१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिरामी नलिएकामा छानबिन माग

‘दोषीलाई कारबाही मागसहित पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्छ’

चितवन — सर्पले टोकेर ३ वर्षीय बालकको उपचार हुन नसकेको विषयमा अस्पतालहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै आइतबार चितवन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

बिरामी नलिएकामा छानबिन माग

उपभोक्ता अधिकार संरक्षण मञ्चले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । प्रजिअ बस्नेतले पनि यस्तो खालको कमजोरी क्षम्य नहुने भएकाले कारबाही प्रक्रिया थाल्ने वचन दिए । भरतपुर १५, मंगलपुरका ३ वर्षीय सलिन विकलाई बुधबार राति करेत सर्पले टोकेपछि उनका कान्छा हजुरबुबाले भरतपुर अस्पताल पुर्‍याएका थिए । बिरामीलाई दिने सुई भए पनि पीआईसीयू नभएको भन्दै शिक्षण अस्पतालमा जान भनिएको थियो ।


भरतपुरका २ शिक्षण अस्पताल र अन्य २ निजी अस्पताल जाँदा पनि बच्चा भर्ना गरिएन । अन्तिममा फर्केर भरतपुर अस्पतालमै आए पनि बच्चालाई बचाउन सकिएको थिएन । ‘यस्तो सुगम जिल्लामा यस्तो घटना हुन्छ भने दुर्गमको अवस्था के होला ? अस्पतालले बाँच्ने ग्यारेन्टी भएका वा पैसा खर्च गर्न सक्नेलाई मात्र उपचार गर्न खोजेको हो,’ ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।


नाफा मात्र लिन खोलिएका अस्पतालका कारण यस्तो भएको हुँदा छानबिन समिति बनाएर कारबाही प्रक्रिया सुरु गर्न उपभोक्ता अधिकार संरक्षण मञ्चका कार्यवाहक जिल्ला अध्यक्ष विष्णु भुसालले माग गरे । मञ्चले दोषीलाई कारबाहीको माग गरेको छ । पीडित परिवारलाई राहत उपलब्ध गराउन पनि जोड दिएको भुसालले बताए । पीडित परिवारले पनि आइतबार प्रजिअ र अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टलाई भेटेका छन् ।


‘हामीले प्रजिअ र अस्पतालका मेसु भेटेर कुरा राखेका छौं । २ दिनमा मागअनुसार कारबाही हुन्छ भन्नुभएको छ,’ मृतकका हजुरबुबा बलराम विकले भने ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?