घरमाथि भासियो कहाँ जाने ?

घर बनाउने बस्ती नै सुरक्षित नभएपछि आवास निर्माण किस्ता बैंकमै थन्क्याएका छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका लिस्तीकोट पाउगुुम्बाकी सेलू तामाङ बर्खा लाग्नासाथ तर्सिन्छिन् । उनको बस्तीमाथिको पहाडी भूभाग बर्सेनि भासिएको छ । ०७२ को विनाशकारी भूकम्पपछि बर्खापिच्छै खसिरहने पहिरोले भागेर बाँचेकी उनले यो वर्ष पनि चैनको सास फेर्न पाइनन् ।

घरमाथि भासियो कहाँ जाने ?

जेनतेन भास्सिएको जग्गामा खनजोत गरेर घर चलाइरहेकी सेलू यो बर्खा भागेर कहाँ जाने भन्नेले पिरोलिन थालिरहेकी छन् ।

‘खै कहिले पाइएला सुरक्षित बास ? यत्तिकै भाग्दाभाग्दै लडेर मरिएलाजस्तो छ,’ सेलूले बस्तीतिर देखाउँदै भनिन्, ‘त्यो डाँडो खस्यो भने हामी कहाँ भाग्ने ?’ लिस्तीकोटगाउँबाट अन्यत्र जान कुनै ठाउँ नभएपछि जोखिममै बसिरहेको उनले सुनाइन् ।

‘अब पहिरोमुनि कसरी घर बनाउनु, आवास निर्माणको किस्ता त बैंकमै थन्काएको छु,’ उनले भनिन् । उनका अनुसार भूकम्पले पाउँगुम्बा टोलको भूभाग ६ फिट भास्सिएको छ । गत बर्खामा नोकाङडाँडाबाट ओइरिएको भल र पहिरो भास्सिएको खाल्डोमा पसेर झनै जमिन फाटिँदै गयो ।

भोटेकोसी गाउँपालिका दशकिलोका नोर्साङ शेर्पा यस्तै दोहोरो त्रासमा गाउँमै बसिरहेका छन् । ‘तलबाट बाढीले कटान गर्ने डर, माथिबाट खोल्सासँगै खस्ने पहिरो, बर्खाको समय डरमै बित्छ ,’ उनले भने । अविरल वर्षाका कारण बढेको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको बाँधस्थलबाट खोला फर्केपछि आधा जमिन भास्सिएको छ ।

माथिल्लो भेगमा बसिरहेका तामाङ र शेर्पा समुदायका ४५ परिवारको बस्ती भाँसिदै गइरहेको उनले बताए । भोटेकोसीभित्रको तातोपानीको दुगुना, फुल्पिङकट्टी, लिस्तीकोटको पाउँगुम्बालगायत दर्जनौं स्थान पहिरोले छियाछिया छन् । हुनेखाने राजधानी बसे पनि विपन्न वर्गका विस्थापित सुरक्षित जग्गाको अभावमा पहिरोमुनिकै गाउँ फर्केका छन् ।

‘हामी पहिरोमुनि नै बसिएको छ, कतै जान सुरक्षित स्थान पाइएन्,’ बाह्रबिसे नगरपालिका गाती माख्लो सिर्गाचेकी सरिता तामाङले सुनाइन् । बाह्रबिसे नगरपालिकाको गाती सिगार्चे, पलाती, घुम्थाङको डाँडागाउँ पहिरोले क्षतविक्षत गरेको छ । जुगल गाउँपालिकाको सेलाङ, गुम्बा, बतासेदेखि पाङताङबाट आएका विस्थापित पहिरोले तहसनहस भएकै स्थानमा फर्किन थालेका छन् ।

जिल्लाका ग्रामीण भेगका केही विस्थापित घर बनाउन थाले पनि अधिकांश टहरामै रहेको गाउँमा पुगेका इन्जिनियरले बताए । पहिरोले तहसनहस स्थानका भूकम्पपीडितले घर बनाउने जग्गा नहुँदा अनुदान खर्चिएका छैनन् ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?