प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थागित

नगेन्द्र अधिकारी

हेटौंडा — प्रमुख विपक्षी कांग्रेसले अवरोध गर्ने संकेत पछि प्रदेशसभा बैठक स्थागित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित गरेको सूचना टाँस गरेको हो ।


शुक्रबार बिहानको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख बिपक्षी का‌ंग्रेसले आफ्ना मागहरु सम्बोधन नभए आज पनि अवरोध गर्ने जनाएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवाको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरिएकाे विरोधमा बिहीबारको प्रदेश सभा बैठक कांग्रेसले अवरुद्ध गरेको थियो। अवरोध लगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए।

दुई सातापछि बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश हुने कार्यसूची थियो। बैठकमा ‘मुख्यमन्त्री–मन्त्रीको पारिश्रमिक तथा सुुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भएपनि स्थगित भएका कारण हुन सकेन। प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका आर्थिक विधेयक, विनियोजन विधेयक र कर तथा गैर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो।

प्रकाशित : श्रावण ४, २०७५ ११:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ग्रिजमन पुस्ता

विश्वविजेता भएको फ्रान्सेली टिमका खेलाडीको औसत उमेर २६ वर्ष रहेको छ । त्यसैले ग्रिजमन पुस्तालाई युरो २०२० र विश्वकप २०२२ पनि जित्ने अवसर छ ।
राजु घिसिङ

काठमाडौँ — विश्वकप च्याम्पियन भएको टिमलाई फ्रान्सेली फुटबलको अर्को एउटा स्वर्णिम टिम मानिएको छ । मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिमपछि यसलाई एन्टोइन ग्रिजमन पुस्ता मानिएको छ । युवा टिम भएकाले ग्रिजमन पुस्तालाई थप सफलता हात पार्ने अवसर पनि छ । मस्कोबाट राजु घिसिङ लेख्छन् :

एन्टोइन ग्रिजमनलाई फ्रयांक रिबेरीको स्थान लिँदै चार वर्षअघिको विश्वकपमा मैदानमा ओर्लंदा खासै वास्ता गरिएको थिएन । ब्राजिलमा उनी गोलको खाता खोल्न पनि असफल भए । त्यसको दुई वर्षपछि युरो २०१६ मा भने उनी फ्रान्सेली टिमका मुख्य खेलाडी नै बने । सर्वाधिक ६ गोल गरेर गोल्डेन बुट जिते । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बल पनि कब्जा गरे । तर, उनले घरेलु मैदानमा फ्रान्सलाई उपाधि भने दिलाउन सकेनन् । क्रिस्टियानो रोनाल्डो फाइनलमा घाइते भए पनि पेरिसमा पोर्चुगल च्याम्पियन भएको थियो ।


यिनै ग्रिजमन यसपालि रुसमा भएको विश्वकपमा हावी भए । फ्रान्स मस्कोमा क्रोएसियामाथि ४—२ को जित हासिल गर्दै २० वर्षपछि फेरि विश्वविजेता बन्यो । लुजनिकी रंगशालामा फ्रान्सले गरेको चार गोलमध्ये तीनमा ग्रिजमनको प्रत्यक्ष संलग्नता थियो । उनको फ्रि—किकमा मारियो मान्जुकिचले गरेको आत्मघाती गोलमा गरेका थिए । इभान पेरिसिचले बराबरी गरे पनि पेनाल्टीमा गोल गर्दै ग्रिजमनले पहिलो हाफमै फ्रान्सलाई २—१ को अग्रता दिलाएका थिए । उनले सिर्जना गरेको अवसरमै पउल पोग्बाले फ्रान्सको तेस्रो गोल
गरेका थिए ।


म्यान अफ द फाइनल पनि चुनिए, ग्रिजमन । तर, उनी गोल्डेन बलको प्रतिस्पर्धामा क्रोएसियाली प्लेमेकर ल्युका मोडरिच र बेल्जियमका इडन हाजर्डभन्दा पछाडि परे । चार गोल र दुई एसिस्टसँगै सिल्भर बुट पनि पाए । फ्रान्सले सफलतामा अग्रपंक्तिमा ग्रिजमनका सहकर्मी किलियन एम्बाप्पेले चर्चित बने । १९ वर्षीय एम्बाप्पेको गति र अर्जेन्टिनाविरुद्ध गोलको खुबै चर्चा भयो । उनी विश्वकपको नकआउट चरणको एकै खेलमा दुई गोल गर्ने र फाइनलमा गोल गर्ने पेले (सन् १९५८) यताका सबभन्दा कान्छो खेलाडी हुन् । त्यसैले उनलाई नयाँ पेलेका रूपमा पनि लिइएको छ ।


एम्बाप्पेले हेडलाइन ताने पनि प्रशिक्षक डिडियर डेसच्याम्पले फ्रान्सेली टिमको अग्रपंक्ति ग्रिजमनमै आधारित रहेर बनाएका छन् । त्यसैले फ्रान्सेली फुटबल इतिहासमा अर्को स्वर्णिम पुस्ताका रूपमा यस टिमलाई लिन सकिन्छ । पहिला मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिम थियो भने अहिले ग्रिजमन पुस्ता । विश्वकप १९९८ जित्दाका कप्तान डेसच्याम्प यो टिमलाई हाकाहाकी रूपमा ग्रिजमन पुस्ता मान्न भने तयार छैनन् ।


