जुट्न सकेन सहमति

कान्तिपुर संवाददाता

हेटौंडा — प्रदेश नियमावली संशोधन गर्न गठित समितिले काम टुंग्याउन सकेको छैन । सत्ता र प्रतिपक्षबीच विषयवस्तुमा सहमति भएको भनिए पनि अन्तिम रूप दिन सकिएको छैन ।

समिति संयोजक एवं नेकपा सांसद रामेश्वर फुँयालले आइतबार औपचारिक बैठक बसेर अन्तिम रूप दिने बताए । ‘आइतबार बैठक बोलाएका छौं, सोही बैठकमा नियमावलीलाई अन्तिम रूप दिन्छौं,’ उनले भने, ‘सबैलाई समेटेर सकेसम्म सर्वसम्मत गरिने छ ।’ प्रदेशसभामा विषयगत समितिको संख्या थप गर्नेबारे सत्ता र प्रतिपक्षबीच सहमति हुन नसकेपछि अन्तिम रूप पाउन सकेको छैन । सत्तापक्षले समितिको संख्या ९ पुर्‍याउने प्रस्ताव ल्याएपछि प्रमुख विपक्षी कांग्रेस र विवेकशील साझा पार्टीले विरोध जनाएका थिए ।

समिति सदस्य रहेका कांग्रेस प्रमुख सचेतक राधा घलेले विषयवस्तुमा मतभेद नभए पनि अन्तिम रूप दिन बाँकी रहेको बताइन् । ‘समिति संख्या थप्दा प्रदेशलाई व्ययभार थपिने र आवश्यक पनि नभएकाले मान्न नसक्ने बतायौं,’ उनले भनिन्, ‘हाम्रो अडानपछि उहाँहरू छलफल गर्न तयार हुनुभएको छ, सहमतिमै टुंग्याउने कुरो छ ।’ विवेकशील संसदीय दलका नेता रमेश पौड्यालले समितिको संख्या थप गर्ने विषयमा अझै निर्णयमा नपुगेको बताए ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकताबाट बनेको नेकपा तत्कालीन दलका प्रमुख सचेतक, सचेतकको व्यवस्थापनका लागि समितिको संख्या थप गर्ने पक्षमा थियो । संसदीय समितिको कार्यक्षेत्रबारे स्पष्ट किटानी नभएको बुँदामा टेकेर सत्तापक्ष समिति टुक्रयाएर थप गर्ने पक्षमा थियो । संसदीय समितिको कार्यक्षेत्रबारे स्पष्ट किटानी नभएको, नेपालका प्रधानमन्त्री तथा राष्ट्रपतिलगायत महत्त्वपूर्ण व्यक्तिहरूबाट प्रदेशसभालाई हुने सम्बोधनको व्यवस्था स्पष्ट नरहेको उनको भनाइ छ ।

यस्तै, सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएपछि सम्बन्धित मन्त्रीको जवाफबाट समाप्त हुने प्रावधान अपूर्ण रहेको, राजस्व तथा व्ययको अनुमान प्रस्तुत गरिसकेपछि पनि छुट्टै बैठकमा टेबल गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फैलँदै बोलबम

शिल्पा कर्ण

काठमाडौँ — टेलाल साहका कान्छा छोरा अहिले नेपाल प्रहरीको असई छन् । भर्खरै ‘पासआउट’ भए । उनी आमाको पेटमा छँदा साहले पहिलोपल्ट सुन्दरीजलबाट जल भरेर पशुपतिनाथलाई चढाएका थिए ।

९ वर्षदेखि लगातार बाबाधाम गइरहेका उनी त्यस वर्ष भने जान पाएनन् । त्यसयता पशुपतिनाथलाई हरेक वर्ष जल चढाउने गरेका छन् ।

२३ वर्षअघि श्रीमती सुत्केरी हुने समय नजिक आइरहेको थियो । उनलाई एक्लै काठमाडौंमा छाडेर शिवको दर्शन गर्न भारतको झारखण्ड राज्यस्थित ‘देवघर’ जान साहको मनले मानेन । बाबाधाम वा ‘ठूलो बाबाधाम’ सम्म पुगेर जल चढाएर आउँदा साता, १० दिन लाग्ने निश्चित नै थियो । साउने सोमबारमा बाबाधाममा जल चढाउनेको लाइन किलोमिटरमा हुन्छ । एकै दिनमा लाखौंले शिवलाई जल चढाउँछन् ।

