छानिए १० हिल–स्टेसन

प्रताप विष्ट

मकवानपुर — प्रदेश ३ मा आन्तरिक एवं बाहय पर्यटक आकर्षित गर्न प्रदेशको उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।

विश्व पर्यटन दिवसका अवसरमा बिहीबार मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका १ ऐतिहासिक बस्ती एवं पर्यटकीय स्थल कुन्छालका बासिन्दाले मु्ख्यमन्त्री डोरमणि पौडेल लगायतलाई बाजागाजासहित आफ्नो गाउँको अवलोकन गराउँदै । तस्बिर : प्रताप

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालयले मुडे, जिरी, शिवालय, खुर्कोट (सिन्धुलीगढी) चित्लाङ–कुलेखानी, ककनी, रुबी भ्याली, सोमदह लगायत १० उच्च स्थानलाई बिहीबार हिल–स्टेसन घोषणा गरेको छ ।


‘एउटा हिल–स्टेसनमा, एक भ्युटावर, एक होमस्टे, एक सामुदायिक लज, बगैँचा, मनोरञ्जन घर र कोसेली घर निर्माण गरिनेछ,’ उनले भने । छनोट भएका हिल–स्टेसनको पूर्वाधारहरू निर्माण गर्न ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशको पर्यटन मन्त्रालयले आन्तरिक एवं बाहय पर्यटकलाई आकर्षित गर्न स्थानीय तहसँग समन्वय गरेर पर्यटकीय क्षेत्रको विकास गर्ने पर्यटन मन्त्री नेपालले बताए । ‘ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकास र प्रसारमा पनि जोड दिनेछांै,’ उनले भने ।


राजा पृथ्वीनारायण शाहले मकवानपुरको चन्द्रागिरिको डाँडामा उभिएर उपत्यका आक्रमण गर्ने सोच बनाएको स्थलमा २० मिटर उचाइको भ्यु टावर निर्माण गर्ने भएको छ । भ्यु टावर निर्माण गर्न यो वर्ष २ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त भ्यु टावरको मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरे ।


कर्मचारीलाई घुमफिर खर्च प्रदेश सरकारले कर्मचारीलाई एक साताको बिदा दिएर एक महिना बराबरको तलब उपलब्ध गराउने भएको छ । प्रदेश ३ सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश मातहतका कर्मचारीलाई एक महिनाको तलब उपलब्ध गराएर घुमफिर गर्न पठाउने भएको हो ।


आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र ‘रिफ्रेस’ हुन प्रदेश सरकारले कर्मचारीलाई एक साताको बिदा दिएर एक महिना बराबरको तलब पनि उपलब्ध गराउने भएको हो । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र प्रदेश मातहतका कर्मचारी प्रोत्साहित गर्ने उद्देश्यले उक्त नीति लिएको’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । मातहतका कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न एक साताको बिदा र एक महिना बराबरको तलब उपलब्ध गराई प्रोत्साहित गर्ने उनले बताए ।


प्रदेश सरकारले असार १ गतेसम्म प्रदेश कार्यालयमा उपस्थित भएका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ । पछि आएका कर्मचारीले चालू आवमा यो सुविधा नपाउने कार्यविधिमा उल्लेख छ । घुमफिर गर्न रकम लिएका कर्मचारीले सम्बन्धित प्रदेश राजधानी र आफ्नो ठेगानाभन्दा अन्यत्र पर्यटकीय स्थलमा घुम्न जानुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

९ माथि पढ्न तीन घण्टा पैदल

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका झयाडीगाउँकी १५ वर्षीया सरिता माझीले घण्टांै हिँडनुपर्ने पीरले कक्षा ९ मा पढाइ छाडिन् । भीमटारस्थित इन्द्रावती आधारभूत विद्यालयमा कक्षा ८ पास गरेपछि नौ पढ्न सरिताले डढुवाको भवानीशंकर मावि पुग्नुपर्थ्याे ।

