१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्य केन्द्र बनाउँदै दुर्गमका बासिन्दा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका दुर्गम गाउँका बासिन्दा गाउँमै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न कस्सिएका छन् । गाउँमै स्वास्थ्य केन्द्र नभएकाले १० महिनाअघि एक सुत्केरी महिलाको रक्तस्राव भएर बाटैमा मृत्यु भएको थियो ।

स्वास्थ्य केन्द्र बनाउँदै दुर्गमका बासिन्दा

उपचार गर्न इन्द्रसरोवरको सिस्नेरीस्थित स्वास्थ्य चौकीमा ल्याउँदा ल्याउँदै रक्तस्राव भएर कमला तामाङको मृत्यु भएको हो । कमलाको मृत्यु भएपछि झस्किएका गाउँलेले गाउँमै स्वास्थ्य चौकी स्थापना गर्न विनोद तामाङको संयोजकत्वमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण समिति गठन गरेका छन । उक्त समितिले एक लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिसकेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ अन्तर्गत पर्ने दुर्गम गाउँ भालुखर्क, गोगने हांसुली, चुवावनलगायतका ग्रामीण बस्तीका बासिन्दाले गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हुन् । उनीहरूले कुखुरा, बाख्रा बिक्री गरेर सहयोग गरिरहेको सिस्नेरी स्वास्थ्य चौकीका अहेव सागर लामाले बताए । उक्त बस्ती नजिक स्वास्थ्य चौकी नभएकाले उनीहरूले गाउँमा नै स्वास्थ्य केन्द्र राख्न सहयोग जुटाउन थालेका हुन् ।

उक्त गाउँवाट नजिकको स्वास्थ्य चौकी आइपुग्न ३ घण्टा हिँड्नुपर्छ । चौकीबाट घर पुग्न झन्डै चार घण्टा उकालो हिँड्नुपर्छ । ‘उक्त गाउँका दमका रोगीहरू स्वास्थ्य चौकीमा उपचार गर्न आउन सक्दैनन्,’ स्थानीयवासी विनोद लामाले भने, ‘गाउँबाट स्वास्थ्य चौकी बिस्तारै आउन सक्छन् ओरालो भएकाले, फर्कन उकालो भएकाले मुस्किल पर्छ ।’

उक्त गाउँमा झन्डै २ सय घरधुरी छन् । सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको र यो समस्याले विशेष गरी गर्भवती ,सुत्केरी महिला, बालबालिका तथा वृद्धवृद्धाहरू निकै मर्कामा परेका छन् ।

अधिकांश तामाङ समुदायको बसोबास रहेको उक्त गाउँमा स्वास्थ्य केन्द्र नभएकाले अधिकांश बिरामीले धामीझाँक्री लगाउने गरेका छन् । ‘स्वास्थ्य चौकीको अभावले गर्दा गाउँलेहरू अन्धविश्वासमा भर पर्न थालेकाले गाउँमा सहयोग जुटाएर बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी स्थापना गर्न लागेका छौं,’ निर्माण समितिका संयोजक तामाङले भने, ‘करिब १५ लाख रुपैयाँ चन्दा संकलन गरेर गाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिछाड्छौं ।’

गाउँपालिकाले पनि केन्द्र स्थापना गर्ने आश्वासन दिएको स्थानीयवासीले बताएका छन् । सामान्य सिटामोल या प्राथमिक उपचारका लागि घण्टौं धाउन नपरोस् भन्ने अभिप्रायले प्रत्येक घरधुरीबाट रकम संकलन गर्दै विभिन्न सहयोगी मनहरूलाई सहयोगका लागि आह्वान गर्दै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने अभियानमा स्थानीय समाजसेवीहरू जुटेका छन् । कम्तीमा १५ लाख रुपैयाँ संकलन गरेर केन्द्र स्थापना गर्ने उनीहरूको लक्ष्य छ । ढिलोमा कार्तिकसम्म उक्त रकम संकलन भइसक्ने उनीहरूको अनुमान छ ।

बर्थिङ सेन्टर स्थापना
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयवासीहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ३ वटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा बर्थिङ सेन्टर स्थापना गरेको छ ।

गढी गाउँपालिका–६ को डुम्रेकुना, ३ को मक्रान्चुल, ४ को कालीखोलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । गढी गाउँपालिकाले १ नम्बर वडाको रानीसेरामा बर्थिङ सेन्टर स्थापना गरेको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?