जनप्रतिनिधि र प्राविधिकबीच विवाद

टीकाप्रसाद भट्ट

रामेछाप — भुकम्पले भत्काएको घर पुननिर्माणको क्रममा रामेछापका जनप्रतिनिधि र प्राविधिकहरुविच सधैं रडाको मच्चिने गरेको छ ।


रडाको मच्चिने विषय हुन् – फलानोको घर ५ पटक गुनासो गर्दा पनि अनुदान पाउने लाभग्राहीमा परेन, घरै छैन मर्मत गर्ने सूचिमा पर्‍यो, पर्नुपर्ने अझै परेन, पहिले बनेका घर किन पास भएनन?

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले निर्णय गरेर लाभग्राही विभाजन हुने काम भएपनि जिल्लाका जनप्रतिनिधिहरुले उक्त कुरामा बुझ पचाएर प्राधिकरणको तल्ला निकायका अधिकारीहरुमाथि खनिने गर्छन्।

सोमबार पनि त्यस्तै भयो। प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवनका जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुखमाथि जनप्रतिनिधिहरु जाइलागे।

वडा तहमा निर्वाचित हुने जनप्रतिनिधिको कुरा छाडौं, जिल्ला पुननिर्माण समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का नै प्राधिकरणको कार्य प्रति रोष पोख्दै सबैलाइ सुविधा दिनुपर्ने कुरामा जंगिए।

ट्रान्सपरेन्सी इन्टरनेशनलले रामेछापमा पुननिर्माणमा भइरहेको कार्यको बारेमा छलफल गर्न बोलाएको बैंठकमा हंगामा भएपनि प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप नै गरे। कतिपय नितिगत समस्याको विषय जिल्लामा उठाएर समय बर्वाद गर्नु सिवाय केही नहुने भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बरु नितीगत तहमा सुधार्नुपर्ने कुरा निर्णय गरेर प्राधिकरणमा पठाउन आग्रह गरे।

प्रजिअ शर्माले जनप्रतिनिधिहरुले कर्मचारीलाई दोष थुपारेर आफु उम्कने काम राम्रो नभएको भन्दै सबै उत्तिकै उतरदायि र जवाफदेही हुनुपर्ने बताए। 'कर्मचारीका मात्र दोष छैनन’ शर्माले भने, 'जनप्रतिनिधिले गरेका थुप्रै कामको गुनासो हामीकोमा आउने गर्छन्।' उनले कर्मचारी र जनप्रतिनिधि दुवैको दायित्व नागरिकको सेवा गर्ने भएकाले पदमा रहुन्जेल एकअर्को पक्षसंग समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए।
प्राधिकरणले स्वीकृत गरेको कार्यविधि विपरीत घर निर्माण गरेका लाभग्राहीहरुले किस्ता उपलब्ध नगराएको गुनासो जनप्रतिनिधिहरुलाई गर्ने र त्यसको झोकमा प्राविधिकहरु पर्ने गरेका हुन्।

तर त्यस्ता घर स्वीकृत गर्नका लागि सरकारले तोकेको मापदण्ड र कार्यविधिले नमिल्ने भन्दै त्यसका लागि नितिमा सुधार आवश्यक भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना प्रमुख परिक्षित कडरियाले बताए।

'मापदण्ड नै नपुगेका घरलाई अनुदान किस्ता उपलब्ध गराउने निति र सो अनुरुप निरीक्षण फाराम बनाएर प्राधिकरणले पठाउछ भने हामी दिन्छौँ’ कडरियाले भने, 'हैन भने कानुनलाइ नाघेर कसोरी दिउँ।

उनले निर्धारित मापदण्ड बमोजिम जिल्लाका करिब ९० प्रतिशत घरलाइ अनुदान उपलब्ध गराउन सिफारीस गरेको र केहि गर्ने क्रममा रहेको उल्लेख गरे।

प्रकाशित : श्रावण २८, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले बगाएर मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — हनुमन्ते खोलामा आएको बाढीले बगाएर मध्यपुर थिमिमा एकजनाको मृत्यु भएको छ ।

अबिरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले बगाएर बनेपा नगरपालिका–१४ घरभई भक्तपुर–१० कमलविनायक भत्केको पाटी बस्ने ४२ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङको शव मध्यपुर थिमि–४ चाणक्य कलेज पछाडिको हनुमन्ते खोलामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्