घर आँगनमै उपचार

कान्तिपुर संवाददाता

मकवानपुर — घर आँगनमै शल्यक्रिया गरेर कन्चटमा रहेको गाँठो फाल्न पाउँदा विनोद चेपाङ दंग परेका छन् । दाँहिने आँखाको नजिक केराउ गेडाभन्दा ठुलो गाँठो (सिष्ट) आएको थियो  ।

घर आँगनमै उपचार

चितवनको अस्पतालमा गएर देखाउँदा चिकित्सकले शल्यक्रिया गरेर फाल्नुपर्छ । ३० हजार रुपैयाँ लाग्छ भनेका थिए । रकमको अभावले उनी अनुहारमा गाँठो पालेर बसिरहेका थिए ।

मिस नेपाल २०१८ की शृङखला खतिवडाद्वारा कैलास गाउँपालिका–७ ताम्लाङमा विशेषज्ञ सेवासहित शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । जिल्लाको अति विकट उक्त बस्तीमा सञ्चालित शिविरमा ४० वर्षीय विनोद चेपाङको चुरेहिल अस्पतालका चिकित्सक डा.किरण घिमिरेले शिविरमा नै शल्यक्रिया गरेर गाँठो निकालेर फालिदिएका थिए । डा.घिमिरेले विनोदको मात्र होइन, ५१ वर्षीय साहिला चेपाङको पनि ढाँडमा भएको गाँठोको पनि शल्यक्रिया गरेर निकालिदिए । गाँठो फालेर औषधिसमेत पाउँदा दुवै चेपाङ दंंग परेका थिए ।

चेपाङहरूको मात्र बसोबास रहेको उक्त विकट बस्तीमा सञ्चालित शिविरमा २ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको मिस नेपाल खतिवडाले बताइन् । हेटौंडा अस्पताल, चुरेहिल अस्पताल, सहकारी अस्पतालका १० जना विशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा उपलब्ध गराएका थिए । दुर्गम गाउँमा यसरी विशेषज्ञ सेवासहित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।

न्यानो कपडा वितरण
कैलास गाउँपालिका–७ डोकाटारस्थित सरस्वती प्राविका विद्यार्थीलाई मिस नेपाल शृंखला खतिवडाले न्यानो कपडा वितरण गरेकी थिइन । कपडा तथा तयारी पोसाक संघले उक्त दुर्गम गाउँका छात्रछात्रालाई न्यानो कपडाको व्यवस्था गरेको थियो । उक्त विद्यालयमा ८७ जना विद्यार्थी अध्ययनरत छन । अधिकांश छात्रछात्रा चेपाङ समुदायका हुन् ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?