१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

टहराका विद्यार्थी पक्कीमा

सुविधायुक्त १६ कोठे भवन निर्माण भएपछि विद्यार्थीहरू दङ्ग परेर पक्की भवनमा अध्ययन गरिरहेका छन्
प्रताप विष्ट

मकवानपुर — घाम पानी र चिसो सिरेटो छिर्ने टहराबाट तीन वर्षपछि विद्यार्थीले पक्की भवनमा पढन पाएका छन् । टहरामा पढदै आएका भीमफेदी गाउँपालिका ६ महेन्द्र माध्यमिक विद्यालयका ५ सय ७५ विद्यार्थी गत सातादेखि पक्की भवनमा अध्ययन गरिरहेका छन् ।

टहराका विद्यार्थी पक्कीमा

२०७२ वैशाख २९ को पराकम्पले उक्त विद्यालयको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । १९८२ मा बनेको २ तले १२ कोठाको भवन १९९० सालको र २०७२ वैशाख १२ गतेको भूकम्पले भत्केको थिएन । वैशाख २९ गतेको पराकम्पले चिराचिरा परेर भत्क्यो । भवन भत्केपछि २०७२ भदौदेखि उक्त विद्यालयका नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थी टहरामा पढ्दै आएका थिए । एउटै लामो टहरामा ३ वटा कक्षाका विद्यार्थी राखेर पनि पठनपाठन गरिएको थियो ।


जाईकाको करिब ४ करोडको सहयोगमा दुईतले सुविधायुक्त १६ कोठे भवन निर्माण भएपछि उनीहरू दङ्ग परेर पक्की भवन अध्ययन गरिरहेका छन् । उक्त विद्यालय भवन भूकम्पप्रतिरोधी र अपांगमैत्री रहेको छ । स्कुल भवन भत्केपछि जस्तापाताको छानो भएको र वरिपरि बाँसले घेरेको टहरामा उनीहरू पढिरहेको थिए । उक्त सुविधायुक्त भवन निर्माण भएपछि टहरामा वसेर पढनु पर्ने वाध्यतावाट उनीहरू मुक्त भएको प्रअ रामजी यादवले बताए ।


जिल्लाको सबैभन्दा जेठो महेन्द्र माविको पुनर्निर्माणसहित जाईकाको सहयोगमा मकवानपुरका ७ वटा स्कुलको भवन करिब २० करोडको लागतमा पुनर्निर्माण भइसकेको शिक्षा कार्यान्वयन इकाईका इन्जिनियर सञ्जीव पुडासैनीले बताए । महेन्द्र मावि २००४ सालमा स्थापना भएको हो । जाईकाले थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहानगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिसकेको छ


मकवानपुरमा पहिलो चरणमा १ सय १० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो । पुर्ननिर्माण प्राधिकरणको शिक्षासम्बन्धी जिल्ला आयोजना कार्यान्वयन इकाई आव ०७३/०७४ र ०७४/०७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । पुनर्निर्माण भएका भवनहरूको साढे ५ सय वटा कक्षा कोठा तयार भएका छन् । चालू आवमा शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन आयोजना इकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ ।


मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर १ सय ५५ वटा विद्यालय निर्माण भइसकेका छन् । ती निर्माण भएका विद्यालयमा करिब साढे ५ सय वटा कक्षाकोठा तयार भएका छन् । जाईकाले केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत मकवानपुरमा ४१ वटा विद्यालयको भवन निर्माण गरिरहेको छ । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ ।


प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण कार्यको थालनी गरेको छ । त्यसमध्ये २ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । तीनवटा निर्माणाधीन अवस्थामा छन् । एस्थर बेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयको भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ७ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । तीनवटा निर्माणाधीन छन् । भारतीय राजदूतावासले ३ वटा विद्यालय भवनको पुनर्निर्माण गर्ने जिम्मा लिएको २ वटा स्कुलको भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । एउटाको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : आश्विन १०, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?