राहदानी बनाउने घटे

कान्तिपुर संवाददाता

हेटौंडा — रोजगारीका लागि डेढ वर्षअघि कतार जान कस्सिएका भीमफेदी गाउँपालिका भैंसेका २१ वर्षीय तकबहादुर दोङ गाउँमै कुखुरा पालेर बसेका छन् ।


स्थानीय तह चुनावअघि उनी विदेश जाने तयारीमा थिए । चुनावपछि भने उनलाई विदेशको मोह हरायो । गाउँमै अहिले उनले ब्रोइलर जातका हजार कुखुरा पालेका छन् । गढी गाउँपालिका बूढीचौरका २२ वर्षीय सुन्दर भोम्जन पनि स्थानीय तह चुनावपछि गाउँमै केही गर्ने भन्दै विदेश जानबाट रोकिए । कृषि विकास कार्यालयको सहयोगमा उनले प्लास्टिकका ३ टनेल बनाएर व्यावसायिक गोलभेंडा खेती गरिरहेका छन् । २ लट गोलभेंडा बिक्री गरिसकेका उनले आम्दानी राम्रैहुने बताए ।

स्थानीय तहको चुनावसँगै युवाहरूमा विदेश जाने मोह घट्दै गएको छ । ‘रोजगारीका लागि विदेश जान पासपोर्ट बनाएकाहरू पनि जनप्रतिनिधि बनेका छन्, कोही विभिन्न उद्यम गरी बसेका छन्,’ गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले भने ।

युवाहरूमा स्थानीय तहप्रति भरोसा पलाएको छ । जसका कारणले जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने आउनेको संख्या पनि बर्सेनि घटिरहेको छ । आव ०७२/७३ मा मकवानपुरबाट १६ हजार ७ सय ५० जनाले राहदानी बनाएका छन् । तीमध्ये ३ हजार ७ सय महिला छन् । आव ०७४/७५ राहदानी लिनेको संख्या साढे ६ हजार घटेको छ । कार्यालयका अनुसार आव ०७४/७५ मा १० हजार २ सय ५ जनाले मात्र राहदानी लिएका छन् । ‘२ वर्षमा राहदानी लिनेको संख्या ६ हजार ५ सय घटेको छ,’ प्रजिअ चक्रबहादुर बूढाले भने, ‘गाउँमै रोजगारी पाइन्छ, कमाउन विदेश जानु पर्दैन भन्ने युवाहरूमा आशा पलाएको छ ।’

आव ०७३/७४ मा ११ हजार ३ सय ४४ जनाले राहदानी बनाएका थिए । ९९ प्रतिशतभन्दा बढी राहदानी वैदेशिक रोजगारीमा जान बनाउने गरिन्छ । ‘३ वर्षको अवस्था हेर्दा राहदानी बनाउनेको संख्या घटदै गएको छ,’ समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले भने, ‘मुलुकमै अब केही हुन्छ भन्ने विश्वास पलाएको छ, त्यो विश्वासलाई जनप्रतिनिधिहरूले व्यवहारमा प्रमाणित गर्नुपर्छ ।’

जिल्लाका १० स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिमध्ये ५० भन्दा बढी रोजगारीका लागि विदेश जानलाई पासपोर्ट बनाएर बस्नेमध्येका थिए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सालक तस्करी बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको शंखपार्क अगाडिबाट गत असार २२ गते दुई व्यक्ति जीवित सालकसहित पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चन्द्रागिरिका २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोलाका ३१ वर्षीय दुर्गाबहादुर विकलाई सालक बेचबिखन गर्न हिँडिरहेको समयमा पक्राउ गर्‍यो ।

मंगलबार ब्युरोकै टोलीले गोरखा घर भएका २८ वर्षीय टेकबहादुर गुरुङ र पाल्पाका ३५ वर्षीय प्रेमबहादुर थापामगरलाई नियन्त्रणमा लिई जीवित सालकको उद्धार गर्‍यो । सोही दिन सालक मारेको अभियोगमा प्रहरीले ३५ वर्षीय राजेन्द्र मिजारलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लियो ।

उनले मादक पदार्थ सेवन गरेको अवस्थामा झगडा गर्दा आफूले सालक मारेको बयान दिएका थिए । प्रहरीले सोधपुछ गर्दा उनले भनेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको उक्त स्थानबाट १९ वटा ससाना हड्डी भेटिएका थिए । मिजारलाई बुधबार निकुञ्जमा बुझाइएको बूढानीलकण्ठ प्रहरी प्रभागले जनाएको छ । उक्त हड्डी सालकको बच्चाको भएको प्रहरी अनुमान छ ।

बच्चाको मृत्युदर निकै बढी भएको लोपोन्मुख सालकको संख्या घट्दो छ भने तस्करी बढ्दो रहेको प्रहरी र वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत बताउँछन् । यसले गर्दा सालकको संरक्षणको आवश्यकता रहेको उनीहरूको ठम्याइ छ ।

