१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाउँ बजारमा बदलिँदै

हेटौंडा र सिन्धुपाल्चोक — केन्द्र तोकिएका स्थानीय तहका गाउँमा अहिले चहलपहल बढेको छ । विशेष गरी गाउँपालिकाका केन्द्र रहेका क्षेत्र बजार बन्दै गएका छन् । विगतमा सुनसान रहेका क्षेत्रमा गाउँपालिकाको केन्द्र तोकिएपछि होटल, पसल, बैंक र नयाँ भवन थपिएका छन् । केन्द्रमा दैनिक आउजाउ गर्नेको संख्या बढेको छ ।

गाउँ बजारमा बदलिँदै

मकवानपुरको कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारको कटुन्जेमा सवारी साधनका साथै मानिसको आउजाउ बढेको छ । नयाँ भवन थपिएका छन् । चिया पिउनेदेखि भात खाने होटल पनि थापिएका छन् । गाउँकै घर भए पनि कर्मचारीले भाडामा कोठा लिएर बसेका छन । कृषि, पशु, शिक्षा, स्वास्थ्य, बैंक र गाउँपालिकाका कर्मचारी नियमित बस्ने गर्छन् । ती कार्यालयबाट उपलब्ध हुने सेवा लिन सेवाग्राही दैनिक केन्द्रमा आउने गर्छन् ।


गाउँपालिकाको केन्द्र बनेपछि सदरमुकाम र केन्द्रको सेतुका रूपमा रहेको चुनिया, नामटार र कटुन्जे मोटरबाटो नियमित सञ्चालनमा आइरहेको छ । गाउँपालिकाले उक्त मोटरबाटोको नियमित मर्मत सम्भार गर्नुका साथै पहिरो पन्छाउन डोजर नै राखेको छ । ‘कटुन्जेमा गाउँपालिकाको केन्द्र राखेपछि यो क्षेत्रमा चहलपहल बढेको छ,’ गापाका अध्यक्ष टंक मोक्तानले भने, ‘अब यहाँ सुविधायुक्त होटल पनि खुल्दै छन् ।’

स्थानीय तह गाउँमा पुगेपछि बजारमा परिणत भएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुर बजार । तस्बिर : कान्तिपुर


मकवानपुरकै सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकाको केन्द्र रहेको फापरबारीको झुरेझुरेमा पनि चहलपहल बढेको छ । गाउँपालिकाको केन्द्र रहेको उक्त स्थानमा बैंक, स्कुल, होटेल र पसल खुलेका छन् । केन्द्र रहनुभन्दा अगाडि एउटा मात्र पसल थियो, अहिले आधा दर्जनभन्दा बढी पसल थपिएका छन । भवन पनि नयाँ/नयाँ बनेका छन् । तत्कालीन माओवादी सेना र शाही नेपाली सेना भिडन्त भएर चर्चामा आएको झुरझुरे अहिले गाउँपालिकाको केन्द्र बनेकाले गुल्जार बनेको छ ।


कटुन्जे, झुरझुरे मात्र होइन, राक्सिराङ गाउँपालिकाको चैनपुर र मनहरी गाउँपालिकाको रजैयाको रौनक पनि उस्तै छ । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा रहेको छ भने मनहरी गाउँपालिकाको केन्द्र रजैयामा रहेको छ । ‘गाउँपालिकाको केन्द्र बन्ने बितिक्कै केन्द्र रहेका स्थानको रौनकै बढेको छ,’ राक्सिराङ गापाका अध्यक्ष राजकुमार मल्लले भने, ‘जग्गा जमिनको भाउ पनि बढेको छ ।’ मकवानपुरमा रहेका ८ वटा गाउँपालिकाका केन्द्र रहेका स्थानको जग्गाको भाउ बढनुका साथै ग्रामीण भेग सहरका रूपमा विकास हुँदै गएका छन् ।


गाउँपालिकाका केन्द्र रहेको स्थानमा गाउँपालिकावासीलाई आवश्यक पर्ने उपभोग्य वस्तुका पसललगायत होटल एकपछि अर्को थपिँदै छन् । सुरक्षा पनि मजबुत बन्दै गएकाले केन्द्रमा बैंकले उपशाखा स्थापना गरिरहेका छन् । साविकका गाविसमा रहेका सा–साना बजार सुकेर गाउँपालिकाको केन्द्रमा बिस्तार भएका छन् । यसैगरी सिन्धुपाल्चोकको सदरमुकामबाट विषयगत कार्यालय स्थानीय तहमा सरेपछि गाउँमै ठूलो बजार बन्न थालेको छ । भत्केका संरचना क्रमश: बन्न थालेपछि कार्यालयदेखि बैंक गाउँमै उपलब्ध भएकाले गाउँ बजारमा बदलिएको हो ।


