कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशको नाम नेवा: ताम्सालिङ माग

हेटौंडा — नेपाल तामाङ घेदुङले प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गरेको छ । घेदुङको ३ नं प्रदेश समितिले आयोजना गरेको संविधान कार्यान्वयन र तामाङ पहिचान विषयक अन्तरक्रियामा आधारपत्र प्रस्तुत गर्दै अध्यक्ष सोमबले तामाङले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई कामकाजी भाषाको मान्यता दिनुपर्ने बताए ।

प्रदेशको नाम नेवा: ताम्सालिङ माग

आधारपत्रमा आदिवासी जनजातिहरूको सघन क्षेत्रमा विशेष, स्वायत वा संरक्षित क्षेत्र अविलम्ब घोषणा गरी मातृभाषा लागू गर्न भनिएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछारमा ३ दिन र तेमाल जात्रामा १ दिन सार्वजनिक विदा दिन, बौद्ध धार्मिक कोरिडोर घोषणा गर्न, तामाङ जातिको विकासका लागि तामाङ विकास कार्यक्रम घोषणा गर्न माग गरिएको छ ।

२०७२ सालको भूकम्पमा क्षति भएका गुम्बा, चैत्य, माने, पर्खाल, विद्यालय, मठमन्दिर अविलम्ब पुनर्निर्माण गर्न, ताम्सालिङ चक्रपथ निर्माण गर्न र तामाङ बहुल क्षेत्रमा होमस्टेहरूको विकासका लागि आवश्यक अनुदान तथा तालिम प्रशिक्षणको व्यवस्था गर्न माग गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले उत्पीडित जाति र वर्गको उत्थानको काम गर्ने बताए । सभामुख सानुकुमार श्रेष्ठले जातजातिको कुरा गरेर मात्रै नहुने भन्दै प्रतिस्पर्धामा आउन सक्नुपर्ने तर्क गरे । उपसभामुख राधिका तामाङले संविधानले दिएका अधिकार कार्यान्वयन गर्ने चरणमा भएको बताइन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जातजातिको अधिकारका लागि सकेजति पहल गर्ने प्रतिबद्धता जनाए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अब द्वन्दको कुरा गर्नु जायज नहुने भन्दै आर्थिक समृिद्धतर्फ लाग्नुपर्ने तर्क गरे । प्रमुख विपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आफूहरू पहिचानको पक्षमा रहेको भन्दै समावेशी समानुपातिक व्यवस्थासहितको संविधान कार्यान्वयन गर्ने वा विद्रोह जन्माउने सत्तापक्षको हातमा भएको बताए ।

प्रकाशित : असार २१, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?