कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बन्दै भूकम्पप्रतिरोधी प्रहरी भवन

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पको चार वर्षपछि ध्वस्त भएका जिल्लाभरका प्रहरी चौकी भवन धमाधम बन्न थालेका छन् । विभिन्न संघसस्था र सरकारी निकायको सहयोगमा अस्थायी प्रहरी चौकीको भूकम्पप्रतिरोधी भवन बन्न थालेका हुन् । 

बन्दै भूकम्पप्रतिरोधी प्रहरी भवन

भूकम्पपछि लामो समय अस्थायी टहरोमा चलिरहेको अस्थायी प्रहरी पोस्ट स्थानीयकै सहयोगमा सुविधासम्पन्न भवनमा बदलिएको छ ।


राम्चेकै टोल सुधार समितिको समन्वयमा स्थानीयको सहयोगमा भवन बनेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए । ‘इप्रका बाह्रबिसेको भवन लगभग बनिसकेको छ, अब चाँडै अन्य कामलाई अगाडि बढाइँदै छ,’ उनले भने ।


चौतारा साँगाचोकगढी नगरपालिकाको सानो सिरुवारीमा अस्थायी प्रहरी इकाईको नयाँ भवन ठडिसकेको छ । सुनकोसी गाउँपालिकाको ठोकर्पामा नयाँ भवन बन्ने काम सकिसकेको छ । लिसंखुपाखर गाउँपालिकाको लिसंखुमा डीएफआईडी संस्थाबाट प्रहरी चौकी लिसंखुको निर्माण कार्य भइरहेको छ ।


जिल्लामा भएका पाँच इलाका प्रहरी कार्यालयको नयाँ भवन बनाउने काम अन्तिम चरणमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जिप्रकाको तथ्यांक अनुसार भूकम्पले प्रहरी इकाईको ४० वटा भवन कामै नलाग्ने गरी भत्काएको थियो । भूकम्पको दुई वर्ष पाल र टहरामा सञ्चालन भइरहेको प्रहरी चौकी, इलाका प्रहरी भवन अहिले धमाधम बन्दै छन् ।


‘७ वटा प्रहरी इकाईको सुविधासम्पन्न भवन बनिसकेका छन्, बाँकी पनि धमाधम बन्ने क्रममा छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने । बजेट भए पनि जग्गा अभावको कारणले ७ वटा प्रहरी इकाईको भवन पुनर्निर्माण अगाडि बढाउन नसकेको उनले बताए ।


‘जग्गाको कारणले भवन निर्माणमा समस्या आएको छ, त्यसको छलफलमा छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालयबाहेक पाँच इलाका प्रहरी कार्यालय, पाँच अस्थायी प्रहरी पोस्ट, एक प्रहरी चौकी गरी ३१ प्रहरी युनिट छन् ।


जसमा ५ सय ५० प्रहरीहरू अस्थायी टहरा र प्रधान कार्यालयले उपलब्ध गराएको पालबाट चलेका थिए । भूकम्पलगत्तै प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकी निर्माणका लागि २२ करोड बजेट दिएको थियो ।


३१ प्रहरी चौकीको भवनमध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय पुनर्निर्माण गर्न रकम पठाएको प्रहरी नायब उपरीक्षक विमलराज कँडेल बताए । ‘अन्य भवनका लागि बजेट पठाइए पनि जग्गा नभएकाले बजेट फिर्ता गरिएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर ११, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?