‘फुटबलमा ठूलै क्रान्ति भयो । सामूहिक खेलका लागि धन्यवाद । एम्बाप्पे, उम्टिटी पनि उत्कृष्ट छन् । कहिलेकाहीं टिमका रूपमा असफल पनि भइयो । हामीले समूह र व्यक्तिलाई सुन्नुपर्छ । त्यसलाई मैदानमा देखाउनुपर्छ । हामीले त्यसै गर्‍यौं,’ खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका डेसच्याम्पले भने । तर, रुसमा उनले अग्रपंक्तिका मुख्य हतियार ग्रिजमनलाई नै बनाए ।


डेसच्याम्पको ४—३—३ को संरचनामा पहिलो रोजाइमा नियमित अवसर पाएर पनि ओलिभर जिरोउ असफल भए । उनले सातौं खेलमा पनि गोल गर्न सकेनन् । त्यसैले फ्रान्सको अग्रपंक्ति ग्रिजमन र एम्बाप्पेले सम्हाले । एम्बाप्पेमा अलि परिपक्वता देखिएन । २७ वर्षीय ग्रिजमनले भने आफ्नो अनुभव मैदानमा उपयोग गरे ।


पाँच फिट नौ इन्च अग्ला ग्रिजमन सन् २०१० मा यू–१९ युरोपियन च्याम्पियनसिप जितेको फ्रान्सको टिमका सदस्य पनि हुन् । पाँच वर्षअघि यू– २० विश्वकप जितेको टिमका पोग्बा, उम्टिटी, अल्फेन्से अरियोला, फेलोरियन थाउभिनको पनि यसपालि साथ थियो । ग्रिजमनसँगै पोग्बा, ह्युगो लोरिस, जिरोउ, मतोउडी, राफेल भारानले चार वर्षअघिको विश्वकप पनि खेलेका थिए । आठ वर्षयता कप्तानी गरिरहेका गोलकिपर लोरिससहित अदिल रामी, एन्गोलो कान्टे, मतोउडी, स्टिभ मान्डा र उम्टिटी युरो २०१६ उपविजेता टिममा थिए ।


यसपालि ग्रिजमन, एम्बाप्पे, मिडफिल्डर पोग्बा, डिफेन्समा उम्टिटी, बेन्जामिन हाभार्ड, भारान, ल्युकास हर्नान्डेजले उत्कृष्ट प्रदर्शन गरे । एन्गोलो कान्टेले फाइनलमा मोडरिचलाई रोक्न सकेनन् तर उनी सेमिफाइलसम्म उत्कृष्ट लयमा थिए । लोरिस पनि फाइनलको एक क्षण मात्रै चुके । समूह चरणमा पेरु र अस्ट्रेलियालाई मुस्किलले हराएको फ्रान्सले नकआउट चरण पुगेपछि लय समातेको थियो । त्यसैले उसले लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई अन्तिम १६ मा ४—३ ले हरायो । त्यो खेल यो विश्वकपकै सर्वाधिक रोमाञ्चक हो । फ्रान्सलाई क्वाटरफाइनलमा उरुग्वे र सेमिफाइनलमा स्टार खेलाडीले भरिएको बेल्जियमलाई पन्छाउन धेरै गाह्रो परेन ।


ग्रिजमनले आफूसँग बल हुँदा र नहुँदा पनि विपक्षी डिफेन्सलाई दु:ख दिइरहे । बललाई पेनाल्टी क्षेत्रमा लाने, आफैं आक्रमण गर्ने वा बिनास्वार्थ सटीक पास दिनेमा उनी निपुण देखिए । एट्लेटिको म्याड्रिडबाट क्लब फुटबल खेल्दै आएका उनी केही वर्षयता स्पेनी ला लिगामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका फरवार्ड पनि हुन् । उनलाई बार्सिलोना, म्यानचेस्टर युनाइटेडलगायत ठूला क्लबहरूले अनुबन्ध गर्ने खुबै प्रयास गरेका थिए । तर उनी चार वर्षयता एट्लेटिकोमै रमाइरहेका छन् । उनले फ्रान्सको सिनियर टिममा पनि २०१४ मै डेब्यु गरेका थिए । त्यसयता उनले ६१ खेलमा २४ गोल गरेका छन् ।


विश्वविजेता भएको फ्रान्सेली टिमका खेलाडीको औसत उमेर २६ वर्ष रहेको छ । त्यसैले ग्रिजमन पुस्तालाई युरो २०२० र विश्वकप २०२२ पनि जित्ने अवसर छ । ‘युरो २०१६ को टिममा धेरै परिवर्तन भइसक्यो । पाभार्ड, ल्युकास, एम्बाप्पे आए । समूहमा राम्रो भइरहेको छ । सब्स्टिच्युट राम्रो छ । सही प्रशिक्षक छन् । सबैले मिहिनेत गरिरहेका छन्,’ ग्रिजमन पुस्ताको सफलताबारे उनले भने, ‘फरक किसिमले आए पनि हामीले एउटै टिम, एउटै राज्य र एउटै जर्सीमा खेलिरहेका छौं । एउटा एकता भएको टिमका रूपमा जित्न पाएका छौं । हामी सबैले जितेको हो । त्यसैले हाम्रा बच्चाले पनि गर्व गर्नेछन् ।’


सन् २००८ देखि निरन्तर वर्षका उत्कृष्ट खेलाडीको अवार्ड बेलन डि’अरमा मेसी र रोनाल्डोले मात्र जितेका छन् । अब त्यो क्रम ग्रिजमनले तोड्लान् त ? ‘गोल्डेन बल मान्छेले हेर्ने हो । स्पेनी सुपरकप बाँकी नै छ । बेलन डि’अर मेरो हातमा छैन । अब बिदा मनाउने हो,’ उनले जवाफ दिए ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT