दुई वर्षमा बने सय भवन

टीकाप्रसाद भट्ट

रामेछाप — ठेक्का पाएर पनि वर्षौंसम्म विकासका योजना अलपत्र पारेको आरोपमा ठूला निर्माण व्यवसायी कालोसूचीमा परेकै बेला रामेछापमा भने एकै निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेको छ । 

दुई वर्षमा बने सय भवन

जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा उक्त विद्यालयको काम सम्पन्न गरेको हो । भवन निर्माणले विद्यार्थीको पठनपाठन सहज भएको छ । ‘यति छिटो अवधिमा धेरै विद्यालय भवनको पुनर्निर्माण गरेकोमा खुसी लागेको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार रामेछापको गौरीशंकर मावि भवन हस्तान्तरण गर्दै भने ।

उक्त विद्यालयका ७ वटा भवन १५ महिनामा निर्माण पूरा भएका हुन् । निर्माण पूरा भएको उक्त विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । यसअघि कष्टकर बाँसको चित्रामा बसेर पठनपाठन गर्दै आएका बालबालिकाले चिटिक्क परेको आधुनिक भवन पाएका हुन् । विद्यालय परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी वेरीले अमेरिकी नागरिक र सरकारले नेपालको पुनर्निर्माण कार्य गर्न पाएकोमा हर्ष व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमेरिकाको सहयोग भएको र त्यस्तो सहयोग निरन्तर हुने बताए । उनले नेपालमा २९ वटा संरचनाको पुनर्निर्माणमा अमेरिकी सहयोग जारी रहेको बताए । विभिन्न १९ वटा विद्यालयको काम गर्ने ठेक्का पाएको खानी निर्माण सेवाले अन्य निर्माण सेवासँगको सहकार्यमा विद्यालय भवन पुनर्निर्माण गरिरहेको छ ।

यसअघि जिल्लाका दर्जनौं विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको र केही हस्तान्तरणको तयारीमा रहेका निर्माण व्यवसायी रत्न गौतमले बताए । विद्यालयको क्षेत्रमा पुनर्निर्माणको कार्य ढिलो सुरु भए पनि छोटो अवधिमा नै उल्लेख्य प्रगति देखापरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले बताए । उनले भूकम्पले ३१ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालय पूर्ण रूपमा क्षति भएकोमा हालसम्म ४ हजार भवन पूरा भएका र २ हजार ५ सय भवन निर्माणाधीन अवस्थामा रहेको बताए । ठूला विद्यालय निर्माण व्यवसायीमार्फत, मझौला इकाईमार्फत र साना विद्यालय व्यवस्थापन समितिमार्फत पुनर्निर्माण गर्ने अभियान सञ्चालन गरेकोले थोरै अवधिमा धेरै उपलब्धि हुन सकेको उनले दाबी गरे ।

प्रकाशित : मंसिर १९, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?