फार्मेसीले दियो गलत औषधि

गलत औषधि दिएको पत्ता लाग्दा एक बोतल औषधि बिरामीको शरीरमा गइसकेको थियो ।
रमेशकुमार पौडेल

चितवन — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ श्रीबासकी हरिमाया दर्लामी सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल पुगिन् । चिकित्सकले उनलाई आवश्यक पर्ने औषधि किन्न पठाए  ।

फार्मेसीले दियो गलत औषधि

उनका आफन्तले भरतपुर अस्पतालकै फार्मेसीबाट औषधि किने । तर फार्मेसीले चिकित्सकले लेखेको भन्दा अर्कै गलत औषधि दिएको पत्ता लाग्दा एक बोतल औषधि बिरामीको शरीरमा गइसकेको थियो ।

दर्लामीमा विष सेवनबाट उत्पन्न हुनेजस्तो स्वास्थ्य समस्या देखा परेपछि उनलाई उपचारका लागि ल्याइएको थियो । यस्तो हुँदा वान्ता गराउने औषधि दिनुपर्छ । जसका लागि चिकित्सकले पाम भन्ने औषधि लिन पठाए । यो इन्जेक्सन हो । जसलाई स्लाइन पानी दिए जसरी झुन्डाएर नाडीबाट दिनुपर्छ । तर फार्मेसीले यसरी नै दिनुपर्ने अर्को इन्जेक्सन पारासिटामोल क्यारिडोल दिएर पठायो ।

एक हजार एमजीको सय एमएल पारासिटामोल हनहनी ज्वरो आएका बिरामीलाई दिने गरिन्छ । ‘फार्मेसी सम्बन्धी ज्ञान भएका हरिमायाका एकजना आफन्त बिरामी भेट्न भन्दै अस्पताल आएका थिए । उहाँले ज्वरो नै नआएका बिरामीलाई किन यो चलाएको हो भनेर सोधीखोजी गरेपछि बल्ल गलत औषधि परेको पत्ता लाग्यो,’ उपचारका क्रममा हरिमायासँगै रहेका जंगबहादुर ढेँगाले भने ।

बिरामी भेट्न आएका हरिमायाका आफन्तले सोधीखोजी गरेपछि चिकित्सक आएर औषधि फेरेका थिए । फार्मेसीबाट दुई बोतल पारासिटामोल लिएकोमा एक बोतल शरीरमा चढाएर लगभग सकिएको थियो । बिरामीलाई कलेजोको समस्या भएको भए यसरी सिटामोल दिँदा ठूलै समस्या आउन सक्थ्यो । तर त्यस्तो नभएका कारण गलतै परे पनि औषधिले तत्कालै कुनै नराम्रो असर नदेखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

‘हामीलाई कुन औषधि लेख्यो, कुन दियो केही थाहा हँुदैन । थाहा नहुने भन्दैमा उनीहरूले यसरी गलत औषधि भिडाउन नहुने । फेरि हामीलाई पो ठूलो असर नगर्ने औषधि पर्‍यो । यस्तै कमजोरी गर्ने हो भने त कुनै दिन ज्यादै नराम्रो घटना हुन पनि सक्छ नि,’ बिरामी कुरुवा जंगबहादुर ढेँगाले भने । अस्पतालका फार्मेसी सञ्चालक भने यो सामान्य खालको कमजोरी भएको बताउँछन् ।

‘आकस्मिक कक्षमा आएको बिरामी भनेपछि अलि हतार हतार गरेर औषधि दिनुपर्छ । यस्तो बेला कहिलेकाहीं सामान्य कमजोरी भइहाल्छ । हामीले यहाँबाट पठाए पनि औषधि सही आयो कि नाइँ भनेर बिरामीलाई दिने बेलामा पनि हेर्नुपर्ने हो नि,’ भरतपुर अस्पतालको फार्मेसी काउन्टरका इन्चार्ज रामबाबु थापाले भने । गलत औषधि गएको थाहा भएपछि डाक्टरले नै लेखेको औषधि दिएर पठाएको उनले बताए ।

पहिलो पटक औषधि लौजाँदा ३ बजेर १३ मिनेट गएको थियो । त्यो बेला लगेको औषधि गलत भएको थाहा भएपछि अर्को पटक औषधि लौजाँदा ३ बजेर ४० मिनेट गएको फार्मेसीले काटेको बिलमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?