१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरस्वती विद्यालयको नयाँ भवन

– तमुधिं युके र पहार ट्रष्ट पोखराको सहयोगमा स्कुलको ५ कोठे नयाँ भवन निर्माण
– कहिले टहरामा र कहिले आकाशमुनी पढ्नु पर्ने विद्यार्थीको बाध्यता हट्यो
आश गुरुङ

(लमजुङ) — भूकम्पले भत्काएको धादिङको दुर्गम भेगमा पर्ने रुबी भ्याली गाउँपालिका ६ खादिङको सरस्वती आधारभूत विद्यालयको नयाँ भवन निर्माण भएको छ । पुनर्निर्माणमा ढिलाई हुँदा अढाइ वर्षसम्म १ सय ५० जना विद्यार्थी कहिले टहरा, कहिले खुल्ला आकासमुनी बसेर पढ्न बाध्य थिए । 

सरस्वती विद्यालयको नयाँ भवन

टहरामा हुने चिसोले विद्यार्थी नियमित थिएनन् । प्रधानाध्यापक गंगाराम तामाङका अनुसार पुनर्निर्माणमा कसैको ध्यान नपुग्दा विद्यालयको अस्तित्व संकटमा परेको थियो । ‘अब त विद्यार्थी, शिक्षक अनि गाउँले पनि खुसी छन्,’ उनले भने, ‘नयाँ भवन पाएका छौं ।’ तमुधिं युके र पहार ट्रष्ट पोखराको सहयोगमा स्कुलको पाँचकोठे नयाँ भवन निर्माण भएपछि पठनपाठन सजिलो भएको उनले सुनाए । ‘यो दुर्गममा यति राम्रो विद्यालय बन्छ भनेर कल्पना पनि गरिएको थिएन,’ उनले भने, ‘अब सुरक्षित भवनमा विद्यार्थीलाई पढाउन पायौं ।’


कक्षा ८ मा पढ्ने दिलाल गुरुङले नयाँ भवनमा पढ्न पाउँदा सुरक्षित महसुस भएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलमान गुरुङका अनुसार भूकम्पले गाउँका घरहरुसँगै विद्यालय भवन ध्वस्त बनाएको थियो । ‘हामी त टहरामा यताउता गरेर बस्यौं । विद्यार्थी कहाँ पढ्ने ? निकै चिन्ता थियो,’ उनले भने, ‘बेलायतवासी गुरुङ, तमुधिं र पहार ट्रष्टले उपहार दिएको छ । हामी खुसी छौं ।’


तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ


भूकम्पपछि गाउँका विद्यार्थीले पढ्न नपाएको जानकारी बेलायत बस्ने स्थानीय भीम गुरुङले तमुधिंका पदाधिकारीमाझ राखेका थिए । त्यसपछि विद्यालय निर्माणका लागि काम थालिएको तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए । निर्माणका लागि तमुधिं युकेले मात्रै च्यारिटी गरी ५० लाख रुपैयाँ संकलन गरेको थियो । स्थानीयले ९ लाख रुपैयाँ बराबरको श्रमदान गरे । पहार ट्रष्टले प्राविधिक सहयोग गरेको थियो ।


विद्यालय भवन ६० लाख ३५ हजार रुपैयाँको लागतमा निर्माण भएको पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । गाउँमा बुधबार आयोजित कार्यक्रममा तमुधिं युके र ट्रष्ट पदाधिकारीले भवन उद्घाटन र स्थानीयलाई हस्तान्तरण गरेका छन् । विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि डिस्कभरी वर्ल्ड ट्रेकिङका सञ्चालक बेलायतनिवासी स्थानीय मिलन गुरुङले १८ वटा ल्यापटप प्रदान सहयोग गरे । अझै आवश्यक चारकोठे भवनका लागि रोटरी क्लब अफ युकेसँग सहयोगको पहल भइरहेको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित : मंसिर १५, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?