सबै गाउँ सडकले जोडिएपछि इन्द्रावती गाउँपालिकाको नवलपुर गाउँ बजारझै रमझम बन्न पुगेको छ । कृषि, पशुजस्ता महत्त्वपूर्ण सबै कार्यालय गाउँमा भएका कारणले बजार दिनहुँ ठूलो बन्दै गइरहेको बजारका व्यवसायी सुनकुमार श्रेष्ठको अनुभव छ । ‘अब गाउँ नै बजार बनेको छ, स्थानीय सरकार आएपछि गाउँमा बजार झलक पाइन्छ,’ उनले भने । मुख्य सडकमा ग्राभेल गरिएपछि बर्खामा पनि यातायातमा सहज भएकाले बजारले गति लिएको उनले सुनाए । सामान्य किनारा पसल मात्रै रहेको नवलपुर वर्ष दिन बितेलगत्तै सोलारले रातमा उज्यालिएको छ । साता दिनमा सरसफाइ अभियानले फराकिलो देखिने बजार थप आकर्षक बन्दै गएको छ ।


टोलपिच्छै तरकारी लगाउनुपर्ने अनिवार्य कृषि अभियानले बजारमा तरकारी बेच्न ल्याउने कृषक प्रशस्त देखिन्छन् । ‘उबेला चार बजे चकमन्न हुने नवलपुर हाल बेलुकीसम्म किनबेच गर्नेले भरिरहेको हुन्छ,’ उनले भने । कुनै बेला सामान्य किनमेल गर्न मेलम्ची बजार झर्ने स्थानीयले नवलपुरमा सबै कुरा पाउन थालेपछि बजार बढेको उनको कथन छ ।


चक्रपथ सडक निर्माण योजनाअन्तर्गत झोलुंगेजस्ता माझी बस्तीमा सडक पुगेपछि उत्पादनलाई बजारसम्म ल्याउन स्थानीयलाई सहज भएको छ । व्यावसायिक रूपमा अदुवा, बेसार, तरकारी मात्रै नभई कफीलाई पकेट क्षेत्र बनाउने अभियानका साथ गाउँपालिकाले कार्यक्रम योजना तयार गरेको छ ।


हेलम्बु गाउँपालिका किउल गाउँका पुराना ट्राउट व्यवसायी राज भण्डारी हालको बजार देखेर दंग छन् । ‘भूकम्पपछिको किउल हुँदै तिम्बु, शेर्माथानसम्म बजारको चहलपहलले गर्दा गाउँ बजार बनेको छ,’ भण्डारीले भने । पर्यटकीय क्षेत्रका रूपमा नाम कमाएको हेलम्बुमा स्याउ, चिया, कफी खेतीलाई विस्तार गर्न थालिएको छ ।


‘ह्योल्मो संस्कृति झल्कने गुम्बा, मन्दिर हेर्न आउने पर्यटक बढ्न थालेका कारण यहाँको बजारमा रिर्सोट, होटेल, पसल थपिँदै छन्,’ उनले भने ।


गाउँपालिकाभित्रै कृषि, पशुजस्ता महत्त्वपूर्ण कार्यालय भित्रिएपछि बजारको क्षेत्र बढेको देखिन्छ । न्यायपालिका, बैंक सबै गाउँमा भित्रिएका कारण गाउँ बजारमा परिवर्तन भएको जनप्रतिनिधिको धारणा छ । पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने मूल सडकलाई बलियो बनाइएपछि बजार तिपेनीमा सरेको छ । ‘अलि ठूलो सामान किन्नु परे, मेलम्ची बजार झथ्र्यौ, अब त यहीं सबैकुरा पाइन्छ,’ थाङपालबाट तिपेनी झरेकी सुन्डुकमाया तामाङले भनिन् । ‘अब गाउँ सबै बजारले ढाकिसक्यो, गाउँ गाउँ रहेन्,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?