेको जीएमएएलआई भक्तपुरको तथ्यांकले देखाउँछ । ‘लाभग्राही सूचीमा परेका ४ हजार १ सय ६३ भूकम्पपीडितले पुनर्निर्माणका लागि अनुदान सम्झौतासमेत गर्न आएका छैनन्,’ जीएमएएलआई भक्तपुर प्रमुख ध्रुव गैंडाले भने, ‘अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिइसकेका १६ हजार ७ सय ४७ लाभग्राही पुनर्निर्माणको प्रक्रिया थालेका छैनन् ।’

जीएमएएलआईका अनुसार नगरपालिकाहरूको झन्झटिलो नक्सापास प्रक्रिया, जग्गाको बहुस्वामित्व, जग्गाको स्वामित्व नहुनु (लालपुर्जा नहुनु), दर्ता नभएका स्ववासी, गुठी जग्गा तथा मोही लागेको जग्गामा नक्सा पासमा कठिनाइ, न्यून आयस्रोत, निर्माण सामग्रीको महँगी तथा पारिवारिक बेमेलका कारण पुनर्निर्माणमा ढिलाइ भएको छ । ‘बाजेको पुस्तादेखि बस्दै आएको घरको लालपुर्जा छैन, जग्गाको स्वामित्व नहुनेले अनुदानमा घर बनाउन समस्या छ,’ जीएमएएलआईका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले भने, ‘पुस्तान्तर हुँदै जाँदा जग्गाको बाँडफाँड हुनुपर्ने हो तर जिल्लाको पुराना बस्तीमा जग्गाको बाँडफाँड भएको देखिएन ।’ जग्गा बहुस्वामित्वको भएका कारण पनि पुनर्निर्माणमा समस्या आएको उनले बताए ।

पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि तथा ढुवानीको समस्याले भूकम्पपछिको पुनर्निर्माणमा कठिनाइ भएको पीडितको गुनासो छ । ‘इँटा, बालुवा, डन्डी, काठको मूल्य अत्यधिक वृद्धि भएको छ,’ भक्तपुर नगरपालिका चाछेंका रवीन्द्र त्वायनाबासुले भने । निजी आवास पुनर्निर्माणका लािग अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ लिए पनि निर्माण सामग्रीको महँगीले घर बनाउन नसकेको उनी बताउँछन् ।

भूकम्प पीडितको स्थलगत अनुगमनराष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले भूकम्पपीडित (लाभग्राही) को स्थलगत अनुगमन थालेको छ । सम्झौता नगरेका तथा पहिलो किस्ता लिई दोस्रो किस्ताको प्रक्रियामा नआएका लाभग्राहीको समस्याको पहिचान गर्न स्थलगत अनुगमन तथा अन्तरक्रिया थालेको जीएमएएलआई भक्तपुर प्रमुख गैंडाले बताए ।

निजी आवास पुनर्निर्माणसम्बन्धी जिल्लाका चारवटै नगरपालिकाको ३८ वटै वडामा अनुगमन गरी पुनर्निर्माणमा देखिएका समस्याहरूको पहिचान गर्ने, भूकम्प प्रभावित लाभग्राही एवं गुनासोकर्ताको गुनासोबारे छलफल गर्ने, स्थानीय तहमा पुनर्निर्माणसम्बन्धी कार्यमा खटिएका प्राविधिकसँग पुनर्निर्माणमा देखिएका समस्या एवं चुनौती सम्बन्धमा छलफल गर्ने गैंडाले बताए ।

लाभग्राहीको स्थलगत अनुगमनका लागि जीएमएएलआईले मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका लागि अनुगमन तथा मूल्यांकन अधिकृत विवेक गौतम तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि सामाजिक विकासविज्ञ हेरम्बा अधिकारीको संयोजकत्वमा इन्जिनियर, जिल्ला समन्वय समिति एवं जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खटिएको जनाएको छ ।

अनुगमनले लाभग्राहीमा परेकालाई सम्पर्कमा नआउनुको कारणखोज्ने, घर बनाउने वा लगत कट्टा गर्नेविषयमा छलफल गर्ने, समस्याको पहिचान गर्ने र घर बनाउन नचाहने लाभग्राहीलाई अनुदानको रकम फिर्ता गर्न अभिप्रेरित गर्ने गैंडाले बताए ।

प्रकाशित : मंसिर १९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- 'न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

फातिमा बानु

काठमाडौँ — गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ । उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज । तस्बिर : फातिमा/कान्तिपुर


मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष उपचार कक्षमा सरेका छन् । चार दिनदेखि उनी सर्जिकल वार्डमा उपचाररत छन् । खुट्टामा लागेको घाउ निको हुँदै छ । कुर्न बसेकी श्रीमती दुर्गादेवी पन्त भने घर फर्किसकेकी छन् । परिवार स्रोतमा अनुसार उनलाई हाल उठ्न तथा हिँडडुल गर्न सहयोग चाहिँदैन ।

कुरुवा बसिरहेकी उनकी दिदी प्रेमवती राणा भन्छिन्, ‘शौचालय लैजान दुई जना चाहिन्थ्यो, अहिले एक्लै जान्छन् ।’ उनका अनुसार उपचारमा संलग्न नर्स देख्नासाथ यज्ञराज छोरी निर्मला नै सम्झिन्छन्, रुन्छन्, कराउँछन् । उनी भन्छिन्, ‘उहाँ निर्मलालाई सम्झिरहनुहुन्छ, राति पनि घरी निदाउनुहुन्छ, घरी बर्बराउनुहुन्छ ।’
मानसिक रोगको लक्षणका आधारमा थप उपचारका लागि राजधानी ल्याए पनि उनी मानसिक वार्डमा छैनन् । खुट्टामा चोटपटक लागेको छ । रिपोर्टका अनुसार एउटा औंला पनि भाँचिएको छ । खोच्याउँदै हिँड्छन् ।

मंसिर ८ गतेको घटना सम्झिँदै उनी भन्छन्, ‘बजारबाट दाह्री काटेर म न्यायका लागि धर्ना बस्न जाँदै थिएँ, अचानक खुट्टामा कसैले बेस्सरी हानेजस्तो लाग्यो, एकै छिनमा खुट्टा सुन्नियो ।’ याद भएसम्म होस आउँदा उनले आफूलाई इमेर्जेन्सी वार्ड लेखेको ठाउँमा पाएका थिए । कुनै अस्पतालमा भर्ना हुँदै छु भन्ने उनलाई लाग्यो । मानसिकरोगी भन्दै बाहिर चलेको हल्लाका कारण उनी दु:खी छन् । दु:खी हुँदै उनी भन्छन्, ‘छोरी बलात्कार हुँदा कुनचाहिँ बाउ छट्पटिँदैन, न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

प्रेमवतीका अनुसार निर्मलाको हत्यापछि यज्ञराजको व्यवहारमा फरकपन आएको थियो । उनी एउटा कुरा गर्न खोज्दा अर्कै गर्थे, आफूले भनेका कुरा आफैं बिर्सन्थे । परिवारमा उनलाई परामर्शका लागि अस्पताल लैजाने सल्लाह भइरहन्थ्यो । उनी भन्छिन्, ‘उहाँ भने, धर्ना छाडेर कतै जान मान्नु हुँदैनथ्यो, खाने–सुत्ने ठेगान हुँदैनथ्यो ।’

यज्ञराज निर्मलाको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टा धर्ना बस्दै आइरहेका थिए । प्रेमवती थप्छिन्, ‘धर्नामा बस्दा अनेक किसिमका मान्छे आउँथे, निर्मलाबारे एउटै कुरा हजारपटक भन्नुपर्दा हुने असह्य पीडाले पनि उहाँलाई यस्तो बनाएको होजस्तो लाग्छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई थाइराइडको समस्या देखिएको छ । औषधि खाएर आराम गर्दै छन् । खुट्टाको घाउ पनि निको हुँदै छ । उनलाई हेरिरहेका मनोचिकित्सक डा.सरोज ओझा भन्छन्, ‘उहाँलाई गम्भीरखाले मानसिक समस्या छैन, चिन्ताका कारण मनोसामाजिक समस्या भएको हो, पहिलेभन्दा धेरै सुधार छ ।’

निर्मलाको हत्या भएको समय यज्ञराज भारतमा थिए, गुरुपूर्णिमा मनाउन । देशबाहिर भएकाले परिवारसँग फोन सम्पर्कमा थिएनन् । घटना भएको ५ दिनपछि मात्रै आफूले छोरीको हत्याबारे थाहा पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘गाउँका मान्छेले छोरी सिकिस्त बिरामी छ भनेर बोलाएका थिए, घर आउँदा छोरीले संसार छाडिसकेकी रहिछ ।’

यज्ञराजका तीन छोरी थिए । उनी बाँकी दुईलाई पनि केही होला भनेर आत्तिन्छन् । निर्मलाको घटनापछि उनी शान्त छैनन् । ठीक भएर चाँडै घर फर्किन मन लागेको बताउँदै उनी भन्छन्, ‘फर्केर फेरि धर्नामा बस्छु, बलात्कारी हत्यारा नसमातिएसम्म आन्दोलन गरिरहन्छु ।’

प्रकाशित : मंसिर १९, २०७५ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्