कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टहरामै विद्यालय र स्वास्थ्य चौकी

‘भूकम्प गएको ३४ महिना बितिसक्दासमेत स्वास्थ्य चौकी र विद्यालयको भवन आयोजनाले बनाएन’
अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको जम्बुस्थित १०२ मेगावाट मध्य भोटेकोसी जलविद्युत् आयोजनाले भोटेकोसी गाउँपालिका मार्मिङ चाकुस्थित स्वास्थ्य चौकी र विद्यालय अझै बनाएको छैन ।

टहरामै विद्यालय र स्वास्थ्य चौकी

०७४ बैशाख १९ मा नै टेन्डर आहवान गरेर बनिसक्नुपर्ने चाकु स्वास्थ्य चौकी र धनेश्वरी माध्यमिक विद्यालयको भवन अहिले थोत्रो टहरामा चलिरहेको छ ।


भूकम्प, बाढी र दैनिक सुक्खा पहिरोको जोखिम भोगिरहेका स्थानीय स्वास्थ्य चौकी र विद्यालय नबन्दा आक्रोशित छन् । ‘भूकम्प गएको ३४ महिना बितिसक्दासमेत स्वास्थ्य चौकी र विद्यालयको भवन आयोजनाले बनाएन,’ चाकु बजारका स्थानीय शिव श्रेष्ठले दु:खेसो पोखे । उनले विभिन्न संघसस्था र सरकारी निकाय पटकपटक निरीक्षणमा आए पनि आयोजनाले आफ्नो प्रतिबद्धता पूरा नगरेको सुनाए ।


आयोजनाले स्वास्थ्य चौकी र विद्यालय अगाडिको पहरामा ‘ब्लास्टिङ’ गर्दा बालबालिका त्रसित हुने गरेका छन् । ‘उछिट्टिएर आएका चट्टानको टुक्राले टीएलसीको छाना प्वाल पर्न थालिसकेको छ,’ उनले प्रश्न गरे, ‘आयोजनाको आशमा धेरै समय कुरियो, खै केही भएन आन्दोलन पनि कति गर्ने ?’


विद्यालय र स्वास्थ्य चौकीको अगाडि नै आयोजनाको शौचालय बनाइएको छ । जसको दुर्गन्धले वरिपरिको वातावरण प्रदूषित बनाइरहेको स्थानीय बताउँछन् । ‘अनुरोध गर्दागर्दै थाकिसक्यौं, स्वास्थ्य चौकी, विद्यालयको क्षेत्रमा यस्तो नगरिदिनुस् भनेर धेरै पटक गुनासो राख्यौं,’ धनेश्वरी माध्यमिक विद्यालयका शिक्षक सञ्जीव श्रेष्ठले भने ।


भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल विद्यालय र स्वास्थ्य चौकीबारे आयोजनाले काम नगरेकाले स्पष्टीकरण पत्र पठाइसकेको बताए । ‘अझै काम नहुनुको कारण र गर्न सक्ने या नसक्ने बारेमा खुलाउन बैठक र पत्राचार भइसकेको छ,’ उनले भने ।


आयोजनाले यसरी अल्झाएर राखेकाले अन्य संघसस्था त्यसै फर्किने गरेको उनले प्रस्टयाए । आयोजनाले पक्की भवन बनाइदिने आश देखाएकै कारणले शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला स्वास्थ्य कार्यालयदेखि गाउँपालिकासम्म मूकदर्शक बनेका छन् ।


आयोजनाले भने चाँडै करोड बराबरको टेन्डर आहवान गरेर यससम्बन्धी काम थालिने जनाएको छ । ‘धेरै समयसम्म काम अगाडि नबढेको कारणले स्थानीयको आक्रोश स्वाभाविक हो, आयोजनाले गरेको प्रतिबद्धता पूरा गरेर छाड्नेछ,’ आयोजनाका प्रमुख सुनीलकुमार लामाले भने, ‘अध्ययन सकेर बजेट छुट्टयाइएपछि त्यहाँ वातावरणमैत्री विद्यालय र स्वास्थ्य चौकीको भवन बनाइनेछ ।’


भूकम्पपछि धमाधम भवन बनिरहँदा आफ्नो विद्यालय र स्वास्थ्य चौकी आयोजनाको भर परेर टहरामा थन्किएको स्थानीयको गुनासो छ । केही समयअघि बाह्रबिसे नगरका प्रमुख निफुन्जो शेर्पाको अगुवाइमा जनप्रतिनिधिले वाचा पूरा नगरेको भन्दै मध्य भोटेकोसी जलविद्युत् आयोजनामा ताला लगाएका थिए ।


विद्यार्थी आन्दोलित सम्झौतानुसार विद्यालय भवन नबनाएको भन्दै भोटेकोसी गाउँपालिका मार्मिङ चाकुस्थित धनेश्वरी माध्यमिक विद्यालयका बालबालिका आन्दोलित भएका छन् । विद्यालय भवन नबनाइएको कारणले बिरामी परेको समस्या सुनाउँदै उनीहरूले आयोजनाको कार्यस्थल र टनेल क्षेत्रमा नाराबाजी गरे ।


बालबालिकासँगै स्थानीय सिद्धिबहादुर श्रेष्ठको नेतृत्वमा चाकुका बासिन्दाले दबाब दिएका हुन् । स्वास्थ्य चौकी र विद्यालय बनाउन दुई वर्षदेखि स्थानीयले दबाब दिँदै आए पनि आयोजनाले भवन बनाएको छैन ।

प्रकाशित : मंसिर १८, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?