कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नुवाकोट सम्पदा गाउँ

टुँडिखेल (नुवाकोट) — ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा बोकेको नुवाकोटलाई सम्पदा गाउँ बनाउन स्थानीय लागिपरेका छन् ।

नुवाकोट सम्पदा गाउँ

भूकम्पले तहसनहस भएको पुरानो सदरमुकाम नुवाकोट डाँडालाई परम्परागत शैलीका घर निर्माणमा जोड दिइएको छ । ४ सय २० धुरीलाई सम्पदा गाउँ बनाउने उद्देश्यले स्थानीय समिति नै गठन गरिएको छ । उनीहरूले घर बनाउँदा पुरानो शैलीलाई कायम राख्नुपर्ने र रातो रंगको झिंगटी आकारका जस्तापाताले छाउन सुझाएका छन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक थलो नुवाकोटलार्य पुन: पुरानै अवस्थामा ल्याउन यसो गरिएको पर्यटन व्यवसायी सुमन पाण्डेले बताए । ‘परम्परागत घर निर्माणले सम्पदा गाउँ बनाउन सकिए दैनिक १ देखि ५ हजार पर्यटक आउने छन्,’ उनले भने ।

पुरानो सदरमुकाम नुवाकोटमा नेपाल एकीकरण थालनी गरेका गोरखाली राजा पृथ्वीनारायण शाहले बनाएको नौतले र हाल साततल्ले दरबार, मल्लकालीन रंग महल, गारदघर, शक्तिशाली देवीपीठ भैरवी मन्दिर, ठूलो घण्टा, लामपाटी, शीतलपाटी, सरस्वती मन्दिर, बूढीभैरवी, खाल्टादेवी, लिच्छवीकालीन तलेजु भवानीका मन्दिर मुख्य आकर्षणका धरोहर हुन् ।

दरबार, पृथ्वीनारायणका पालामा सैनिक परेड खेल्ने टँुडिखेल, कालिका र मालिका मन्दिर, मानदेवकालीन कालभैरव मन्दिर, तोपखाना, सरस्वतीथानस्थित अंशु वर्माकालीन चैत्य, गणेश मन्दिर, मञ्जुश्रीको मूर्तिलगायत ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाले यहाँको महत्त्व अझ बढाएको हो ।

त्यसो त नुवाकोट डाँडाबाट गणेश र लाङटाङ हिमाल दृश्यावलोकन पर्यटक तान्ने अर्को महत्त्वपूर्ण पाटो बनेको छ ।

तल धान खेत, बट्टार, माझीटार, पीपलटार, बागटार, हरियाली डाँडाकाँडा देखिन्छन् । भूकम्पपछि ती सम्पदालाई नष्ट हुनबाट बचाउन स्थानीय लागिपरेका छन् । पुनर्निर्माण हुँदै गरेका घरलाई परम्परागत ढाँचामा बनाउन एकरूपता दिन सम्पदा गाउँ लागिपरेको स्थानीयले बताए ।

एकै किसिमका घर भए पर्यटन भित्र्याउन र होमस्टे चलाउने लक्ष्यका साथ काम भइरहेको वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । गाउँलेको महान् उद्देश्यमा नगरको साथ र सहयोग रहने प्रमुख सञ्जु पण्डितले बताए ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?