२० वर्षपछि कृष्णभीरमा पहिरो

हरिहरसिंह राठौर

कृष्णभीर (धादिङ) — पृथ्वीराजमार्ग दुई दशकपछि बुधबार दिनभर अवरुद्ध भयो । जोगीमाराको जुकेखोलामा दक्षिणतर्फबाट आएको हिलो लेदोका कारण राजमार्ग दिनभर अवरुद्ध भएको हो ।

दुई दशकपछि जोगीमारास्थित कृष्णभीरमा बुधबार गएको पहिरोले अवरुद्ध राजमार्ग । तस्बिर : हरिहरसिंह

ग्रामीण सडक निर्माणका क्रममा ढल व्यवस्थापन नगर्दा डोजरले खनेको रातोमाटो वर्षासँगै बगेर राजमार्गमा पुगेको हो । पहिरोले जोगीमारा कृष्णभीरमा गएको सामान्य पहिरोले पनि बुधबार ८ घण्टासम्म राजमार्ग अवरुद्ध भएपछि हजारौं यात्रुहरूले सास्ती भोग्न बाध्य भएका
छन् । २ सय मिटर माथिबाट आएको पहिरो र चिप्लो लेदोले राजमार्गमा सवारीसाधन गुड्न कठिनाइ भएको हो ।

राजमार्गबाट दक्षिण भेकका बस्तीमा सडक सञ्जाल जोड्न वातावरणीय प्रभाव मूल्यांकन नगरीकनै डोजर र स्काभेटर लगाउने क्रम बढेपछि पटकपटक राजमार्ग अवरुद्ध हुने गरेको हो । चितवन सिमाना मौवाखोलादेखि नौबिसेसम्मको ८० किलोमिटर दूरीमा दर्जनौं ग्रामीण सडकबाट बग्ने हिलो लेदोका कारण यसअघि पनि विभिन्न समयमा राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

कृष्णभीरमा यसअघि २०५५ साउनमा गएको पहिरोले २ साता राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । उक्त पहिरोका कारण राजधानी भित्रने वा अन्यत्र जाने यात्रुहरूले वर्षांैसम्म निकै सास्ती बेहोरेका थिए । जापानी प्राविधिक संस्था जाइकाको सहयोगमा उक्त पहिरो बायोइन्जिनियरङिमार्फत हालसम्म रोकिएको बेनीघाट–९ का वडा अध्यक्ष सुरेश मल्लले बताए । उक्त पहिराले गरेको सवारी जाम यति प्रसिद्ध भयो कि कलाकारले गीति संग्रहसमेत निकाल्न भ्याए ।

बुधबार बिहान गएको पहिरो पुरानो स्थलभन्दा करिब ५० मिटर टाढा छ । कृष्णभीरबाट खटौटीतर्फ जाने ओरालोमा हिलो र लेदोमाटोले धेरै चिप्लो भएपछि आवागमननै रोक्नुपर्‍यो,
पहिरो पन्छाएर पनि ५० बोरा जति धानको भुस हालेर एकतर्फी सवारीसाधन सञ्चालन गर्नुपरेको गजुरीस्थित ट्राफिक इन्चार्ज हेमराज घिमिरेले बताए ।

जोगीमारा तेक्राङस्थित ४५ वर्षअघि उत्खनन् गर्न थालिएको हेटौंडा सिमेन्टको चुनढुंगाखानी पनि राजमार्ग अवरुद्धको कारण बनेको छ । खानीबाट आउने मसिनो लेदोले पनि बारम्बार राजमार्ग जाम गर्ने गरेको छ ।

‘उपकरण अभावमा अवरुद्ध राजमार्गमा यातायात सुचारु गर्न कठिनाइ हुने गरेको’ जिल्ला प्रहरी प्रमुख डम्बर विकले बताए ।

प्रकाशित : असार १४, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

वन्यजन्तु बचाउन कुकुर नियन्त्रण

कान्तिपुर संवाददाता

रसुवा — दुर्लभ वन्यजन्तुमाथि आक्रमण गर्न थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा अर्धजंगली कुकुर नियन्त्रण गर्न थालिएको छ ।

अर्धजंगली कुकुरले वन्यजन्तुलाई आक्रमण गर्न थालेपछि निकुञ्जले नियन्त्रणको कदम चालेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । लाङटाङ क्षेत्रमा दुर्लभ वन्यजन्तु हिमचितुवा, कस्तूरी मृग, झारल, घोरललगायत वन्यजन्तु पाइन्छन् । पर्यटकीय क्षेत्र लाङटाङका घरपालुवा कुकुर २०७२ वैशाख १२ गतेको भूकम्पपछि अर्धजंगली भएका हुन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङ करिब ३ महिना जति मानवविहीन भएको थियो ।

मानवविहीन हुँदा घरपालुवा कुकुर अर्धजंगली भएका लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । ‘गाउँमा मानिस नभएपछि कुकुरहरूले खानेकुरा पाएनन्, केही समयपछि जंगली जनावर मारेर खान थाले,’ रेग्मीले भने, ‘अनि घरपालुवा कुकुर अर्धजंगली भए ।’ लाङटाङ क्षेत्रमा करिब २५ वटा अर्धजंगली कुकुर रहेका छन् । कुकुर नियन्त्रण गर्न लाङटाङका स्थानीय बासिन्दा, वडा कार्यालय, निकुञ्जका कर्मचारी र कालिजंग गणका नेपाली सेना परिचालन भएका छन् । कुकुर नियन्त्रण अभियान दुई सातासम्म चल्नेछ । पछिल्लो दिनमा निकुञ्ज क्षेत्रमा प्रजाति संरक्षणका कार्यक्रम सञ्चालन भएपछि वन्यजन्तुको संख्या बढ्दै गएको छ ।

संरक्षणका कार्यक्रम सञ्चालन भएपछि लाङटाङमा विश्वमै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाले खाने आहारा बढेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले सन् २०१७ मा गरेको एक अध्ययनअनुसार लाङटाङमा हिउँ चितुवाको आहारा प्रशस्त बढ्दै गएको तथ्यांकमा देखिएको छ । हिउँ चितुवाको मुख्य आहार भनेको हिमाली क्षेत्रमा पाइने झारल हो । सन् २००९ मा गरिएको अध्ययनअनुसार झारलको संख्या ३ सय ४१ थियो । सन् २०१७ मा यो संख्या बढेर ४ सय पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । लाङटाङको घोडा तबेलादेखि लाङसिसासम्म झारल पाइन्छन् ।

प्रकाशित : असार १४, २०७५ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्