कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रक्तस्रावले थलिएकी महिलाको उद्धार

८ महिनामा हेलिकप्टर मगाउन नसक्दा तिप्लिङ लवदुङ र ठूलो गाउँँमा दुई सुत्केरीको रक्तस्रावले ज्यान गयो
हरिहरसिंह राठौर

झार्लांग, धादिङ — खनियाँबास गाउँपालिका प्रमुख रणबहादुर तामाङको बुधबार मध्यरातमा मोबाइलमा घण्टी बज्यो । काम विशेषले काठमाडौं रहेका प्रमुख तामाङलाई ४० वर्षीय सानुमाया तामाङका आफन्तले ५ दिनदेखि रक्तस्राव भएर बेहोस भएकी महिलाको उद्धार गरिदिन आग्रह गरे । 

रक्तस्रावले थलिएकी महिलाको उद्धार

जिल्लाको सडक सन्जालले नछोएको उत्तरी भेकको झार्लाङ, छापचेतबाट मध्यरातमा आएको खबरले तामाङ रातभर निदाएनन् ।


सुत्केरी हुन नसकेर, अत्यधिक रक्तस्रावले, भीरबाट लडेर, समयमा उपचार नपाएर आफ्नो गाउँपालिका र छिमेकी रुबी भ्याली, गंगाजमुना गाउँपालिकाका कैयौं महिलाले ज्यान गुमाउनुपरेको सम्झे । यस्तै अप्ठेरो परेको बेला २ वर्षअघि जमानी बसेर हेलिकप्टर मगाउँदा भुक्तानी नदिए पछि ३ लाख नगद आफैंले तिर्नुपरेको पनि सम्झे ।


प्रमुख तामाङले कात्तिक ८ गतेको कान्तिपुरमा छिमेकी सेर्तुङबाट गर्भवती उद्धार गरेको समाचार पढेका थिए । उद्धार गर्ने संस्था घरआँगन–नेपाललाई तत्काल खबर गरी उद्धार गरिदिन आग्रह गरे । हेलिकप्टरमा लाग्ने खर्च २५ प्रतिशतसम्म स्थानीय निकायले पनि बेहोर्ने प्रतिबद्धतासमेत जनाए ।


विकट तामाङबस्ती झार्लाङकी सानुकान्छी रक्तस्रावले थलिएकी थिइन् । ‘रक्तस्रावका ३ दिनसम्म स्थानीय धामीझाँक्री र लामाले कुलदेवता बिग्रेको भनेर झारफुक गरे, कुखुरा सुँगुर काटे, नभएपछि गाउँपालिकालाई गुहारेँ ।’ बिरामी सानुकान्छीसँगै उपचार गराउन राजधानी पुगेका उनका श्रीमान् सानुकान्छा तामाङ बताउँछन् ।


गाउँपालिका प्रमुख तामाङले भने, ‘बिरामी हुनासाथ हेलिकप्टर मगाएर उपचार गर्न काठमाडौं पुर्‍याउने रकम नभए अकाल मृत्युको मुखमा पुग्छन्, सडक नभएर निकै कठिन छ ।’ हालसम्म सडक सन्जालले नछोएको उत्तरी भेकका रुबी भ्याली, खनियाँबास र गंगाजमुनामा (तत्कालीन ५ गाविस) का १० हजार घरधुरीको भइपरी आउँदा यातायातको एउटै साधन हेलिकप्टर मात्रै हो ।


८ महिनामा हेलिकप्टर मगाउन नसक्दा तिप्लिङ लवदुङ र ठूलो गाउँँमा दुई सुत्केरीको रक्तस्रावले ज्यान गयो । ‘काठमाडौंबाट सानो हेलिकप्टर मगाएको भाडा मात्रै एकै खेपमा १ लाख ५० हजारसम्म लिने गरेको छ, त्यो पनि भनेको समयमा पाउँदैन । काठमाडौंका आफन्तले कम्पनीमै नगद बुझाएपछि मात्रै रेस्क्यु हुन्छ,’ स्थानीय डेभिड घलेले भने ।


साउनदेखि मात्रै तिप्लिङमा ७ पटकमा १६ अशक्त बिरामी हेलिकप्टरबाट चार्टर गरिएको छ । हेलिकप्टर चार्टर गर्नेहरू अशक्त बिरामी, गर्भवती, सुत्केरी, दमका रोगी, आपराधिक घटनामा घाइते भएका र भीरबाट लडेका, पहिरोमा घाइते भएका हुन्छन् ।


स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरूमा प्राथमिक उपचार गर्ने पनि औषधि नभएपछि सामान्य रोग लाग्दा पनि स्थानीयबासीहरू जिल्ला सदरमुकाम वा काठमाडौं जानुपर्ने बाध्यता छ ।


सदरमुकामदेखि तिप्लिङसम्मको १ सय ७ किमि सडक निर्माण आरम्भ गरिएको ३० वर्ष नाघिसकेको छ । विवाद र आपराधिक घटनाका कारण निर्माणाधीन सडक ४० किमि पनि निर्माण हुन सकेको छैन ।

प्रकाशित : मंसिर १४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?