कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

स्थानीय तहद्वारा दिवा–खाजा

कात्तिकदेखि दिवा–खाजाको कार्यक्रम लागू गर्ने
प्रताप बिष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले विपन्न समुदायका बालबालिकालाई दिवा–खाजाका लागि बजेट विनियोजन गरेको छ । उनीहरूलाई स्कुलमा आकर्षण गराउन र भर्ना भएकालाई टिकाउन मकवानपुरगढी गाउँपालिका चालु आवदेखि दिवा–खाजाका व्यवस्था गरेको हो ।

स्थानीय तहद्वारा दिवा–खाजा

चालु आवको निम्ति गाउँपालिकाले दिवा–खाजाका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रमा पर्ने ४० वटा विद्यालयमध्ये विपन्न र विद्यार्थी संख्या न्यून रहेका विद्यालयमा नमुनाको रूपमा दिवा–खाजाको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । सरकारले सिमान्तकृत र लोपोन्मुख समुदायका स्कुल आउने बालबालिकालाई उपलब्ध गराउँदै आएको दिवा–खाजा कटौती गरेपछि गाउँपालिकाले खाजालाई निरन्तरता दिन लागेको हो ।


खाद्य असुरक्षा भएको र लोपोन्मुख एव आदिवासी जनजाति बहुल क्षेत्रका स्कुललाई पहिलो प्राथमिकतामा राखेर दिवा–खाजाको व्यवस्था गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताए । ‘पढ्ने उमेरका विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गरेर दिवा–खाजा कार्यक्रम कार्यान्वयनमा ल्याउँछु,’ उनले भने । गाउँपालिकाले आगामी वर्षमा सबै विद्यालयमा दिवा– खाजाको विस्तार गर्ने कार्यक्रम छ ।


विद्यार्थी टिकाउन दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताए । बालबालिका भोको हुँदा पढाइमा ध्यानाकर्षणसमेत नहुने भएकाले सिकाइ उपलब्धिमूलक बनाउन पनि दिवा–खाजा प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । उक्त गाउँपालिकाले गाउँ शिक्षा समिति र वडा शिक्षा समितिसमेत गठन गरेको छ ।


घरधुरी सर्भेक्षण गरेर गाउँपालिकाको वस्तुस्थिति तयार पारेको मकवानपुरगढीले कार्यविधि बनाएर दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कात्तिक महिनादेखि दिवा– खाजाको कार्यक्रम लागू गर्ने गापा अध्यक्ष हुमागार्इंले बताए । मकवानपुरगढी गाउँपालिकामा ४ हजार ८ सय ४८ घरधुरी र कुल जनसंख्या २५ हजार १ सय ७३ छ । गाउँपालिकाले दिवा–खाजा कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउने योजना बनाएको छ ।


उक्त गाउँपालिकाले २०७४ कात्तिक २८ गते गाउँ शिक्षा ऐनसमेत जारी गरिसकेको छ । गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमै समेट्न पनि विशेष अभियान सञ्चालन गरिरहेको छ । ८ वटा वडा रहेको गाउँपालिकाले १, ३ र ५ नम्बर वडाका सबै बालबालिका विद्यालयमै समेटिएको घोषणा गरिसकेको छ ।


गाउँपालिकाका सबै बालबालिका समेटिएको छिट्टै घोषणा गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाप्रसाद गौतमले बताए । गाउँको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा अनुगमन समितिसमेत गठन गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक जितबहादुर घिमिरेको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरिएको छ ।


गाउँपालिका क्षेत्रका ४० विद्यालयमा ४ हजार ९ सय ६२ विद्यार्थी अध्ययनरत छन् । पृथ्वी नारायण शाहको ससुरालीसमेत रहेको उक्त गाउँपालिकाले दरबन्दी मिलान गर्न र विद्यालय मर्ज गर्न शिक्षा शाखा प्रमुख टीका गौतमको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरेको छ । उक्त समितिले प्रतिवेदन पेस गरेपछि दरबन्दी मिलान गर्ने क्रममा शिक्षक अपुग देखिएमा गाउँपालिकाले नै राहत स्वरूप शिक्षक भर्ना गर्नका निम्ति बजेट पनि विनियोजन गरेको गापा अध्यक्ष हुमागाईले बताए ।


‘गाउँपालिकाभित्रका केही प्राथमिक तहका स्कुल मर्ज गर्नुपर्ने देखिएको छ,’ उनले भने । मकवानपुर गढी वुढीचौर, सुकौरो र आमभन्ज्याङ चार गाविस मिलाएर मकवानपुरगढी गाउँपालिका बनाएको हो । उक्त गाउँपालिकामा जनजाति समुदायको बाहुल्य छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?