कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बने ३३ प्रतिशत भूकम्पपीडितका घर

करिब ८ हजारसँग अझै अनुदान सम्झौता भएन
प्रताप विष्ट

हेटाैंडा — भूकम्प गएको ४३ महिना बितिसक्दा मकवानपुरका भूकम्पपीडितमध्ये करिब ३३ प्रतिशतले मात्र निजी आवासीय भवन निर्माण गरेका छन् । 

हालसम्म मकवानपुरमा ११ हजार ४१ अर्थात् ३३ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वय इकाई (भवन) मकवानपुरका इन्जिनियर रविन पाठकले बताए । उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३३ हजार ९ सय ७४ मध्ये २६ हजार ९ सय ३९ जना (७६ दशमलब ११ प्रतिशत) ले अनुदान सम्झौता गरेका छन् ।


७ हजार ९ सय ८ लाभग्राहीहरूसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता भएकामध्ये २५ हजार १ सय ७९ अर्थात् ७४ दशमलब ११ प्रतिशत लाभग्राहीले प्रथम किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वय इकाई (भवन) का इन्जिनियर पाठकले बताए । ‘१७ हजार ९ सय ९२ अर्थात् ५३ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर घर युद्धस्तरमा घर बनाइरहेका छन्,’ उनले भने । तेस्रो किस्ता ११ हजार ४१ लाभग्राहीले बुझेर लगेका छन् ।


जिल्लामा ७ हजार ९ सय ८ लाभग्राहीसँग लालपुर्जाविहीन, सुकुम्वासीलगायतका कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माणका लागि सम्झौता हुन नसकेको हो । मकवानपुरमा पुनर्निर्माण कार्य तीव्रगतिमा अघि बढेको जिल्ला समन्वय समितिमा प्रमुख रघुनाथ खुलालले बताए ।


गुनासो दर्ता २६ हजार ९ सय ८७ वटा परेका थिए । २३ हजार ९ सय ६० वटाको गुनासा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएको थियो । उसले सबै फछर्यौट गरेर पठाएको छ । बाँकी सबै जिल्ला र स्थानीय तहबाट फछर्यौट गरिसकेको छ ।


यस अवधिमा ९ लाभग्राहीहरूले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् । पहिलो किस्ता लगेर दोस्रो किस्ता नलैजानेको संख्या ७ हजार १ सय ८७ रहेको छ । ‘दोस्रो किस्ता नलैजानेहरूमा पहिलो किस्ता लगेर रकम अन्यत्र प्रयोग गरेका, घर बनाउन जग नै नखनेको र जग खन्न रकम अपुग भएकाले अन्यत्र लगेर प्रयोग गरेको एवं मापदण्डविपरीत घर बनाएकाले दोस्रो किस्ताका निम्ति माग नगरेको हुन सक्छ,’ इन्जिनियर पाठकले भने ।


मकवानपुरमा प्रवलीकरणका लाभग्राही ११ हजार ६ सय ३५ जना छन् । तीमध्ये ३ हजार २ सय ४८ लाभग्राहीसँग मात्र अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएकामध्ये ३ हजार १७ लाभग्राहीले मात्र प्रथम किस्ताको रकम लगेका छन् । दोस्रो किस्ता एक जना लाभग्राहीले लगेका छैनन् ।


प्रवलीकरणका लाभग्राहीहरूले २ किस्तामा एक लाख रुपैयाँ मात्र पाउँछन् । घरको प्रवलीकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीहरूले प्रवलीकरणको किस्ता बुझेर लैजान रुचि देखाएका छैनन् ।

भूकम्पपछि जोखिममा परेका र लालपुर्जाविहीन भूकम्पपीडितहरूलाई सुरक्षित स्थानमा जमिन खरिद गर्न मकवानपुरका १० जनाले १९ लाख ५० हजार रुपैयाँ पुनर्निर्माण प्राधिकरणबाट बुझेका छन् । उनीहरूले बकैया र मनहरी गाउँपालिकाको जमिन खरिद गरिसकेका छन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिचान भएका सबै लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता कात्तिक मसान्तभित्र बुझिसक्नुपर्ने समयावधि तोकेको छ । पहिलो किस्ता लिने समय चार दिन मात्र बाँकी छ । दोस्रो किस्ता २०७५ माघ मसान्तभित्र बुझिसक्नुपर्नेछ । तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले २०७६ जेठ मसान्तभित्र रकम लिइसक्नुपर्ने अन्तिम समय तोकेको छ ।


यस्तै, थाहा नपामा ६ हजार ४ सय ७७ लाभग्राहीमध्ये अनुदान सम्झौता ५ हजार ८ सय ४२ लाभग्राहीसँग भएको थियो । तीमध्ये २ हजार ७ वटा घर निर्माण भइसकेको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।


थाहा नपामा पर्ने टिस्टुङ र आग्रामा टियर फन्डको सहयोगमा राडो नेपालले ६ सय वटा घर निर्माण गरिसकेको छ । अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस मकवानपुरले कैलाश गाउँपालिकाको गोगनेमा ६ सय वटा घर निर्माण गरिरहेको छ । ५ सयभन्दा बढी घर निर्माण गरेर लाभग्राही बसिसकेका छन ।

प्रकाशित : कार्तिक २७, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?