३ वर्षपछि सकियो विद्यार्थीको कष्ट

रामेछाप — बाँसको टहराबाट छिर्ने चिसो सिरेटो र जस्ताबाट झर्ने शीतले अब धोबीको झट्टेश्वर माविका विद्यार्थीलाई सताउने छैन ।

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट

भूकम्पपछिका ३ वर्ष कष्ट सहेर छाप्रोमा अध्ययन गरेका विद्यार्थी हेर्दै लोभलाग्दो आधुनिक भवनमा सरेका छन् । ‘अब जाडो र शीत दुवै छलिएका छन्,’ छात्रा प्रमिला तामाङले बताइन् ।


आफूले कल्पना गरेभन्दा राम्रो भवन पाएको स्थानीय कुमार पाख्रिन बताउँछन् । झन्डै ७ सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा ५ आधुनिक भवन निर्माण भएका छन् । सबै सुविधासम्पन्न र शैक्षिकमैत्री छन् । भवनसँगै डेस्सबेन्चलगायत शैक्षिक सामग्री पनि प्राप्त भएसँगै अभिभावक र शिक्षक दुवै खुसी छन् । ‘अब शैक्षिक पूर्वाधारको अभाव रहेन, सबैको दिलोज्यान गुणस्तरीय शिक्षाका लागि हुुनुपर्छ,’ प्रधानाध्यापक रुक्मणी बस्नेतले बताइन् । गाउँपालिकाको केन्द्रमा रहेको उक्त विद्यालयलाई सिकाइ उपलब्धिका हिसाबले पनि नमुना बनाउने काममा लागिपर्ने बस्नेतले बताइन् । ‘हामी सबैको ध्येय अब गुणस्तर पठनपाठनमा हुनेछ,’ उनले भनिन् ।


भूकम्पबाट क्षति भएको उक्त विद्यालयको भवन एसियाली विकास बैंकको लगानीमा पुनर्निर्माण भएको हो । खानी/शर्मा जेभीले विद्यालय भवन निर्माणको ठेक्का पाएको थियो ।


निर्माण व्यवसायीले तोकिएको समयमा नै निर्माण कार्य सकेर विद्यालयलाई भवन बुझाएको हो । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले एक कार्यक्रमबीच भवनको साँचो प्रधानाध्यापक बस्नेतलाई हस्तान्तरण गरेका छन् । साँचो हस्तान्तरण गर्दै खड्काले सुविधासम्पन्न आधुनिक भवनमा सरेका बालबालिकाहरूले अध्ययनमा निखार ल्याउनुपर्ने बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?