कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मापदण्डविपरीत इँट्टाभट्टा : मेयरले रोक्ने, वडा अध्यक्ष अनुमति दिने

नगेन्द्र अधिकारी

काभ्रे — नगर क्षेत्रमा रहेका इँट्टा उद्योगबारे अध्ययन गठित समितिका संयोजकले नै नगरको निर्णयविपरीत उद्योग स्थापना गर्न अनुमति दिएको भेटिएको छ ।

मापदण्डविपरीत इँट्टाभट्टा : मेयरले रोक्ने, वडा अध्यक्ष अनुमति दिने

नमोबुद्ध नगरपलिकाका विभिन्न इँट्टाभट्टा स्थापना अनुमति प्रक्रिया, दर्ता प्रक्रिया, वातावरण लगायत विभिन्न विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न संयोजक तोकिएका २ नं वडा अध्यक्ष सञ्जीव ढकालले उद्योग स्थापना गर्नका लागि प्रक्रिया अघि बढाउन स्वीकृत दिएको भेटिएको हो ।


२०७४ जेठ १० गते पदवहाली गर्दा नगरप्रुमख टंकप्रसाद (टीपी) शर्माले नगरलाई वातावरणमैत्री बनाउने प्रतिबद्धता गर्दै इँट्टाभट्टा सञ्चालनका लागि बहालपश्चात नगरपालिकाबाट इँट्टाभट्टा सञ्चालनका लागि अनुमति दिने कुनै प्रकारको संस्थागत निर्णय नभएको दाबी गरेका थिए । तर त्यसको ३५ दिनपछि असार १५ गते वडा सचिव मुरारी सत्यालले तयार गरेको सत्यनारायण इँट्टा उद्योगको सर्जिमिन मुचुल्का ढकालले प्रमाणित गरेर उद्योग दर्ताको बाटो खोलिदिएका हुन् । असार ३० गर्दै प्रारम्भिक वातावरणीय मूल्याकंन स्वीकृत भएर साउन २ गते उक्त उद्योग दर्ता भएको छ ।


पुरानो मितिका कागज बनाएर मापदण्डविपरीत उद्योगहरू स्थापना हुन थालेपछि नगर कार्यपालिकाको २०७४ मंसिर ८ गतेको कार्यपालिकाको बैठकले ढकालको संयोजकत्वमा ३ नं का वडाअध्यक्ष रामशरण हुमागार्इं, ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, ७ नं वडाका अध्यक्ष धर्मसिं लामा, लेखा अधिकृत ढुण्डीराज दाहाल, प्रहरी प्रतिनिधि सदस्य र वातावरण अधिकृत सन्तोष काफ्ले सदस्यसचिव रहेको समिति गठन गरेको थियो ।


वडाअध्यक्ष ढकालले आफूले दर्ताका लागि प्रमाणित गरिदिएको स्विकारे । ‘मेयरको टेबलबाट भएको निर्णय हामीलाई जानकारी हुने कुरा भएन, उक्त निर्णय औपचारिक रूपमा हामीलाई जानकारी नभएकोले प्रक्रिया अघि बढाइएको हो,’ अध्यक्ष ढकालले भने, ‘कार्यपालिकाको निर्णयपछि सचेत भएका छौं, मन्त्रालयले अब वडाअध्यक्षको अधिकार पनि कार्यपालिकालाई दिएको छ ।’


सोही घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इँट्टाभट्टा उद्योगको दर्ता नवीकरण गर्दा स्थानीय तहको कार्यपालिकाको बैठकको निर्णयबाट भएका सिफारिस मात्र गर्न पत्रचार गरेको छ ।


नगरपालिकाले यहाँका शिवशक्ति र विन्धवासिनी इँट्टा उद्योगलाई सञ्चालन गर्न अनुमति दिए पनि कर्मचारीलाई प्रभावमा पारेर नमोबुद्ध ३ मा पञ्चकन्या, जय शिवशक्ति र शंकर इँट्टा उद्योग दर्ता भएका छन् । जनप्रतिनिधि बहाली भइसकेपछि नमोबुद्ध ३ मा दर्ता र नामसारी भएका ती उद्योगका लागि वडा सचिव सरस्वती कार्कीले सर्जिमिन मुचुल्का तयार पारेकी हुन् ।


२०७४ जेठ २ गते सर्जिमिन तयार भएको पञ्चकन्या इँट्टा उद्योग असार २० गते दर्ता भएको छ भने जय शिवशक्ति २०७४ वैशाख १७ मा मुचुल्का तयार भएर असार १८ गते दर्ता भएको छ । २०७३ मंसिर २६ मा नमोबुद्ध ४ मा दर्ता भएको शंकर इँट्टा उद्योगले २०७३ चैत ०४ गते ठाउँसारी प्रक्रिया सुरु गरेर २०७४ साउन ९ गते दर्ता गरिसकेको छ ।


कारबाही गर्न निर्देशन सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मापदण्डविपरीतका भकुण्डेबेंसीका इँट्टाभट्टाहरूलाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । नमोबुद्ध नगरको ५ औं स्थापना दिवस कार्यक्रममा भकुण्डे आएका उनले मानवबस्तीको बीचमा इँट्टा उद्योग हुन नसक्ने भन्दै विकल्प खोज्न व्यवसायीहरूलाई अनुरोध गरे ।


‘कार्बनको जालो मानवको बस्तीमा नराख्नुस्, त्यो जनताको हितमा छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘सुनकोसी नदीको बीचमा क्रसर, बस्तीमा इँट्टाभट्टा हामी टुलुटुलु हेरिरहन सक्दैनौं, मापदण्डविपरीत रहेकाहरूलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुस्,’ काभ्रेको दुई तिहाइ जनसंख्यालाई खानेपानी खुवाउने स्रोत रोशीमा पनि क्षति पुर्‍याउन लागिएको तर्फ संकेत गर्दै उनले संरक्षण परियोजना सञ्चालन गर्ने बताए ।

प्रकाशित : मंसिर १९, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?