लाङटाङ फेरि झलमल्ल

बलराम घिमिरे

लाङटाङ — वरिपरि हिमाल । त्यही हेर्न पर्यटकको घुइँचो । होटल भरिभराउ । भूकम्पले क्षतविक्षत लाङटाङ झलमल्ल छ, तंग्रिएको छ । होटल व्यवसायी फर्केर जमेका छन् । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।

करिब पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीमा पुगेर तस्बिर खिचाउँदै पर्यटक । तस्बिर : बलराम/कान्तिपुर

यतिबेला दैनिक ६० देखि ७० पर्यटक आइरहेका छन् । प्रहरीचौकी लाङटाङको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा दुई हजार पाँच सय पर्यटकआएका छन् ।

चर्चित पदमार्ग यो क्षेत्रमा सुरक्षित होटल र घर बनिसकेका छन् । ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ,’ होटल व्यवसायी ढिन्डुप तामाङले भने, ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ ।’

२०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको थियो । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा हो लाङटाङ । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए,‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’

स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । स्याफ्रुबाट करिब दुई दिन पैदलमा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्न पुग्छन् पर्यटक । दोस्रो दिन बिहानै खाजा खाएर हिँडदा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बा डाँडा हुँदै लाङटाङ पुगिन्छ ।

केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् । पदमार्गमाआउने पर्यटकले रसुवाकै पुरानो क्याङजिनगुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमालको अवलोकनगर्न सक्नेछन् ।

लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीबाट चारैतिर देखिने हिमालको मनमोहक दृश्य देखिन्छ । लाङटाङ जाने पर्यटक चेर्को–री, क्यान्जिन–री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । चेर्को–री पुगेकी स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, ‘यहाँबाट हिमालको दृश्य हेर्न पाउँदा मनै आनन्द भयो, नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन ।’

लाङटाङ पदमार्गमा जाने अधिकांश पर्यटकले चेर्को–री चढ्ने गरेको क्यान्जिनका होटल व्यवसायी कर्मा तामाङले बताए । चेर्को–री पुगेका पर्यटकले लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङमा, लाङटाङ–री, पेम्दङकर्पु, पाङरी गुल्दुम हिमालको अवलोकन गर्न सक्छन् । त्यस्तै गुरकार्पो, दोर्जे लाक्पा, उर्केमा, लाङसिसारी, फायु देप्के, गाङक्षेम्बा, गन्जला चुली र नयाँगाङ हिमाल हेर्न पाउँछन् ।

प्रकाशित : मंसिर ८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

थपिँदै छ हेटौंडा अस्पतालमा सेवा

प्रदेश सरकारले प्रतिष्ठानका रूपमा विकसित गर्न चाहेको अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपी मेसिनको प्रयोग
प्रताप विष्ट

हेटौंडा — स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्वास्थ्यकर्मीको मिहिनेतपश्चात् हेटौंडा अस्पतालले गुणस्तर सेवा प्रदान गर्न थालेको छ । अस्पतालले प्रदान गरेको सेवाले क्रमश: सेवाग्राहीको विश्वास आर्जन गर्दै गएको छ ।

जटिल शल्यक्रियाहरू दैनिक रूपमा यहाँ हुन थालेका छन् । युवा डाक्टर प्रवीण श्रेष्ठले नेतृत्व लिएसँगै हेटाैंडा अस्पतालले गुणस्तर सेवा दिन थालेको हो । उनी यहाँ आएको करिब २ महिना मात्र भएको छ ।

छोटै अवधिमा उनले हेटौंडा अस्पताललाई सुधार्दै छन् । ‘हेटौंडा अस्पतालले प्रदान गर्ने सेवाहरू अहिले गुणस्तरयुक्त हुँदै गएका छन,’ स्थानीयबासी उत्तम शर्माले भने, ‘अस्पतालले सेवाग्राहीको विश्वास पनि आर्जन गर्दै गएको छ ।’ डा.श्रेष्ठको टिमले छोटै अवधिमा दर्जनाैं शल्यक्रिया गरिसकेको छ । तीमध्ये पछिल्ला २ सातामा मूत्रथैलीको प्रोस्टेड ग्रन्थी,फुटेको एपेन्डिसाइटिस र मृगौलाभित्र भएको पत्थरीको सफल शल्यक्रिया गरिएको थियो ।

‘ती शल्यक्रिया जटिल प्रकृतिका हुन्,’ डा. श्रेष्ठले भने, ‘हेटौंडा अस्पतालमा हामी सफलतापूर्वक शल्यक्रिया गर्न सक्षम छौं ।’ अस्पतालले विगतमा सेवाग्राहीको विश्वास गुमाएकाले बिरामी र उनका आफन्तलाई यो अस्पतालमा पनि उपचार हुन्छ भन्ने विश्वास दिलाउन चिकित्सकलाई हम्मेहम्मे परेको छ ।

हेटाैंडा अस्पतालमा दैनिक १ सय ५० देखि २ सय जना बिरामी आकस्मिक कक्षमा आउने गरेका छन् भने बहिरंग सेवामा ३ सयभन्दा बढी आउने गरेका छन् । अस्पतालका शय्या भरिभराउ छन् । यस अस्पतालमा १ सय २५ शय्या रहेका छन् ।

हेटौंडा अस्पताल विगतमा रिफर अस्पतालको रूपमा परिचित थियो । सामान्य रोगको उपचार गर्न पनि बिरामीलाई भरतपुर, वीरगन्ज र काठमाडांै रिफर गरिन्थ्यो । अहिले अस्पतालको सेवामा व्यापक सुधार आएको रेडक्रस मकवानपुरमा मन्त्री खेमप्रसाद सापकोटाले बताए ।

प्रदेश सरकार हेटौंडा उपमहानगरपालिकाले अस्पताललाई बढी ध्यान दिएकाले पनि अस्पतालको सेवामा सुधार आएको हो । प्रदेश सरकारले प्रतिष्ठानका रूपमा विकसित गर्न लागेको उक्त अस्पतालको सेवामा सुधार ल्याउन चालु आवमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २० हजार २ सय ६ सेवाग्राहीले बहिरंग (ओपीडी) सेवा लिएका छन् । गत आर्थिक वर्षको पहिलो ३ महिनामा १३ हजार ७ सय ७५ जनाले ओपीडी सेवा लिएकोमा यस वर्ष ६ हजारभन्दा बढीले बिरामी संख्या बढेको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा इमर्जेन्सी सेवामा ४ हजार ५ सय ५४ जनाले सेवा लिएका छन् । यस्तै, एक्सरे सेवा ३ हजार ६ सय ६३ जनाले, भिडियो एक्सरे १ हजार २ सय २४ जनाले लिएका छन् । हेटौंडा अस्पतालमा भर्ना भई २ हजार ५ सय ५५ जनाले उपचार लिएका छन् भने ईसीजी सेवा ६ सय ४४ जनाले लिँदा जटिल शल्यक्रिया १ सय ९३ जनाको र सामान्य शल्यक्रिया १ सय १ जनाको गरिएको छ ।

हाडजोर्नीसम्बन्धी समस्या भएर ६४ जनाले प्लास्टर सेवा लिएको हेटौंडा अस्पतालका अधिकारीले जनाएका छन् । यस्तै, पोस्टमार्टम ५५ जनाको भएको छ भने सामान्य प्रसूति सेवा ५ सय ४२ जनाको र जटिल शल्यक्रियाबाट प्रसूति ३६ जनाले गराएका छन् ।

७७ हजार ६ सय ७६ पटक ल्याब परीक्षण सेवा लिएको कार्यालयले जनाएको छ । असोज महिनामा मात्र ६ हजार ७ सय ४६ जनाले ओपीडी सेवा लिएकोमा १ हजार ५ सय जनाले स्वास्थ्य बिमाको सुविधा लिएको देखिन्छ ।

यस्तै, २८ जनाले सुरक्षित गर्भपतन सेवामा लिएका छन् भने ५७ जनाको जटिल रूपमा गर्भपतन गराएको जनाएको छ । हाल अस्पतालमा प्रसूति तथा ओपीडीको राम्रो सुविधा भएकाले अस्पतालमा सेवाग्राहीको भीड बढदै गएको छ ।

अहिलेअस्पतालमा थाइराइडका, एपेन्डिक्स, ल्याप्रोक्सकोपी सेवा उपलब्ध छ । बिरामीले सरकारले नि:शुल्क गरेका औषधि पाउनुका साथै स्वास्थ्य बिमाका सेवाग्राही पनि बढेका छन् 

प्रकाशित : मंसिर ८, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्