जुरेपीडितले रकम नपाउने

अनिश तिवारी

सिन्धुपाल्चोक — पाँच वर्षअघि सर्वसाधारणले दिएको सवा दुई करोड सहयोग रकम जुरेपहिरोपीडितले नपाउने भएका छन् । मन्त्रिपरिषद्ले एउटै परिवारलाई भूकम्प र पहिरोपीडितको शीर्षकमा रकम दिन नमिल्ने निर्णय गरेपछि उक्त सहयोग नपाउने भएका हुन् । 

जुरेपीडित सबैजसोले भूकम्पपीडितको आवास किस्ता लिएका छन् । उक्त किस्ता लिनेलाई सरकारी खातामा रहेको थप रकम दिन नमिल्ने निर्णय गरेको छ ।

यसबाट पीडिकै नाममा संकलित रकम सरकारले अन्यत्रै खर्च गर्न सक्ने ढोका खुलेको छ । पीडितको राहतका लागि ५ वर्षअघि सर्वसाधारण र क्षेत्रबाट आफूखुसी दिएको २ करोड २४ लाख ६६ हजार रुपैयाँ सरकारी खातामा रहेको छ । मन्त्रिपरिषद्को निर्णय जिल्ला विपद् व्यवस्थापनलाई जानकारी गराइएको छ ।

विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सम्बन्धित गाउँपालिकाको राय माग्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यले मन्त्रिपरिषद्को बैठकको निर्णयको विरोध गरेका थिए ।

पत्रकार महासंघका जिल्ला शाखाका उपाध्यक्ष तथा समितिका सदस्य ज्ञानेन्द्र तिमिल्सिनाका अनुसार बैठकमा अधिकांश सहभागीले पीडितको नाममा संकलित रकम उनीहरूले नै पाउनुपर्ने सुझाव दिएका थिए ।

२०७१ साउनमा सुनकोसी थुनिने गरी गएको पहिरोमा ३१ जना स्कुले बालबालिकासहित १ सय ४५ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला सर्वसाधारणले पीडितको नाममा घटनास्थलमै गएर उक्त रकम दिएका थिए । दाताले दिएको रकम एकमुष्ट जम्मा गरी वितरण गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले गृह मन्त्रालयको अनुमतिमा बैंक खातामाराखेका थिए ।

उक्त रकम अहिलेसम्म वितरण नगरी भूकम्पको किस्तामा जोडिएको छ । आफ्नो नाममा सर्वसाधारणले दिएको रकम सरकारले हडपेको गुनासो पीडितको छ । सरकारले भने दोहोरो सुविधा लिन नपाउने भन्दै पीडितको नाममा संकलित रकम वितरण गर्न अस्वीकार गर्दै आएको छ ।

पीडितहरूसँग घर बनाउने जमिन छैन । जुरेपहिरोपीडित रामबहादुर तामाङले भने, ‘घरविहीन छौं, सरकारले हाम्रो नाममा दाताले दिएको रकम नदिने निर्णय गरेर फेरि अन्याय गरेको छ ।’ यसअघिका सरकारले पनि विभिन्नबहाना बनाएर रकम वितरणमा रोक लगाएका थिए ।

पछिल्लो पटक गत कात्तिक १५ गतेको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ,‘ सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन र गाउँपालिका विपद् व्यवस्थापन समितिसँग समन्वयगरी भूकम्पपीडितको लाभग्राहीको सूचीमा परेकाले राहत रकम नपाउने मापदण्ड तयार गरी रकम वितरण गर्न फुकुवा गर्ने ।’ मन्त्रिपरिषद्ले खातामा रहेको रकम वितरण गर्न मापदण्ड बनाउने भनिए पनि पहिरोपीडित सबैजसोले भूकम्पको नाममा किस्ता लिएकाले फुकुवाको अर्थ नभएको गुनासो स्थानीयको छ ।

पहिरोले परिवारसँगै सर्वस्व लुट्यो, पीडित मंगले तामाङले गुनासो पोखे, ‘फुकुवा गरेको निर्णय गरेर सरकारले फेरि निराश बनायो ।’ लामोसाँघु बजारको म्याग्नेसाइडको जमिनमा आश्रय लिएर बसिरहेका लखन तामाङको व्यथा मंगलेको भन्दा कम छैन ।

भन्छन्, हाम्रो दु:ख देखेर दाताहरूले दिएको सहयोग पनि सरकारले खायो । पीडितपरिवार बलेफी गाउँपालिकाको लामोसाँघु बजार, म्याग्नेसाइट, कोलोनी, कल्लेरी र दाबीफाँटमा बस्दै आएका छन् ।

