जोखिममा हजार घरपरिवार

बलराम घिमिरे

रसुवा — रसुवामा करिब एक हजार घरपरिवार जोखिमयुक्त बस्तीमा बसोबास गर्दै आएका छन् । भूकम्पले आंशिक क्षति पुर्‍याएको थातथलोमा पहिरो जान थालेपछि जिल्लाका करिब एक हजार परिवार जोखिममा परेका हुन् ।

जोखिममा हजार घरपरिवार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवा जिल्लाको जोखिमयुक्त बस्तीमा परेका ८ सय ४४ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । मनसुन सुरु भएसँगै नयाँ–नयाँ ठाउँमा पहिरो जान थालेपछि थप बस्तीहरू जोखिममा परेका छन् ।


भूकम्पले थातथलोमा पहिरो गएपछि हाकु र डाँडागाउँबाट विस्थापित जिल्लाको उत्तरगया गाउँपालिका–५ को बोगटीटार र खाल्टेमा बसोबास गर्दै आएका छन् । खाल्टेमा मात्रै हाकुबाट विस्थापित २ सय ६० परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाको खाल्टे र हाकु बस्न नमिल्ने जोखिमयुक्त ठाउँ भनेको छ ।


‘पुन:स्थापित हुने आसैआसमा तीन वर्ष बितिसक्यो न गाउँ फर्कन सक्ने अवस्था छ, न सरकारले व्यवस्थित गरेर राख्छ, अस्थायी टहरमै बित्ने भयो जिन्दगी,’ विस्थापित भूकम्प पीडितहरू गुनासो गर्छन् । सरकारबाट एकीकृत बस्ती बनाएर राख्ने आश्वासन पटक–पटक पाए पनि अहिलेसम्म त्यो पूरा हुन नसकेको विस्थापित भूकम्पपीडित छेकु लामाले बताए । विस्थापित भूकम्पपीडित परिवारलाई खाल्टेमा एकीकृत बस्ती बनाएर राख्ने कुरा नेतादेखि सरकारले धेरैपटक गर्‍यो तर सिन्को भाँच्ने काम अहिलेसम्म भएन । ‘थातथलो भूकम्पले गर्दा पहिरो झरेर बस्नै नहुने अवस्थामा छ,’ उनले भने, ‘तीन वर्ष बितिसक्यो, विस्थापित भूकम्पपीडितहरूको समस्या उस्तै छ ।’

पुन:स्थापित नहुँदा विस्थापित भूकम्पपीडितको दैनिकी कष्टकर बन्दै गएको छ । विस्थापित बस्ने अस्थायी क्याम्पमा खानेपानी, स्वास्थ्य चौकी, शौचालय र विद्यालयको समस्या रहेको पीडितहरू बताँउछन् । शुक्रबार नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जाँदा करिब १ सय ७० घरपरिवार जोखिममा रहेका छन् । नौकुण्ड गाउँपालिका वडा ४ को भञ्ज्याङ डाँडामा १० घर, वडा २ को युब्रामा १ सय २० घर तथा वडा ३ को देउराली डाँडा र साँगाचौर गरी ४० घरपरिवार जोखिममा परेको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् । उनले भन्नि, ‘गाउँपालिकाको सांग्ल, बच्चा, दनेश्वारा, खाल्चेत र घोर्मु क्षेत्रसमेत पहिरोको उच्च जोखिममा छन् । ’


गत शुक्रबार नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जाँदा करिब १ सय ७० घरपरिवार जोखिममा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त देखाएको छ । उत्तरगया गाउँपालिकाको करुमर्‍याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङलगायत विभिन्न ठाउँ जोखिमयुक्त हुन् ।

गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुन्डुप, सिन्धुम, गुम्चेत, लामाहोटल लगायतका बस्ती पहिरोको जोखिममा छन् । त्यसैगरी, कालिका गाउँपालिको राम्चे, गुम्चेत, ग्राङ, प्राङसेलगायतका क्षेत्रमा जोखिम छ ।


आमाछोदिङ्मो गाउँपालिकाको सानो हाकु, पाजुङ, केराबारी, टेताङचे, ब्राप्चेलगायतका गाउँ जोखिमयुक्त बस्ती भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनबाट देखिएको छ । त्यस्तै नौकुण्ड गाउँपालिकाको खाल्चेत, दोक्लाङ, घोर्मु, लाम्राङ, पाटीखर्क, फाम्चेत, साङयुल थाङदोर लगायतका क्षेत्र भौगर्भिक अध्ययनबाट जोखिम देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

भौगर्भिक अध्ययनबाट जसमा ३० वटा बस्तीलाई पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ । २५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकहरूको सुझाव छ । जिल्ला विपद् व्यवस्थानपन समिति रसुवाले तयार पारेको मनसुन आपत्कालीन कार्ययोजनामा पनि जिल्लाको विभिन्न ३५ स्थानलाई जोखिमयुक्त बस्ती भनी पहिचान गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा गराउने उल्लेख छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा परेको जोखिमयुक्त बस्तीका परिवारमध्ये ३ सय ५६ परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् ।

प्रकाशित : श्रावण २, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?