सिन्धुपाल्चोक — पुर्ख्याैली खेत पहिरोले बगाएपछि बाह्रबीसे नगरपालिका गाती सिर्गाचेका बेलबहादुर श्रेष्ठले उब्जनी लगाउन पाएका छैनन् । खेती गरेर परिवार धानिरहेका भास्सिएर खोलामा मिल्दै छ ।
भास्सिएको जग्गा पनि माथिबाट खसिरहेको डाँडाको पहिरोले पुर्न थालेपछि उनको बिचल्ली भएको हो । श्रेष्ठको बाँच्ने आधार यही खेत थियो ।
‘खेत पूरा फाटिरहेको छ, माथिबाट सुक्खा पहिरो ओइरिरहन्छ, दु:ख गरेर खानेलाई प्रकृतिले पनि सतायो,’ श्रेष्ठले भने, ‘अन्नपात उमार्ने ठाउँ नभएपछि हाम्रो त हाहाकार नै मच्चिएको छ ।’ खेतमा उत्पादन भएको तरकारी र अन्न बेचेर उनीहरूले जीवन यापन गर्दै आएका थिए ।
‘अब कसरी के गरेर बाँच्ने हो, भगवान जानुन्, छाक टार्ने बाटो त पहिरोले खायो,’ उनले भने । अरू स्थानमा जग्गा किन्न पैसा नभएको र पहिरोले खेत बगाएपछि मर्नु नै भएको भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पुका सुरबहादुर तामाङले बताए । त्यहीँ उब्जेको तरकारी बजारमा बेचेर परिवारमा बिहानबेलुका जोहो गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘अब त खेतै नरहने भो के गरी खाने ?’
ऋण लिएर काम गर्न पनि बैंक र सहकारीले नपत्याएको उनले सुनाए । सुरबहादुर भन्छन्, ‘पहिरोको जोखिममा परेको जग्गालाई कसरी पैसा दिनु भन्छन् ।’ असार २१ को भोटेकोसी बाढीले तहसनहस बनाएको तातोपानी क्षेत्र अझै तंग्रिन सकेको छैन ।
बेलबहादुर र सुरबहादुरजस्ता जिल्लाका धेरै कृषकलाई बर्खाले झनै पीडा दिएको छ । पुस्तौंपिच्छे काम गरेर खाइरहेको जमिन भास्सिएपछि यहाँका कृषकलाई आयआर्जनमा समस्या भएको छ ।
कृषकले लगाएका अन्नबालीसमेत पहिरोसँगै बगाएपछि जिल्लाभर समस्या व्यापक बन्दै गएको छ । भएको खेत धाँजाधाँजा फाटेपछि विपन्न कृषक बिल्लीबाठ हुन पुगेको जिल्ला भूमि अधिकार मञ्चका माधव ढकालले बताए । ‘ऋण लिएर व्यवसाय गर्नसमेत बैंक या संस्थाले नपत्याएपछि रनभुल्लमा परेको कृषक अन्योलमा देखिन्छन्,’ ढकालले भने ।
भोटेकोसी गाउँपालिकाको तातोपानी, मार्मिङको चाकु बजार, फुल्पिङकट्टी झिर्पु हिन्दी बजार, बाह्रबीसे नगरपालिकाको गाती जम्बुसम्मका कोसी तटीय क्षेत्रका सात हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन फाटेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।
‘थप बुझिरहेका छौं, जमिनबारे यकिन तथ्यांक पाइसकेका छैनौं,’ भूसंरक्षणका निमित्त प्रमुख प्रदीपनारायण श्रेष्ठले भने, ‘सात हजारभन्दा बढी खेतीयोग्य जमिन फाटेको छ, बस्ती नै बगेको छ ।’ जमिन पहिरोले बगाएपछि सीमावर्ती र कोसी तटीय क्षेत्रका कृषकलाई समस्यै समस्याले घेरेको उनले बताए ।
बस्तीभर पहिरो लागेकाले पूरा सर्वेक्षण गर्न नसकेको उनले जनाए । हालै भूसंरक्षण कार्यालयले गाउँमै पुगेर तथ्यांक लिइरहेको उनले प्रस्ट्याए । नगरक्षेत्रका २३ कृषकलाई विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार सहयोग गरेको बाह्रबीसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताइन् । ‘घट्ट र खेत बगाएका कृषकको क्षति हेरेर जम्माजम्मी यति सहयोग गरेका छौं,’ उनले भनिन् ।
प्रकाशित : भाद्र १, २०७५ ०८:०५