सालक तस्करी बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको शंखपार्क अगाडिबाट गत असार २२ गते दुई व्यक्ति जीवित सालकसहित पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चन्द्रागिरिका २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोलाका ३१ वर्षीय दुर्गाबहादुर विकलाई सालक बेचबिखन गर्न हिँडिरहेको समयमा पक्राउ गर्‍यो ।

मंगलबार ब्युरोकै टोलीले गोरखा घर भएका २८ वर्षीय टेकबहादुर गुरुङ र पाल्पाका ३५ वर्षीय प्रेमबहादुर थापामगरलाई नियन्त्रणमा लिई जीवित सालकको उद्धार गर्‍यो । सोही दिन सालक मारेको अभियोगमा प्रहरीले ३५ वर्षीय राजेन्द्र मिजारलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लियो ।

उनले मादक पदार्थ सेवन गरेको अवस्थामा झगडा गर्दा आफूले सालक मारेको बयान दिएका थिए । प्रहरीले सोधपुछ गर्दा उनले भनेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको उक्त स्थानबाट १९ वटा ससाना हड्डी भेटिएका थिए । मिजारलाई बुधबार निकुञ्जमा बुझाइएको बूढानीलकण्ठ प्रहरी प्रभागले जनाएको छ । उक्त हड्डी सालकको बच्चाको भएको प्रहरी अनुमान छ ।

बच्चाको मृत्युदर निकै बढी भएको लोपोन्मुख सालकको संख्या घट्दो छ भने तस्करी बढ्दो रहेको प्रहरी र वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत बताउँछन् । यसले गर्दा सालकको संरक्षणको आवश्यकता रहेको उनीहरूको ठम्याइ छ ।

जिल्ला वन कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत वासुदेव पोख्रेलले तुलनात्मक रूपमा यस आर्थिक वर्षमा सालक बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा केही बढी रहेको बताए । वन कार्यालय काठमाडौंले २०७४/७५ मा सालकको बिक्री तथा अखेटोपहारसम्बन्धी ५ वटा मुद्दा अदालत गएको र १३ वटा दर्ता रहेको जनाएको छ ।

तथ्यांक हेर्दा सालक र त्यसको अखेटोपहार बिक्रीवितरणमा संलग्न धेरैजसो जंगल र राष्ट्रिय निकुञ्ज वरपरका नै व्यक्ति हुन्छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिएको भए पनि हामीले अहिलेसम्म किन्ने व्यक्तिसम्म पुग्न सकेका छैनौं । यसको र्‍याकेट नै छ, उनीहरू संगठित रूपमै वन्यजन्तुको सिकार र बेचबिखनमा संलग्न छन् ।’ उनले मृतभन्दा जीवित सालक बढी मूल्यमा बिक्री हुने गरेको बताए । यसको मासु खाने र खपटालाई सौन्दर्य प्रसाधन तथा अन्य विभिन्न प्रयोजनका लागि प्रयोग हुने गरेको छ ।

सालक एक स्तनधारी जनावर हो । झट्ट हेर्दा न्याउरीमुसाजस्तो देखिने यसको सम्पूर्ण शरीर खपटाले ढाकेको जस्तो देखिन्छ । बढीजसो अफ्रिकी मुलुकमा पाइने सालक एसिया महाद्वीपमा ४ प्रजातिको पाइन्छ । नेपालको समथर र पहाडी भूभागमा दुई किसिमका सालक भेटिएका छन् । नेपालमा चुरेको जंगल यसको प्रमुख बासस्थल मानिन्छ ।

घातक नमानिने यो वन्यजन्तुको मुख्य आहार धमिरा र जंगलका कीरा हुन् । खतराको आभास भएपछि गुटमुटिएर बस्ने यो जीवको मासु र खपटाका लागि बिक्री हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले नेपालमा भेटिने कालो (चिनियाँ) र भारतीय (रातो/तामे) मध्ये कालो प्रजाति अति संकटापन्न र भारतीयलाई लोपोन्मुख प्रजातिमा राखेको छ । यो नेपालबाट मात्रै होइन, विदेशबाट नेपाल हुँदै अर्को देश लान खोजिरहेको अवस्थामा पनि बरामद भएको छ ।

अफ्रिकी देश कंगोबाट टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै नेपाल ल्याइएको र चीन लान चाहिरहेको उनीहरूले बताएका थिए । कछुवा भन्दै ६ वटा सुटकेसमा सालकको खपटा चीन पुर्‍याउन चाहेका उनीहरूमाथि प्रहरीले संगठित अपराधको मुद्दा चलायो । नेपाल प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत तथा यसै विषयमा पीएचडी गरिरहेका अम्बिका खतिवडाका अनुसार सालक विश्वमै सबैभन्दा बढी बेचबिखन हुने गरेको वन्यजन्तु हो । गएको दशकमा विश्वमा १० लाखभन्दा बढी सालक मारिएको तथ्यांक छ ।

