बलात्कार आरोपमा दुलाहा पक्राउ

राजेन्द्र मानन्धर

दोलखा — विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घर भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा दुलाहा शान्ति चौलागाईं बिहे कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।

बलात्कृत भएको दाबी गर्दै ती किशोरीले उजुर गर्नेबित्तिकै दुलही भित्र्याउने कार्यक्रममै प्रहरी पुगेका थिए । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।


संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ वर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयास १६ वर्षीया किशोरीको उजुरीले बिफल भएको छ । ती किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् ।


१२ कक्षा पढदै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले बिहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् । ‘अर्की युवतीसँग बिहेको कुरा चल्न थालेपछि फोन सम्पर्क र भेट गर्न खोज्दा शान्ति टाढिँदै गए,’ किशोरीले बयानमा भनेकी छन् ।


शान्तिले बेवास्ता गर्न थालेपछि घातक बाटो अपनाउन खोजेकी अवस्थामा किशोरीलाई आफन्त र अधिकारकर्मीहरूले २० वर्ष नपुगी बिहे गर्न हुँदैन भन्दै सम्झाउँदै आएका थिए । कानुनले सानो उमेरको बिहेलाई बन्देज गरेकाले शान्ति विवाह गर्न टाढिएको हुन सक्ने भन्दै किशोरीले चित्त बुझाउँदै आएकी थिइन् । नाबालकमाथि यौनसम्पर्क गम्भीर बलात्कार अभियोग हुन्छ । त्यसैले शान्ति नाबालक बलात्कारको आरोपितसमेत बनेका छन् ।


विवाहको कार्यक्रमबीच पक्राउ परेका शान्तिका परिवारले आरोप झूटो र फसाउने नियत भएको दाबी गरेका छन् । शान्तिले एक महिनाअघि नै अर्को युवतीसँग भागीविवाह गरेको र दुलाहदुलहीलाई विधिपूर्वक घर भित्र्याउन लाग्दा पक्राउ गरिएको दु:खेसो पोखेका छन् । प्रनाउ पाठकका अनुसार निवेदक किशोरी बलात्कृत स्थल ललितपुरस्थित शान्तिको डेरा हो । पक्राउ परेका शान्तिलाई अनुसन्धानका लागि उक्त जिल्ला चलान गरिएको छ।

प्रकाशित : आश्विन १०, २०७५ १२:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पश्चिमका महिलाको सुखदु:खको साथी डेउडा

मेनुका ढुंगाना

अछाम — निर्मला जैसीलाई डेउडा दोहोरी खेल्न कसैले भेटदैन । मंगलसैन ६ की उनी गाउँघरमा हुने विवाह, व्रतबन्धमा प्राय: छुटदिनन् । नाचगान (रत्यौली) मा डेउडा कहाँ छुटनु !

‘डेउडामा मायाप्रेम, सुखदु:ख, हाँसो र पीडाको भाव समेटिएको हुन्छ,’ उनी भन्छिन्, ‘सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा बिहे र व्रतबन्धमा अनिवार्य रूपमा डेउडा अनिवार्य रूपमा खेल्ने गरिन्छ । हामी महिलाको सुखदु:खको साथी हो यो ।’


सुख, राति छ जंगलको बाटो, सर्प चिल्ला कि
भाइको भाग बुवाको अंश, माग्या मिल्ला कि
एकै खर्क दुई बौरानी जेठी छुइ जान्या हो
छोरी भई जन्मनुभन्दा गर्भ तुइ जान्या हो...
छोरी भएकै कारण दु:ख पाएकाहरूले अझै पनि मेलापात, घाँसदाउरा, पानीपँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक डेउडा गीत गाउने गर्छन् । महिनावारी हुँदा टाढाको छाउपडी गोठमा जानुपर्ने बाध्यता, पराईघर जाने भनेर जन्मेदेखि हरेक कुरामा गरिने भेदभाव, छोरीलाई काम मात्रै लगाउनुपर्छ भन्ने मान्यता बढी रहेका सुदूरपश्चिमका गाउँमा महिलाहरूको दु:ख बिसाउने मेलो हुने गरेको छ डेउडा । गोठालो जाँदा, महिनावारी भएर सबै छोरी एउटै गोठमा बस्नु परेका बेला डेउडा सहारा हुने गरेको छ ।


