१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वर्षामा चल्दैन दोरम्बामा गाडी

रामेछाप — दोरम्बाबाट फर्किएको बस बुधबार चिप्लिएर धन्न सडकबाट खसेन । हिलाम्मे सडकमा दोरम्बाबाट अग्लेश्वरतिर उक्लिएको यात्रुबाहक बस बल्लतल्ल जोगिएपछि यात्रुले ठेलेर सडकको बीचमा पुर्‍याए । त्यसपछि बस गुडेन । यात्रुहरू झोला बोकेर रुझदै गन्तव्यतिर लागे ।

वर्षामा चल्दैन दोरम्बामा गाडी

गाल्वादेखि दोरम्बासम्मको सडकमा बुधबार मात्र हैन, चालकहरूअघि पछि पनि हत्केलामा ज्यान राखेर यातायात साधन गुडाउने गर्छन् । कतिपय चालकले नमान्दा नमान्दै पनि यात्रुहरूले जबरजस्ती गर्दा यातायातका साधनहरू दोरम्बा उकालिने गरेका र बीचमै अलपत्र पर्ने गरेका छन् । गाल्वाबाट उत्तर अग्लेश्वरीको भीरसम्मको सडक जोखिम छ ।

केही गरी अग्लेश्वरी पार गरे पनि त्यसभन्दा तल दोरम्बातिर हिलो र खाडल छिचोल्न कठिन छ । सवारी चालक अमरबहादुर मोक्तानले भने, ‘बाटो ठीकै होला भनेर गयो, बीचमै अलपत्र पर्नुपर्छ, दोरम्बा पुगिहाले फर्कन सक्ने नसक्ने चिन्ताले निद्रा लाग्दैन, पानी परेको दिन गाडी जहाँको त्यही राख्नुपर्ने बाध्यता छ ।’
गाल्वा–दोरम्बा सडक गएको वर्ष वडा कार्यालयको पहलमा सडक सुधार गरिएको थियो । धेरै पानी पर्ने भएकाले धुलो माटो मिलाइएको उक्त सडक अहिले अस्तव्यस्त छ । बाह्रै महिना सवारी सञ्चालन गर्ने दोरम्बेलीको धोको स्थानीय सरकार हुँदा पनि पूरा भएको छैन ।

दस वर्षअघि दोरम्बामा सडक पुगेको हो । यत्तिका वर्ष हुँदा दोरम्बेलीले वर्षायाममा कहिल्यै यातायातको सेवा पाएनन् । स्थानीय मानबहादुर लामा भन्छन्, ‘अब त पाइएला भन्यो फेरि उस्तै ।’ गाल्वादेखि दोरम्बा हँुदै गाउँपालिकाको मुख्यालय टोकरपुरसम्म यातायातका साधन गुडने गरी चौडा बाटो बनाउने अभियानमा गाउँपालिका लागेको छ । ‘हिउँद याममा दोरम्बा गाउँपालिकाले धेरै सडक चौडा पार्‍यो, सुधार गर्‍यो,’ गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान भन्छन्, ‘वर्षा लागेपछि धेरै सास्ती बेहोर्नुपरेको छ ।’ दसैंअघि नै सडक सुधार गरेर सञ्चालनमा ल्याउने अठोट गरेको उनले सुनाए ।

टोकरपुरमा रहेको गाउँपालिका मुख्यालय जानका लागि वैकल्पिक सडक प्रयोग हुने गरेको छ । दिमी पोखरीको आलमपुर हुँदै हाल टोकरपुरसम्म मुस्किलले सवारीसाधन चल्दै आएका छन् । ‘यो वर्ष अलि धेरै पानी परेर पनि यातायात सञ्चालनमा बढी कठिनाइ भयो,’ दिमीका मेघबहादुर थापाले भने, ‘सडक धेरै खुलेका छन्, यातायात सञ्चालन हुने खालका भने थोरै भए ।’ यातायात सहज नहुँदा दोरम्बा गाउँपालिकामा उत्पादन हुने आलु बजारसम्म लैजान किसानले सकेका छैनन् ।

दोरम्बा गाउँपालिकामा अब सडक खोल्नुपर्ने स्थान छैन । अध्यक्ष मोक्तान भन्छन्, ‘जति सडक खुलेका छन्, अबको बजेट त्यसैको सुधारका लागि खर्च गर्ने योजना छ, सुधारका नाममा माटो खन्ने र पुर्नेभन्दा पनि अब बाह्रै महिना यातायात गुड्ने गरी सडक बनाउँछांै ।’

प्रकाशित : भाद्र २९, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?