कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

थपिँदै छ हेटौंडा अस्पतालमा सेवा

प्रदेश सरकारले प्रतिष्ठानका रूपमा विकसित गर्न चाहेको अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपी मेसिनको प्रयोग
प्रताप विष्ट

हेटौंडा — स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्वास्थ्यकर्मीको मिहिनेतपश्चात् हेटौंडा अस्पतालले गुणस्तर सेवा प्रदान गर्न थालेको छ । अस्पतालले प्रदान गरेको सेवाले क्रमश: सेवाग्राहीको विश्वास आर्जन गर्दै गएको छ ।

जटिल शल्यक्रियाहरू दैनिक रूपमा यहाँ हुन थालेका छन् । युवा डाक्टर प्रवीण श्रेष्ठले नेतृत्व लिएसँगै हेटाैंडा अस्पतालले गुणस्तर सेवा दिन थालेको हो । उनी यहाँ आएको करिब २ महिना मात्र भएको छ ।


छोटै अवधिमा उनले हेटौंडा अस्पताललाई सुधार्दै छन् । ‘हेटौंडा अस्पतालले प्रदान गर्ने सेवाहरू अहिले गुणस्तरयुक्त हुँदै गएका छन,’ स्थानीयबासी उत्तम शर्माले भने, ‘अस्पतालले सेवाग्राहीको विश्वास पनि आर्जन गर्दै गएको छ ।’ डा.श्रेष्ठको टिमले छोटै अवधिमा दर्जनाैं शल्यक्रिया गरिसकेको छ । तीमध्ये पछिल्ला २ सातामा मूत्रथैलीको प्रोस्टेड ग्रन्थी, फुटेको एपेन्डिसाइटिस र मृगौलाभित्र भएको पत्थरीको सफल शल्यक्रिया गरिएको थियो ।


‘ती शल्यक्रिया जटिल प्रकृतिका हुन्,’ डा. श्रेष्ठले भने, ‘हेटौंडा अस्पतालमा हामी सफलतापूर्वक शल्यक्रिया गर्न सक्षम छौं ।’ अस्पतालले विगतमा सेवाग्राहीको विश्वास गुमाएकाले बिरामी र उनका आफन्तलाई यो अस्पतालमा पनि उपचार हुन्छ भन्ने विश्वास दिलाउन चिकित्सकलाई हम्मेहम्मे परेको छ ।


हेटाैंडा अस्पतालमा दैनिक १ सय ५० देखि २ सय जना बिरामी आकस्मिक कक्षमा आउने गरेका छन् भने बहिरंग सेवामा ३ सयभन्दा बढी आउने गरेका छन् । अस्पतालका शय्या भरिभराउ छन् । यस अस्पतालमा १ सय २५ शय्या रहेका छन् ।


हेटौंडा अस्पताल विगतमा रिफर अस्पतालको रूपमा परिचित थियो । सामान्य रोगको उपचार गर्न पनि बिरामीलाई भरतपुर, वीरगन्ज र काठमाडांै रिफर गरिन्थ्यो । अहिले अस्पतालको सेवामा व्यापक सुधार आएको रेडक्रस मकवानपुरमा मन्त्री खेमप्रसाद सापकोटाले बताए ।


प्रदेश सरकार हेटौंडा उपमहानगरपालिकाले अस्पताललाई बढी ध्यान दिएकाले पनि अस्पतालको सेवामा सुधार आएको हो । प्रदेश सरकारले प्रतिष्ठानका रूपमा विकसित गर्न लागेको उक्त अस्पतालको सेवामा सुधार ल्याउन चालु आवमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।


यसैगरी, हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २० हजार २ सय ६ सेवाग्राहीले बहिरंग (ओपीडी) सेवा लिएका छन् । गत आर्थिक वर्षको पहिलो ३ महिनामा १३ हजार ७ सय ७५ जनाले ओपीडी सेवा लिएकोमा यस वर्ष ६ हजारभन्दा बढीले बिरामी संख्या बढेको छ ।


चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा इमर्जेन्सी सेवामा ४ हजार ५ सय ५४ जनाले सेवा लिएका छन् । यस्तै, एक्सरे सेवा ३ हजार ६ सय ६३ जनाले, भिडियो एक्सरे १ हजार २ सय २४ जनाले लिएका छन् । हेटौंडा अस्पतालमा भर्ना भई २ हजार ५ सय ५५ जनाले उपचार लिएका छन् भने ईसीजी सेवा ६ सय ४४ जनाले लिँदा जटिल शल्यक्रिया १ सय ९३ जनाको र सामान्य शल्यक्रिया १ सय १ जनाको गरिएको छ ।


हाडजोर्नीसम्बन्धी समस्या भएर ६४ जनाले प्लास्टर सेवा लिएको हेटौंडा अस्पतालका अधिकारीले जनाएका छन् । यस्तै, पोस्टमार्टम ५५ जनाको भएको छ भने सामान्य प्रसूति सेवा ५ सय ४२ जनाको र जटिल शल्यक्रियाबाट प्रसूति ३६ जनाले गराएका छन् ।


७७ हजार ६ सय ७६ पटक ल्याब परीक्षण सेवा लिएको कार्यालयले जनाएको छ । असोज महिनामा मात्र ६ हजार ७ सय ४६ जनाले ओपीडी सेवा लिएकोमा १ हजार ५ सय जनाले स्वास्थ्य बिमाको सुविधा लिएको देखिन्छ ।


यस्तै, २८ जनाले सुरक्षित गर्भपतन सेवामा लिएका छन् भने ५७ जनाको जटिल रूपमा गर्भपतन गराएको जनाएको छ । हाल अस्पतालमा प्रसूति तथा ओपीडीको राम्रो सुविधा भएकाले अस्पतालमा सेवाग्राहीको भीड बढदै गएको छ ।


अहिले अस्पतालमा थाइराइडका, एपेन्डिक्स, ल्याप्रोक्सकोपी सेवा उपलब्ध छ । बिरामीले सरकारले नि:शुल्क गरेका औषधि पाउनुका साथै स्वास्थ्य बिमाका सेवाग्राही पनि बढेका छन् 

प्रकाशित : मंसिर ८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?