जिल्ला वन कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत वासुदेव पोख्रेलले तुलनात्मक रूपमा यस आर्थिक वर्षमा सालक बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा केही बढी रहेको बताए । वन कार्यालय काठमाडौंले २०७४/७५ मा सालकको बिक्री तथा अखेटोपहारसम्बन्धी ५ वटा मुद्दा अदालत गएको र १३ वटा दर्ता रहेको जनाएको छ ।

तथ्यांक हेर्दा सालक र त्यसको अखेटोपहार बिक्रीवितरणमा संलग्न धेरैजसो जंगल र राष्ट्रिय निकुञ्ज वरपरका नै व्यक्ति हुन्छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिएको भए पनि हामीले अहिलेसम्म किन्ने व्यक्तिसम्म पुग्न सकेका छैनौं । यसको र्‍याकेट नै छ, उनीहरू संगठित रूपमै वन्यजन्तुको सिकार र बेचबिखनमा संलग्न छन् ।’ उनले मृतभन्दा जीवित सालक बढी मूल्यमा बिक्री हुने गरेको बताए । यसको मासु खाने र खपटालाई सौन्दर्य प्रसाधन तथा अन्य विभिन्न प्रयोजनका लागि प्रयोग हुने गरेको छ ।

सालक एक स्तनधारी जनावर हो । झट्ट हेर्दा न्याउरीमुसाजस्तो देखिने यसको सम्पूर्ण शरीर खपटाले ढाकेको जस्तो देखिन्छ । बढीजसो अफ्रिकी मुलुकमा पाइने सालक एसिया महाद्वीपमा ४ प्रजातिको पाइन्छ । नेपालको समथर र पहाडी भूभागमा दुई किसिमका सालक भेटिएका छन् । नेपालमा चुरेको जंगल यसको प्रमुख बासस्थल मानिन्छ ।

घातक नमानिने यो वन्यजन्तुको मुख्य आहार धमिरा र जंगलका कीरा हुन् । खतराको आभास भएपछि गुटमुटिएर बस्ने यो जीवको मासु र खपटाका लागि बिक्री हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले नेपालमा भेटिने कालो (चिनियाँ) र भारतीय (रातो/तामे) मध्ये कालो प्रजाति अति संकटापन्न र भारतीयलाई लोपोन्मुख प्रजातिमा राखेको छ । यो नेपालबाट मात्रै होइन, विदेशबाट नेपाल हुँदै अर्को देश लान खोजिरहेको अवस्थामा पनि बरामद भएको छ ।

अफ्रिकी देश कंगोबाट टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै नेपाल ल्याइएको र चीन लान चाहिरहेको उनीहरूले बताएका थिए । कछुवा भन्दै ६ वटा सुटकेसमा सालकको खपटा चीन पुर्‍याउन चाहेका उनीहरूमाथि प्रहरीले संगठित अपराधको मुद्दा चलायो । नेपाल प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत तथा यसै विषयमा पीएचडी गरिरहेका अम्बिका खतिवडाका अनुसार सालक विश्वमै सबैभन्दा बढी बेचबिखन हुने गरेको वन्यजन्तु हो । गएको दशकमा विश्वमा १० लाखभन्दा बढी सालक मारिएको तथ्यांक छ ।

यसको मासु चीन र भियतनामजस्ता देशमा खाइन्छ भने नेपालमै पनि केही समुदायले खाने गर्छन् । उनले गरेको अध्ययनले नेपालमा सन् २०१० देखि २०१८ सम्ममा ७ सय ८४ किलोग्रामभन्दा बढी सालकको खपटा बरामद भइसकेको देखिन्छ । ‘एक वयस्क सालकबाट एकदेखि डेढ केजीसम्म खपटा निकाल्न सकिन्छ,’ खतिवडाले भने, ‘यसको ८० प्रतिशत शरीरमा खपटा हुन्छ । त्यसैले यसको चोरीसिकारी विश्वमै सबैभन्दा बढी हुन्छ ।’ चीनमा बढी प्रयोग हुने भएकाले नेपालको विमानस्थलका साथै उत्तरी नाकाबाट यसको तस्करी बढी भइरहेको हुन सक्ने उनको अनुमान छ ।

साइटिस महासन्धिले यसलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरेको छ । सालक जीवित वा मृत तथा अखेटोपहार वा कुनै अंग लिएर हिँडेमा, बिक्रीवितरण गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐनविपरीत अपराध गरेको मानिन्छ । अपराध पुष्टि भए ५ देखि १० लाख रुपैयाँसम्म कैद र ५ देखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुन सक्छ ।

नेपालबाट बेच्नेले सालकको खपटाको प्रतिकिलो ५० हजार रुपैयाँ पाउने गरी अवैध रूपमा बेच्ने गरेको देखिएको छ । चीनमा भने ५ लाख रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको बताइन्छ । चीनमा परम्परागत औषधि बनाउन पनि यसको प्रयोग गर्ने गरिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आव ०७३/७४ को प्रतिवेदनमा निकुञ्जसम्बन्धी १२ वटा मुद्दा दर्ता भई कारबाही प्रक्रियामा थिए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्