राहत खोज्दै जुरेपीडित

भेलाले सरकारले गरेको निर्णय सच्याउन र मापदण्ड बनाएर रकम वितरण गर्न माग

सिन्धुपाल्चोक — दाताहरूले आफूहरूलाई दिएको राहत रकम तत्काल वितरण गर्न भूकम्पको लाभग्राही सूचीमा नाम परेका जुरेपीडितहरूले सरकारसँग राहत माग गरेका छन् ।

राहत खोज्दै जुरेपीडित

पहिरोस्थल जुरेमा शनिबार भेला भएका पीडितले सरकारले आफ्नो नामको रकम कब्जा गरेको भन्दै आक्रोश पोखेका छन् ।


२०७१ सालमा गएको जुरेपहिरोपीडितको नाममा संकलित रकम भूकम्पपीडितको सूचीमा परेका परिवारले नपाउने निर्णय मन्त्रिपरिषद्ले गरेपछि उनीहरू आक्रोशित भएका हुन् । ‘सरकारले नै अन्याय गरेपछि कसलाई गुहार्ने ?’ स्थानीय अगुवा तथा जुरेपहिरोपीडित रमेश श्रेष्ठले भने, ‘निर्णय नसच्याए आन्दोलनमा उत्रनको विकल्प रहेन ।’


देशविदेशबाट पीडितलाई दिएको पैसा सरकारले कब्जा गरेको उनले बताए । पीडितको नाममा दाताले आफूखुसी दिएको २ करोड २४ लाख ६६ हजार रुपैयाँ सदरमुकाम स्थित जिल्ला विपत् व्यवस्थापन समितिको खातामा छ । ‘हामीलाई दिएको पैसा सरकारले किन राख्यो ?’ पीडित रामबहादुर तामाङ भन्छन्, ‘घरबारविहीन भएका छौं, सहयोग पाएनौं ।’


पहिरोमा परेर ३१ बलबालिकासहित १ सय ४५ जनाले ज्यान गुमाएका थिए । भेलाले सरकारले गरेको निर्णय सच्याउन र मापदण्ड बनाएर रकम वितरण गर्न माग गरेको छ । ‘नसच्याए चरणबद्ध आन्दोलनमा जान्छौं,’ उनीहरूले सामूहिक प्रतिवद्धता जनाए ।


सरकारले राहत रकम वितरण नगरी पीडितलाई भूकम्पपीडितको सूचीमा नाम राखेर प्रतिपरिवार ३–३ लाख उपलब्ध गराएको थियो । सोही रकम दिएकाले जनस्तरबाट संकलित राहतको रकम दिन नमिल्ने निर्णय सरकारले गरेपछि पीडित आन्दोलित भएका हुन् ।


मन्त्रिपरिषद्ले भूकम्पको सूचीमा परेर रकम बुझेका पीडितले नपाउने गरी राहतको पैसा बाँड्न खुला गरेको थियो । पहिरोपीडित सबैले भूकम्पको रकम लिएकाले राहत रकम पाउने परिवार नभएको स्थानीयको भनाइ छ ।

प्रकाशित : मंसिर १६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?