कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भूकम्पपीडितलाई संयुक्त पुर्जा

जोखिमयुक्त बस्तीकालाई स्थानान्तरण
प्रताप विष्ट

हेटौंडा — मकवानपुर राक्सिराङ गाउँपालिकाका भूकम्प प्रभावित ८ परिवारले मंगलबार दम्पतीका नाममा जग्गाधनी पुर्जा लिएका छन् । राक्सिराङ गाउँपालिकाका–४ पञ्जनीका ४ र ७ का ४ पीडित परिवारलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण जग्गा दिइएको हो ।

भूकम्पपीडितलाई संयुक्त पुर्जा

०७२ को विनाशकारी भूकम्पका कारण भौगोलिक रूपमा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने भनी प्राधिकरणले निर्धारण गरेको मकवानपुरका १४ परिवारमध्ये १० का लागि जग्गा खरिद गरिसकेकाले ८ परिवारलाई जिसस प्रमुख रघुनाथ खुलालले संयुक्त जग्गाधनी पुर्जा प्रदान गरेका हुन् ।


राक्सिराङ गाउँपालिका र जिल्ला आयोजना कार्यान्वयन इकाई आयोजना तथा दिगो समाधान परियोजनाको सहजीकरणमा स्थानान्तरण गर्न जग्गा प्रदान गरिएको हो । ८ लाभग्राहीमध्ये ४ लाई मनहरीको चैनपुर र ४ लाई मनहरीकै सुनाचुरीमा जग्गा खरिद गरिएको छ । संयुक्त लालपुर्जा पाउने भूकम्प प्रभावितमा राक्सिराङ ७ काँकडाका राममाया/आकाश चेपाङ, साइला/साइली चेपाङ, अरुण/निरमाया चेपाङ, किरणबहादुर/लालमाया चेपाङ रहेका छन् ।

उनीहरूलाई मनहरीको सुनाचुरीमा जग्गा उपलब्ध गरिएको छ । यसैगरी, राक्सिराङ ४ पजनीका अमरबहादुर मुक्तान, कुवेर मुक्तान/विष्णुमाया थिङ, हरिराम/ठूलीमाया चेपाङलाई मनहरीको चैनपुरमा संयुक्त लालपुर्जा दिइएको छ । प्रत्येक परिवारलाई १०/१० धुर १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्मको जग्गा खरिद गरिएको थियो । लाभग्राहीका पतिपत्नीका नाममा संंयुक्त लालपुर्जा बनाइएको छ । जग्गा खरिद गर्न रकम जिल्ला आयोजना कार्यान्वयन इकाईले उपलब्ध गराएको हो ।


लालपुर्जा लिँदै राक्सिराङ ७ की राममाया चेपाङ ढिला भए पनि सुरक्षित ठाउँमा बस्ने पाउने हुँदा खुसी जनाइन् । मकवानपुरमा भूकम्प प्रभावित जोखिम परिवार १४ मध्ये तीन परिवारको जग्गा खरिद गर्न बाँकी छ । १ लाभग्राहीको अन्यत्र घरसमेत बनाइसकेको आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमिल्सिनाले बताए ।


मकवानपुरमा ३१ हजार ८ सय १७ भूकम्प प्रभावित लाभग्राही रहेकामा हाल गुनासो फस्र्योटबाट १ हजार ४ सय ४३ पुन: थप भएर ३३ हजार २ सय ६६ पुगेको छ । तीमध्ये हालसम्म २५ हजार २ सय ८६ (७९ प्रतिशत) ले अनुदान सम्झौता गरेका छन् । जसमध्ये २४ हजार ३ सय ३० (९६ प्रतिशत) ले पहिलो किस्ताको रकम लिइसकेका छन् भने ७ हजार ९ सय ४८ (२६ प्रतिशत) ले मात्र तेस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता भुक्तानीका लागि ८ हजार ९ सय ७७ ले निवेदन दिएको तिमिल्सिनाले जनाए । हालसम्म जिल्लामा ७ हजार ८ सय ३५ घर पुनर्निर्माण भएका छन् ।

प्रकाशित : श्रावण १६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?