गाउँमै स्वास्थ्य चौकी
सिन्धुपाल्चोक — गाउँमै नि:शुल्क स्वास्थ्य चौकी पाएपछि बाह्रबिसे नगरपालिका अँगेरीपाखाकी दमकी बिरामी सुन्तली विकको हर्षको सीमा छैन । दैलो छेउमै भर्खरै उद्घाटन गरिएको स्वास्थ्य चौकी भवनबाट सोमबार औषधि लिएकी विक खुबै उत्साहित देखिन्थिन् । ‘अब बजार झरिरहन नपर्ने भो,’ विकले भनिन् ।
उकालो ओरालो र सवारीमा पनि हिँडडुल गर्नका लागि श्वासप्रश्वासमा समस्या व्यहोरिरहेकी उनले नजिकै सेवा पाउने भएपछि खुसी लागेको बताइन् ।
‘मजस्ता वृद्धवृद्धालाई सजिलो हुने भो,’ उनले भनिन् । भूकम्पपछिको विपत् सहयोगका लागि आएको कम्युनिटी डिजास्टर रेस्पोन्स टिम (सीडीआरडी) को सहयोगमा गाउँमै सुविधासम्पन्न स्वास्थ्य चौकी बनेपछि गाउँले खुसी भएको उनले बताइन् । स्वास्थ्य चौकीमा नि:शुल्क औषधि र ओपीडी, ड्ेरसिङदेखि मातृशिशुसम्बन्धी सुविधा छ । तत्कालै बर्थिङको सुविधासहित कर्मचारी राखिने भएको छ ।
‘पहिलेजस्तो पीडा भोग्नुपर्दैन, भौगोलिक समस्याले उपचारबाट वञ्चित हुनुपर्दैन,’ अँगेरीपाखाका सुदर्शन बस्नेतले भने । उनका अनुसार स्वास्थ्य चौकीले बालबालिका, वृद्धवृद्धा मात्रै नभई मातृ सुत्केरीलाई विशेष सहयोग पुगेको छ ।
स्वास्थ्य चौकीको भवन पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उदघाट्न गरे । भूकम्पपछिको पुनर्निर्माणलाई अगाडि बढाउनग ३० लाखको लागतमा स्वास्थ्य चौकी भवन बनाइएको सीडीआरडीका संयोजक प्रकाश बस्नेतले बताए । ‘भूकम्पपछिको पुनर्निर्माणमा सघाउनका लागि स्वास्थ्य चौकी बनाएका हौं,’ बस्नेतले भने, ‘नि:शुल्क रूपमा यहाँबाट सबैले सेवा पाउनेछन् ।’