स्कुल छोडेर काम गर्दै इन्द्रावति गाउँपालिका बालबालिका । फाइल तस्बिर : कान्तिपुर

लामो बाटो हिँडनाकै पीरले उनले अध्ययनलाई निरन्तरता दिइनन् । ‘घरमा सबै बिरामी छन्, काम गर्नुपर्छ, विद्यालय टाढा हुँदा नौ कक्षा नगई पढाइ छाडेँ,’ चार महिनाअघि पढाइ छाडेकी उनले भनिन्, ‘पढ्ने रहर त छ, टाढा भएकोले भ्याइँदैन ।’ घरायसी समस्या र विद्यालय टाढा भएको कारण माझीले पढाइलाई निरन्तरता दिन नसकेको सुनाइन् ।


यहाँका बालबालिकाले दस कक्षा पढ्नका लागि दुई घण्टाको उकालो जंगलैजंगल र आधा घण्टाको डाँडा पार गर्नुपर्छ । झयाडी तल्लो टोलका १६ वर्षे दीपेश माझीको पढाइ दस कक्षाबाट अगाडि बढ्न सकेन । झयाडीकै झमला देवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढिसकेपछि उनले डेढ घण्टा हिँडेर इन्द्रावती माविमा ६ देखि ८ सम्म पढे । कक्षा नौ देखि १२ सम्म पढ्न उनले डढुवा नगई सुख थिएन् । ‘दस पढेर एसईई दिने मन त थियो, तर घण्टाैं हिँडनुपर्ने भएपछि पढाइमा जाँगर चलेन् अनि छोडँे ,’ उनले भने । दिनहँु इन्द्रावतीको बगरमा बालुवा निकाल्न पुग्ने उनले पढाइलाई भन्दा परिवारलाई महत्त्व दिएको बताउँछन् ।


माख्लो बस्तीका १९ वर्षे धनबहादुर माझीले एसईई नदिईकन पढाइ छाड्नुमा माथिल्लो कक्षाको विद्यालय नजिक नहुनुलाई मान्छन् । ‘म जस्ता धेरै साथीले नौ, दस कक्षामा पढाइ छाडेका छन्, यसको कारण विद्यालय नजिक नहुनु हो,’ उनले भने । हिँडेर पढेका थोरैले मात्रै एसईई दिएर पास गरेको उनको कथन छ । ‘पूरा गाउँमा ‘ब्याचलर’ पढ्ने मात्रै एक जना छन्, उनी पनि अहिले टाढा भएको कारण पढ्न जाँदैनन्, ‘प्लस टु’ पढ्ने एकदम थोरै छन्,’ उनले भने ।


चौतारा साँगाचोकगढी नगरअन्र्तगत पर्ने भए पनि डढुवा पुग्न टाढा पर्ने कारण माविमै छोड्ने धेरै भएको स्थानीय शिक्षक लालबहादुर श्रेष्ठले बताए । वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो समस्यालाई समाधान गर्न पायक स्थानमा उमावि/मावि तहको विद्यालय हुन जरुरी छ । ‘माथिल्लो कक्षाभन्दा एसईईसम्मको कक्षा थप गरेर विद्यालयमा चलाइएमा सहज हुन्छ,’ उनले भने ।


विभिन्न समस्या व्यहोर्नुपरेकाले पढाइलाई बीचैमा छाड्नेको संख्या जिल्लाभरमै ठूलो रहेको शिक्षा विकास तथा समन्वय इकाईका गौरीशंकर पाण्डे बताउँछन् । ‘माझी समुदायमा झनै यस्तो समस्या व्यापक देखिन्छ, यसको लागि स्थानीय तहसँग समन्वय गरेर नयाँ योजना ल्याउने तरखरमा छाैं,’ पाण्डे भन्छन् , ‘विद्यार्थी टिकाउनु पहिलेदेखि चुनौती बन्दै आइरहेको छ ।’


उनले विभिन्न शैक्षिक सामग्री, दिवा खाजादेखि अनेक कार्यक्रम ल्याउँदा पनि ड्रपआउटको समस्या समाधान हुन नसकेको प्रस्टयाए । दुई वर्षअघि शिक्षा इकाईले जिल्लाभर ५ सय ५० बालबालिका विद्यालयबाहिर रहेको तथ्यांक निकालेको थियो । लिशंखुपाखर गाउँपालिकाले केही समयअघि आधारभूत तहको शिक्षा सुनिश्चित घोषणा नै गरिसकेको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्