२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निजी जग्गामा बनाइयो रातारात सडक

लीला श्रेष्ठ

काभ्रे — पनौती नगरपालिका–४ चामखर्कस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले ‘नमुना जातीय बस्ती निर्माण’ प्रक्रिया थालेका छन् ।

उक्त जातीय बस्ती निर्माणका लागि पुरीले पनौती नगरपालिकाबाट २०७४ फागुन ८ मा नक्सापास गरिसकेका छन् ।


करिब ६० रोपनी क्षेत्रफलमा बन्न लागेको जातीय बस्तीको जग्गामा स्थानीय जग्गा व्यवसायीले रातारात अवैधानिक रूपमा सडक खन्ने, पर्खाल भत्काउने कार्य गरेका छन् । ‘अनाधिकृत रूपमा व्यक्तिले खनेको सडकको विषयमा २०७४ चैत्र २९ मा नै जिल्ला प्रशासनमा निवेदन दिइसकें,’ पुरीले भने, ‘पुन: एक्साभेटर लगाएर मंसिर १ र ५ मा पर्खाल भत्काए ।’ पर्खाल भत्काउनेलाई कारबाहीको विषयमा स्थानीय प्रशासन मौन छ ।


शेर्पा, गुरुङ, तामाङ, खसआर्य, नेवार, थारू, मैथिली र किरात शैलीका जातीय घर बनाउन प्रारम्भिक खाका तयार गरी नक्सापास गरिसकेको अवस्थामा व्यवधान आएको उनी बताउँछन् ।


नमुना जातीय बस्तीको जग्गामा अवैधानिक रूपमा राति/राति जग्गा दलालले करिब ३०० मिटर सडक खनेको उनको गुनासो छ । ‘मैले सिंगो पनौती सहरलाई संस्कृति र सम्पदाको नमुना सहरका रूपमा स्थापित गर्न चाहेको छु,’ उनले भने, ‘यो अवधिमा पनौतीमा भोकेसनल एकेडेमी सञ्चालनमा आइसकेको छ ।’


करिब १०० रोपनी क्षेत्रमा भोकेसनल युनिभर्सिटी निर्माणाधीन छ । २० रोपनी क्षेत्रफलमा निर्माण भएको बालआश्रम सञ्चालन प्रक्रियामा छ । नेपालबाट चोरिएर बाहिरी विश्वमा पुगेका अमूल्य मूर्तिको प्रतिलिपि संग्रहालय (म्युजियम अफ स्टोलन आट्र्स) समेत पुरीले पनौतीमा निर्माण गरिरहेका छन् । पनौती नगरमाझ सम्पदा संरक्षणकर्मी पुरीले बनाएका मतान छें, कुन्छें, द्वारे घरलगायतले पनौतीलाई सम्पदाजन्य संरचनाका रूपमा चिनाउँदै गएको छ  ।


मल्लकालीन सम्पदा र संरचना झल्कने नमुना घर बनाएर युनेस्को पुरस्कार पाएका पुरीले आफ्नो सम्पूर्ण सम्पत्तिको आधा हिस्सा आरपी फाउन्डेसनका नाममा दिएर संस्थागत स्वरूपमा संस्कृति तथा सम्पदाको प्रवद्र्धन तथा संरक्षण गर्दै आएका छन् ।


मौलिकता झल्कने गरी उनले रामेछाप, काभ्रे, गोरखा, नवलपरासीलगायतका जिल्लामा एक दर्जनभन्दा बढी सरकारी विद्यालय निर्माण गरिदिएका छन् । ‘आफ्नो मौलितकतालाई पहिचान र गौरवको विषय ठान्दै बिनास्वार्थ काम गरिरहेका म जस्ता नागरिकका लागि कानुनी राज्य र पद्धतिको औचित्य पुष्टि हुन सकेको छैन,’ उनले भने । आफूमाथि आइपरेको अन्यायका बारे प्रहरी/प्रशासनमा सबैतिर जानकारी गराए पनि कहीं कतैबाट सुनुवाइ नभएकोमा उनी दु:ख व्यक्त गर्छन् ।


पनौती नगरप्रमुख भीम न्यौपानेले जग्गा व्यवसायीले व्यक्तिको जग्गाबाट सडक खन्नु अवैधानिक भएको बताए । ‘सम्पदा संरक्षणकर्मी पुरीले प्रक्रिया पुर्‍याएर जातीय बस्ती निर्माणका लागि नक्सापास गरी वाल लगाउने कार्य सुरु गर्नुभएको छ,’ उनले भने, ‘व्यक्तिले अर्काको जग्गामा रातारात एक्साभेटर लगाएर सडक बनाउन पाइँदैन ।’


नमुना बस्तीको जग्गाबाट खनेको सडक पुर्नेलगायत कानुनी प्रक्रियाका लागि वडाध्यक्ष, सचिव, इन्जिनियरलगायतको टोलीले नापजाँच कार्य गरेको न्यौपानेले बताए ।


अनाधिकृत रूपमा व्यक्तिको जग्गामा सडक खन्ने, पर्खाल लगाउने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया थालेको समेत उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?