सुत्केरी हुने मिति नजिकिँदै गर्दा २ छोरासहित श्रीमतीलाई घरमा छोडेर जाने हिम्मत भएन । ‘मलाई माफ गरिदिनु । मैले यसपालि तपाईंलाई जल चढाउन सकिनँ मनमनै भनेँ,’ बौद्धमा भाँडाको व्यापार गर्ने उनले थपे, ‘तर जहाँको भए पनि शिव त शिव नै हुन् भनेर सुन्दरीजलबाट पशुपतिमा जल चढाउँछु भनेँ ।’

एक्लै थिएँ, जल लिएर फर्किंदा । बाटोमा गेरुवा रङमा जल लिएर खाली खुट्टा हिँड्दै गरेका उनलाई धेरैले प्रश्न सोधेछन्, के गर्न लागेको भनेर । उनले सबैलाई आफूले बाबाधाममा झैं पशुपतिनाथलाई जल अर्पण गर्न लागेको भनेपछि, ‘हामीलाई पनि भनेको भए हामी पनि जाने थियौं नि’ भन्ने जवाफ पाए । यसले उनलाई हौस्यायो । ‘२०५२ साल साउनको कुरा हो यो,’ पर्सा पुख्र्यौली घर भएका ५४ वर्षीय साहले सम्झे, ‘के भो त, एउटा सोमबार अझै बाँकी छ, मिलेर जाउँm न त । मैले प्रस्ताव राखेँ, सबै सहमत भए ।’


त्यसबेला १०/११ जनाको समूहले आफैं गेरुवा/रातो/पहेँलो वस्त्र, काँवरको व्यवस्था मिलाए । सुन्दरीजलबाट जल भरेर पशुपतिमा चढाए । अर्को वर्ष यो संख्या ३६ पुग्यो । गोकर्ण छेउको पीपल चौतारीमा बसेर सबैजनाले थोरैथोरै पैसा हाले । प्रसाद, जल छोप्न कपडालगायतका सामग्री किनेको सम्झना ताजै छ । केही पैसा उब्रियो, अर्को वर्ष यसलाई खर्च गर्ने सबैबीच सहमति भयो ।

त्यसबेला बढी भएको ७८ मा २ रुपैयाँ थपेर ४० वटा पम्प्लेट छापियो । प्रचार प्रसारपछि जल चढाउने काँवरिया २ सय ५० पुगे । सुन्दरीजलस्थित ओखरेनी स्कुल टहरामा थियो । त्यहीँ सबैको खाने, बस्ने प्रबन्ध मिलाइयो । त्यसपछिका वर्षमा संस्था दर्ता गरी विधिवत् रूपमा काँवरियाका लागि प्रबन्ध मिलाउने व्यवस्था गरियो । दाता र श्रद्धालुबाट पैसा उठाएर सुन्दरीजलमा खाने, बस्ने प्रबन्ध मिलाइन्छ ।

सुन्दरीमाईको मन्दिरमाथि त्रिवेणी छ । अर्थात् ३ नदी मिल्ने स्थान छ र वाग्मतीसम्म यहीँबाट पानी जान्छ । त्यसैकारण पशुपतिलाई चढाउन यहाँको जल पवित्र मानिन्छ । भारतको बोलबम जाँदा समय, खर्च बढी लाग्छ, टाढा पर्छ । यहाँ गए एकैदिनमा जल चढाउन सकिन्छ ।

बोलबम काँवरिया संघका नरेन्द्र ठाकुरको अनुभवमा साउनको पहिलो सोमबार ५० हजारभन्दा बढीले पशुपतिमा जल चढाउँछन् । त्यसपछिका सोमबारमा २५/३० हजार श्रद्धालु हुन्छन् । उनी सम्बद्ध उक्त संस्थाले पशुपति विकास कोषसँगको समन्वयमा यस वर्षको पहिलो सोमबार अर्थात् १३ गतेका लागि सबै काँवरियाको खाने र बस्ने व्यवस्था मिलायो । ‘त्यहाँ आइतबार अपराहनदेखि नै मान्छे ओखरेनी स्कुलमा भेला हुन थाल्छन् । राति कलाकार बोलाइ भजन गाउने र एकाबिहानै स्नान गरी जल चढाउन जान्छन्,’ ठाकुरले भने ।

अहिले भारी संख्यामा आउने काँवरियालाई व्यवस्थापन गर्न सुन्दरीजलमा ४ समिति सक्रिय छन् । सबैको प्रबन्ध मिलाउन हम्मेहम्मे पर्छ । उपत्यकामा बस्ने मधेसी समुदायका साथै तराईका जिल्ला र भारतबाट समेत श्रद्धालु पशुपतिनाथलाई जल चढाउन आउने गर्छन् । उपत्यकाका छिमेकी जिल्ला काभ्रे, चितवन र मधेसका धेरै जिल्लाबाट पशुपतिनाथमा जल चढाउनेको संख्या बर्सेनि बढ्दो छ । यसमा महिला ४० प्रतिशतसम्म सहभागी हुने संघसम्बद्ध व्यक्तिहरूको अनुभव छ ।


तर काँवर, पहेँलो वा सुन्तला रङका वस्त्र आदिको व्यवस्था उपत्यकामा गर्न सकिन्छ त ? जवाफमा ओम् बोलबम काँवरिया संघका महासचिव जयप्रकाश ठाकुर पूजा सामग्रीभन्दा श्रद्धा ठूलो कुरा हुने बताउँछन् । ‘काँवर यहाँ पाइन्न । केहीले आ–आफ्नो गाउँबाट काँवर बोकेरै आउँछन्,’ उनी भन्छन्, ‘यहाँ भारतबाट प्लास्टिकका बट्टा आउँछ । त्यसैमा जल भरेर लान्छौं ।’ बोलबम जान चाहिने सामग्री अचेल सुन्दरीजलमै भेटिन्छ ।

यस्ता व्यवस्थापन संघ दाताका भरमा चलेका छन् । शिवलाई जल चढाउन जाने, बोलबम, डाक बम र डन्डी बम हुन्छन् । बोलबमले सामान्य रूपमा जल भरेर पशुपतिनाथलाई चढाउँछन् भने डाक बमले जल बोकेपछि खुट्टा रोक्न मिल्दैन । जल नचढाएसम्म गोडा चलाइरहनुपर्छ । यस्तै जल लिएर आउनेबेला आफ्नो जीउ नाप्दै, जमिनमा घस्रेर जल चढाउन आउनेलाई डन्डी बम भनिन्छ ।

एक समय थियो, जब ‘काँवरिया संस्कृति’ उपत्यकाको मधेसी समुदायमा मात्र सीमित थियो । तर अब छठ पहाडमा र भाइटीकाको विधि मधेसमा देखिन थालेझैं मधेसी र पहाडी दुवै समुदायको सहभागिता रहने गरेको छ । पशुपति विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगाना भन्छन्, ‘पशुपतिमा बोलबम संस्कृति विस्तार भएको झन्डै १५ वर्षजति भयो । अहिले पहाडी मूलका मान्छेको पनि उत्साहजनक सहभागिता हुने गरेको छ ।’ व्यवस्थापनमा संलग्न संस्था २५ देखि ३० प्रतिशत पहाडी बोलबममा सहभागी हुने बताउँछन् ।

कोषले काँवरियाका लागि सोमबार पश्चिमी गेट खोलिदिने गरेको छ । डाक बमका लागि लाइन बस्नु नपर्ने नियम छ । काँवरिया संघलाई पाल र आश्रय स्थलका लागि आवश्यक स्थान कोषले दिने गर्छ । प्रत्येक सोमबार ३ स्वास्थ्य संस्थालाई नि:शुल्क स्वास्थ्य शिविर चलाउन दिइन्छ । नि:शुल्क औषधि वितरण गर्ने संस्थालाई पनि त्यहीं स्थान दिइने गरिएको छ । ‘यस वर्ष अलिक फरक देखिएको कुराचाहिँ बेलुका आरतीको समयमा १० हजारभन्दा बढी सहभागी हुन्छन् । त्यसपछि पनि हामीले दर्शनका लागि मन्दिर केहीबेर खुला राख्छौं,’ ढुंगानाले भने ।

सृष्टिको सुरुआतमा जलयुक्त पृथ्वीमा ब्रह्मा र विष्णुले तपस्या गरेपछि महादेवले पञ्चमुख स्वरूपमा दर्शन दिएको मानिन्छ । शिवरात्रि मनाइने उक्त रात त्यसैले विशेष छ । विष्णुले शिवको उक्त स्वरूपलाई शिवकै इच्छाअनुसार हिमालय पर्वत नजिक स्थापना गरे । परापूर्वकालको यो घटनापछि निप नामक गोठालोले विशिष्ट ज्योति देखेर उत्खनन गरेको र ऋषिमुनिले फेरि शिवको उक्त स्वरूपलाई मन्त्र र विधिद्वारा गर्भस्थ गरेको किंवदन्ती छ । त्यसपछि विभिन्न कालखण्डमा शिवको स्वरूप गर्भस्थ गरिएको उक्त स्थानमाथि मन्दिर बनाइएको बताइन्छ । पशुपतिनाथबाहेक यसरी लिंगमा पञ्चमुखाकृति भएको शिवको स्वरूप अन्यत्र नपाइने उपनिर्देशक ढुंगानाले बताए ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×