कुन तहका पीडित हुन् र कसको कति क्षति भएको छ भन्ने रिपोर्ट पनि दुई वर्षअघि नै तयार भएको हो । त्यही मापदण्डअनुसार रकम वितरण गर्नुपर्ने माग पीडितको छ । तर मन्त्रिपरिषद्को निर्णयअनुसार पीडितको नाममा प्राप्त रकम उपलब्ध गराउन मिल्दैन ।

तथ्यांकअनुसार १ सय २२ परिवारले त आफ्ने सबै सम्पत्ति गुमाएका थिए । पहिलो प्रभवित क्षेत्र बलेफी गापा ८ का अध्यक्ष चरिबहादुर तामाङले पीडितको नाममा उठेको सबै रकम वितरण गर्नुपर्ने माग गरेका छन् । उक्त रकम प्राप्त भएका एकीकृत बस्ती बनाउने योजना रहेको दाबी उनले गरे ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

चौंरी पाल्ने घटे

बलराम घिमिरे

रसुवा — भूकम्प जानुभन्दा अगाडि लाङटाङका तेन्जेन लामासँग २५ वटा चौंरी थिए । २०७२ साल वैशाखको विनाशकारी भूकम्पले उनका १० वटा चौंरी मरे । अहिले उनीसँग १५ वटा मात्रै छन् । भूकम्पले सातो लिए पनि चौंरीपालन व्यवसाय छोड्न सकिएन लामा सुनाउँछन् ।

चौंरीपालन व्यवसायबाट हाम्रो जीवन निर्वाह हुँदै आएको छ । चौंरीको माया लाग्दो रहेछ । पुर्खादेखिको पेसा छोड्न गाह्रो हुँदो रहेछ ।

लाङटाङ पर्यटकीय क्षेत्र भएकाले त्यहाँका स्थानीयवासीको मुख्य पेसा भनेको होटल व्यवसाय हो । पशुपालन गर्नेको संख्या थोरै छ । भूकम्पका कारण आएको हिउँ पहिरोमा परी लाङटाङमा २० जना कृषकको मृत्यु भयो । ४ सयभन्दा बढी याक तथा नाक मरे ।

पानीका मुहान् पनि सुके । खर्क जाने बाटो पहिरोले लग्यो । केही खर्क पहिरोले पुरिए । भूकम्पपछि चौंरी पाल्ने कृषकको संख्या झन् घट्दै गएको छ । भूकम्प जानुभन्दा अगाडि ३० वटा चौंरी गोठ रहेकोमा अहिले १८ वटा मात्र रहेको तेन्जेन लामाले बताए ।

भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण नहुँदा कृषकले चौंरी पाल्न छाड्दै गएका छन् उनले भने । यो व्यवसायमा धेरै दु:ख गर्नुपर्छ । कृषकले १ लिटर दूध बिक्री गरेर ७० देखि ८० रुपैयाँ पाउँछन् ।

तर विदेशीलाई एक कप कालो चिया बेच्ने हो भने १ सय ५० रुयैयाँ कमाइ हुन्छ कृषक बताउँछन् । चौंरीपालन व्यसायबाट भन्दा होटलबाट राम्रो आम्दानी हुन्छ । चौंरी पालनमा भन्दा होटलमा धेरै दु:ख कम हुने उनी सुनाउँछन् ।

२०७२ सालअघि ५ हजार केजी चीज उत्पादन गर्दै आएको लाङटाङ चीज उत्पादन केन्द्रले यस वर्ष ७ सय केजी मात्र उत्पादन गर्‍यो । गत वर्ष २ हजार ८ सय केजी चीज उत्पादन गरेको थियो । जिल्लाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा चौंरी पाल्ने गरिन्छ । पुनर्निर्माणको तथ्यांकअनुसार लाङटाङमा १ सय २५ घरधुरी रहेका छन् ।

पुनर्निर्माणसँगै लाङटाङका ८० प्रतिशतभन्दा बढी स्थानीयहरूले होटल व्यवसाय गरिरहेका छन् । अहिले एक घर एक होटलजस्तै भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले लाङटाङ क्षेत्रको पर्यटनमा ठूलो क्षति पुगेको थियो । सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ ।

लाङटाङ पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसकेका छन् । लाङटाङ पुनर्निर्माण भएसँगै घुम्न आउने पर्यटकको संख्या बढेर अहिलेभूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको छ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्