डेउडालाई कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा लिने गरिन्छ । ठाडी भाका, न्याउले, डेउडा दोहारीमा धेरैजसो सुखदुु:खका भाव व्यक्त गर्ने गरिन्छ ।
जूनभन्दा तेपाया राम्डा, तारा किरीकिटी
दूध भनी लायाको माया, किन छिरबिटी...
‘आकाशको तारा चन्द्रमाजति चम्किलो हुन्न,’ निर्मला अथ्र्याउँछिन्, ‘त्यस्तै सुरुमा माया दूधझैँ पवित्र हुने भए पनि पछि अनेक बाध्यताले गर्दा सम्बन्धले मूर्त रूप पाउन सक्दैन, छरपस्ट हुन्छ भन्ने भाव दिएको छ यो डेउडाले ।’


अछाम लगायत सुदूर पश्चिमका प्राय: जिल्लाका धेरैजसो पुरुष धन कमाउन भारत जाने गर्छन् । सबैले एकनाले कमाउन सक्दैनन् । कोहीकोही घरपरिवार छोडेर उतै भासिन बाध्य पनि हुन्छन् । डेउडा गीतमा त्यस्ता सन्दर्भ पनि आउने गरेको निर्मला सुनाउँछिन् ।


आउने क्वै नाइँ जाने क्वै नाइँ,
क्या कराउँछै काग
परदेशी हँु, परदेशै छु, परदेश मेरा भाग...
डेउडा पश्चिम नेपालको चिनारीको महत्त्वपूर्ण अंग भए पनि प्रविधिको विकाससँगै पारम्परिक हिसाबको भाकाप्रति युवा पुस्तामा रुचि घटै गएको मंगलसैन(७ का कित्थे दमाईं बताउँछन् । ‘अहिले गाउँघरमा हुने बिहे, व्रतबन्धमा खेलिने रत्यौली पनि हराउने अवस्थामा पुगेको छ,’ उनी भन्छन्, ‘यो पुस्ता रहुन्जेल मात्र यो संस्कृति रहनेछ । त्यसपछि यसको परिचय नै भेट्टाउन मुस्किल हुन्छ कि जस्तो लाग्छ । अहिलेका छोराछोरीले डेउडाको बारेमा चासो लिँदैनन् । यस्ता गीतहरू रेडियोमा बज्दा बेन्ड बदलिहाल्छन् । यो दु:खद पक्ष हो ।’

‘डेउडा र देउडा फरक हो’
डेउडा र देउडालाई एउटै मान्छन् अचेलका धेरै संगीतकर्मी । ‘तर यी दुइटै शब्दले फरकफरक अर्थ दिन्छन्,’ सुदूरपश्चिमका पुराना डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ भन्छन्, ‘डेउडा भनेको माया, प्रेम, सुखदु:ख, पीडालाई गीतको माध्यमबाट बाहिर ल्याउने कला हो । देउडा भनेको भगवान्सम्बन्धी गीत हो, सांगीतिक उपासना हो ।’ उनले देउडाको उदाहरण दिँदै गाए :
शिवकी पार्वती राम्री, रामचन्द्रकी सीता
देश भन्दो घरबारी होइजा,
कर्म भन्दो बिता...
डेउडामा आममानिसका सन्दर्भ आउने उनले सुनाए :
जेठ वैशाख गर्मी महिना, काफल खाई हेल्नु
गैली सेल बसीखेर, पिरती लाई हेल्नु...
‘पहिलो गीतमा भगवानो प्रसंग उक्काइएको छ । दोस्रो गीतमा जेठ(वैशाखमा गर्मी हुने भएकाले छाया परेको ठाउँमा बसेर पिरतीका कुरा गर्नु भनिएको छ,’ रावत भन्छन्, ‘पछिल्लो समयमा सुदूरपश्चिमका कलाकारहरूले नै यो संस्कृतिमा विकृति मिसाएका छन् । बोलचालका एकदुई शब्द मिसाएर गीत गाउँदैमा संस्कृतिको संरक्षण भएको मानिन्न । आफ्नो संस्कृति, रीतिरिवाज, चालचलनको बारेमा अध्ययन पनि हुनुपर्छ ।’


रावतका अनुसार, देउडा र डेउडा खेल्दा पोसाक र गरगहना छुट्टाछुट्टै हुने गरेका भए पनि अहिले त्यस्ता गरगहना पनि लोप हुँदै गएका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT