डल्ला परेको सिमेन्टले सडकमा ढलान- प्रदेश ३ - कान्तिपुर समाचार

डल्ला परेको सिमेन्टले सडकमा ढलान

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको धोबी–सैंपु सडक खण्डमा निर्माण व्यवसायीले डल्ला परेको काम नलाग्ने सिमेन्ट प्रयोग गरि ढलान गरेको खुलासा भएको छ । 

रामेछापको धोवी–सैपु सडकमा सडेर डल्ला परेको सिमेन्ट फुटाएर ढलान गर्दै निर्माण व्यवसायी । तस्बिर सौजन्य : पदमवहादुर तामाङ

डिभिजन सडक कार्यालय खुर्कोटसँग ठेक्का सम्झौता गरेको दिनेश निर्माण सेवाले सडेर डल्ला परेको सिमेन्ट घनले फुटाएर प्रयोग गरेको वडा अध्यक्ष पदमवहादुर तामाङले बताए । ‘फाल्नु पर्ने सिमेन्टलाई फुटाएर प्रयोगमा ल्याएकाले मैले कामको अनुगमनका लागि आग्रह गरेको छु,’ लिखु तामाकोशी गाँउपालिका–२ सैपुका वडा अध्यक्ष तामाङले भने ।


सदरमुकाम देखि झण्डै ३० किलोमिटर पूर्वोत्तरमा पर्ने उक्त सडक खण्डमा निर्माण व्यवसायीले लापरवाही गरेको जानकारी सडक डिभिजन कार्यालय खुर्कोटमा समेत पुगेको छ । डिभिजन प्रमुख राकेश महर्जनले निर्माण व्यवसायीले गम्भीर त्रुटी गरेकोले उक्त कामको भुक्तानी रोकेर नयाँ काम गराउने बताए । कार्यस्थलमा प्राविधिक नभएको मौका छोपेर निर्माण व्यवसायीले उक्त कार्य गरेको महर्जनले वताए ।


निर्माण व्यवसायी तिलक माझीले केही बोरा डल्ला परेको सिमेन्ट प्रयोग भएको बताए । सैपुका जनक पौडेलले डल्ला परेको सिमेन्ट फुटाएर गिट्टीको रुपमा प्रयोग गर्न सल्लाह दिएकोले उक्त कार्य गरेको माझीले बताए । तर डल्ला फुटाएर गिट्टी नभै धुलो बनाएर सिमेन्टकै रुपमा प्रयोग गरेको दाबी तामाङकाे छ ।


अघिल्लो वर्ष धोवीदेखि सैपुतर्फ जाने सडक कालोपत्रेको काम समेत गुणस्तरहीन भएको गुनासो आएको थियो । गतवर्ष कालोपत्रे गरेको सडक धेरै स्थानमा भत्किसकेको छ ।

प्रकाशित : श्रावण २२, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले पुल बगायो

रासस

मुस्ताङ — लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो ।

पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् । सांसद प्रेमप्रसाद तुलाचनले पुल निर्माणका लागि तत्कालै प्राविधिक खटाइने बताए ।

प्रकाशित : श्रावण २२, २०७५ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×