यसको मासु चीन र भियतनामजस्ता देशमा खाइन्छ भने नेपालमै पनि केही समुदायले खाने गर्छन् । उनले गरेको अध्ययनले नेपालमा सन् २०१० देखि २०१८ सम्ममा ७ सय ८४ किलोग्रामभन्दा बढी सालकको खपटा बरामद भइसकेको देखिन्छ । ‘एक वयस्क सालकबाट एकदेखि डेढ केजीसम्म खपटा निकाल्न सकिन्छ,’ खतिवडाले भने, ‘यसको ८० प्रतिशत शरीरमा खपटा हुन्छ । त्यसैले यसको चोरीसिकारी विश्वमै सबैभन्दा बढी हुन्छ ।’ चीनमा बढी प्रयोग हुने भएकाले नेपालको विमानस्थलका साथै उत्तरी नाकाबाट यसको तस्करी बढी भइरहेको हुन सक्ने उनको अनुमान छ ।

साइटिस महासन्धिले यसलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरेको छ । सालक जीवित वा मृत तथा अखेटोपहार वा कुनै अंग लिएर हिँडेमा, बिक्रीवितरण गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐनविपरीत अपराध गरेको मानिन्छ । अपराध पुष्टि भए ५ देखि १० लाख रुपैयाँसम्म कैद र ५ देखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुन सक्छ ।

नेपालबाट बेच्नेले सालकको खपटाको प्रतिकिलो ५० हजार रुपैयाँ पाउने गरी अवैध रूपमा बेच्ने गरेको देखिएको छ । चीनमा भने ५ लाख रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको बताइन्छ । चीनमा परम्परागत औषधि बनाउन पनि यसको प्रयोग गर्ने गरिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आव ०७३/७४ को प्रतिवेदनमा निकुञ्जसम्बन्धी १२ वटा मुद्दा दर्ता भई कारबाही प्रक्रियामा थिए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

ट्रयाक्टर चलाउन रोक

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने ग्रामीण सडकमा ट्रयाक्टर सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । ट्रयाक्टरले सडक बिगारेकाले अन्य सवारीसाधन चल्न छोडेपछि गाउँपालिकाले त्यस्तो निर्णय गरेको हो ।

वर्षायामभरि उक्त निर्णय लागू हुने गाउँपालिकाले जनाएको छ । ठोसे–सिंगटी–बाम्ती सडकमा ट्रयाक्टरले पारेको खाडलका कारण यात्रुवाहक बस सेवा बन्द छ । सडकमा ट्रयाक्टरका ठूला टायरले ठुल्ठूला भड्खाला बनाएकाले अन्य साना सवारीसाधानसमेत चल्न छोडेपछि उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।

सुवेदीका अनुसार लोडर लगाएर हिलो पन्छाएपछि फोरह्वील साना सवारी सञ्चालन हुन थालेका छन् । ‘पहिले मोटरसाइकल पनि लान सकिँदैनथ्यो,’ सुवेदीले भने, ‘ट्रयाक्टर रोकेपछि फोरह्वीलसम्म सञ्चालन हुन थालेका छन् । तर गाउँपालिकाका कुनै पनि क्षेत्रमा यात्रुवाहक बस भने गुड्न सकेको छैन ।

काठमाडौंबाट बाम्ती, कुभुकास्थली र प्रीतिका लागि छुटेका बसहरू गोकुलगंगाका ठोसे र शिवालयबाटै फर्कने गरेका छन् । ‘ठोसेभन्दा माथितिर जान सक्ने अवस्था छैन,’ बसचालक कृष्णबहादुर श्रेष्ठले भने, ‘हिउँद नलागी उकालो लागिँदैन । बस सञ्चालन नहुँदा बिरामी, वृद्धवृद्धा, अपांग, महिला, बालबालिकालाई आवतजावतमा समस्या परेको छ, दैनिक उपभोग्यका सामग्रीको ढुवानीमा समेत कठिनाइ भएको छ ।’

झन्डै १६ वर्षअघि सडक पुगेको उमाकुण्डको बाम्तीमा हरेक वर्ष यस्तै सास्ती हुने गर्छ । बाम्ती, गुम्देल, कुभु, प्रीति, गुप्तेश्वर र भुजीका बासिन्दाहरू वर्षायाममा यातायात सहज नहुँदा २ दिन लगाएर जिल्ला सदरमुकाम पुग्ने गरेका छन् । गाउँपालिकाले आउँदो वर्षायाममा यात्रुवाहक बस नरोकिने गरी सडक सुधार गर्ने योजना वनाएको छ । गाउँपालिका प्रमुख शेरबहादुर सुुनुवारले पालिकाको प्रमुख प्राथमिकता आफ्नो क्षेत्रको सडक बाह्रै महिना सञ्चालन गर्नु रहेको बताए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×