१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मासिक १५ लाखका खसी बिक्री

अनिश तिवारी

सिन्धुपाल्चोक — पाँच वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका जुगल गाउँपालिका बराम्चीका विष्णुप्रसाद अधिकारी अहिले गाउँमा रमाएका छन् । साउदी अरब र यूएईको दुबईमा अनेक हन्डर खेपेर स्वदेश फर्किएका अधिकारीले गाउँका युवालाई समेटेर बाख्रा पालनमा लागेको वर्ष दिन बितिसकेको छ ।

मासिक १५ लाखका खसी बिक्री

‘विदेशी भूमिमा गएर अनेक काम गर्नुपर्ने बरु किन यही केही नगरूँ भनेर आँट गरियो,’ अधिकारी भने ।

काभ्रे, राजधानी हुँदै विभिन्न स्थानबाट उन्नत जातका केही बाख्रा ल्याएर पालनमा जुटेका उनको फर्म अहिले आम्दानी गर्ने बनिसकेको छ ।

२० जना कृषक मिलेर बराम्ची कृषक समूह नै बनाएर बाख्रा पालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको उनले बताए । ‘महिनाको १५ लाखको खसी मात्रै बेचिन्छ, दर्जन युवाले यही रोजगारी पाएका छन्,’ उनले भने ।

झन्डै सयवटा खसीबोका र बाख्रा यो फर्ममा छन् । सबै कृषकको समूह मिलेर लगानी गरेर सुरु गरिएको फर्ममा स्थानीय लामकाने जातका बाख्रा हुने भएकाले सम्र्पक गरेर लिने आउने दिनहँु बढिरहेका छन् । अन्यले पालनपोषणको शैली सिक्नका लागि यस फर्ममा आउने गरेका छन् ।

बिदेसिन लागेका युवालाई गाउँमा स्वरोजगार अभियानअन्तर्गत बाख्रा पालनमा प्रोत्साहित गरिएको छ । ‘फर्मको प्रत्येक बाख्राको बिमा, अनुदानको व्यवस्था छ,’ बराम्चीका वडाध्यक्ष सनत अधिकारीले भने । उनले गाउँमै रोजगारी दिएर युवालाई आकर्षित बनाउन विभिन्न कार्यक्रम ल्याएको जनाए ।

बलेफी गाउँपालिका माखा भैसेगाउँका झनक पराजुली बाख्रा पालनमा व्यस्त छन् । ‘स्वदेशमा बसेर के होला र जस्तो लागेको थियो, जब बाख्रा पालनमा रस बस्यो तब यही लागिरहेको छु ,यसैले इज्जत र आम्दानी दुवै दिएको छ,’ उनले भने ।

बजारमा सधैं माग भइरहने र हाताहत बिक्री हुने भएपछि बाख्रा पालनलाई दुई वर्षअघि १२ जना मिलेर थालेको उनको कथन छ । ‘मूल थला बहुउदेश्यीय कृषि फर्म बनाएर सबैले लगानी गरेका छौं, मेरो डेढ लाख बराबर लागत छ,’ उनले भने । फर्ममा जमुनापारी, लामकानेजस्ता स्थानीय जातका ९५ वटा बाख्रा छन् । विष्णु र झनकजस्ता युवाको जमात अब गाउँपिच्छै सामूहिक रूपमा बाख्रा पालनमा जुटेका भेटिन थालेका छन् । एकलभन्दा सामूहिक रूपमा फर्म बनाएर पशु चौपाया पालनलाई आम्दानीको स्रोतको रूपमा विकास गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका दुर्गादत्त पन्थीका अनुसार आयस्रोतलाई व्यावसायिक बनाउन कृषकले जुनसुकै कृषि कर्ममा सामूहिक फर्म अभियानलाई ल्याएका छन् । ‘फर्मको एकजुटमा बाख्रा पालनले पाएको सफलता देखेर यसतर्फ युवाको आकर्षण ह्वात्तै बढेको देखिन्छ,’ पन्थीले भने ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?