२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

फर्कियो आँखाको ज्योति

‘बल्ल छ्याङ्ग भयो’ ८० बर्ष कटेका भण्डारी फुरुङ्ग छन ।
टीकाप्रसाद भट्ट

रामेछाप — चार वर्षअघि दुवै आँखा बन्द भएका गेलुका खड्गवहादुर भण्डारी यतिखेर दंग छन् । दुई दिनअघि मन्थलीमा भएको आँखाको शल्यक्रिया शिविरबाट उनका दुवै आँखामा दृष्टि फर्किएको हो । ‘अन्धै भएर बित्ने भए भन्ने लागेको थियो, भगवान् रहेछन् फेरिी देख्न पाएँ,’ भण्डारीले खुसी हुँदै भने । 

फर्कियो आँखाको ज्योति

आँखा धमिला भएका वर्षौंसम्म उनले सास्तीमै दिनचर्या बिताए । जब दुवै आँखा झ्याप्प बन्द भए सास्ती झनै थपियो ।


एकै थलोमा चार बर्ष बिताएका उनलाई रामेछाप आँखा केन्द्रका स्वास्थ्यकर्मीले फेला पारे र तिलगंगा प्रतिष्ठानले आयोजना गरेको शल्यक्रिया शिविरमा ल्याएर दुवै आँखामा लागेको मोतिबिन्दुको जालो फालिदिए । त्यसका लागि उनले पैसा पनि तिर्नु परेन । उनीजस्तै ४२ जना आँखा रोगीलाई रामेछाप सामुदायिक आँखा केन्द्रले २ हजारमा जुटाइदियो । त्यही शल्यक्रियाका लागि काठमाडौं जाँदा धेरै खर्च लाग्थ्यो ।


‘बल्ल छ्याङ्ग भयो,’ ८० वर्ष कटेका भण्डारी फुरुङ्ग छन् । उनका आँखा शरीरका अरू अंगभन्दा यौवन बनेका छन् । शरीर बूढो, आँखा तरुना । ‘आँखाको जस्तै अरू अंगको पनि उपचार भए सयौं वर्ष आयु थपिने रहेछ,’ भण्डारीले हौसिँदै भने, ‘आँखा उज्याला भए, शरीर बूढो भैदियो ।’


तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सामुदायिक आँखा केन्द्रले मन्थलीमा आयोजना गरेको दुईदिने शिविरमा १ सय ५३ जनाको मोतिबिन्दु र ७ जनाको अन्य रोगको शल्यक्रिया गरिएको थियो । शिविरमा आँखा परीक्षण गराउने थप २ सय जना थिए । शल्यक्रिया गर्नु नपर्ने बिरामीलाई चिकित्सकहरूले परामर्श र औषधि वितरण गरेका थिए । शिविरमा तामाकोसी सहकारी अस्पताल र तामाकोसी सेवा समितिले सहयोग गरेका थिए ।


बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि अधिकांश बिरामीले दृष्टि फर्किएको खुसी एकअर्कामा साटिरहेका थिए । आँखा बन्द भएको कारण परिवार र छिमेकीले गरेको व्यवहार सुनाउँदा केहीको आँखा रसाएको थियो । शल्यक्रिया गरेको भोलिपल्ट आँखाको पट्टी खोल्दा खुसीले गद्गद् नहुने कमै थिए । अर्काको साहरामा डोहोर्‍याएर शिविरमा आएकाहरू लौराको साहरामा बाटो पहिल्याउँदै घर फर्केका छन् ।


शिविरमा शल्यक्रिया गरिएका अधिकांश बिरामी जिल्ला सामुदायिक आँखा केन्द्र र तामाकोसी सहकारी अस्पतालले विभिन्न स्थानमा पुगेर गरेको स्वास्थ्य उपचार शिविरबाट छनोट गरिएको केन्द्रका प्रमुख वासुदेव अधिकारीले बताए । सहकारी अस्पताल र सामुदायिक आँखा केन्द्रले रामेछाप र आसपासका जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १८, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?