कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हेटौंडालाई राजधानी कायम गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र

अरु पार्टीहरु पनि छन्, मेरो मात्र के लाग्छ र : देउवा
नगेन्द्र अधिकारी

हेटौंडा — मकवानपुरका जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजले हेटौंडालाई नै प्रदेश ३ को राजधानी कायम गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । 

हेटौंडालाई राजधानी कायम गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र

तरुण दलको प्रशिक्षण कार्यक्रममा सहभागी हुन हेटौंडा आएका उनलाई जिल्ला समन्वय समितिको नेतृत्वको टोलीले राजधानी कायम गर्नुपर्ने सात आधारसहित ध्यानकर्षण गराएको हो । उनीहरुले हेटौंडा आउन-जान अपायक र टाढा भयो भन्ने ‘हल्का र सतही’ कुराले राजधानी सार्ने जस्तो ‘अपरिपक्व र अदुरदर्शी’ निर्णय नहुने विश्वास समेत व्यक्त गरेका छन् ।

ज्ञापन पत्र पढेर सुनाउँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पर्याप्त भौतिक संरचना र विस्तार गर्न जग्गा भएको, ५ वटा राष्ट्रिय राजमार्गले छोएको, हेटौंडामा राजधानी राख्दा कतै विरोध नभएको तर सार्दा अन्य प्रदेशमा पनि सार्ने ‘समस्या’ आउने तर्क गर्दै विकेन्द्रीकरणको सिद्धान्तअनुसार हेटौंडालाई राजधानी कायम गर्न उपयुक्त हुने दाबी गरे । उपत्यकाको सवारी चाप, प्रदूषण, जनघनत्व, भीड र अस्तव्यस्त बढ्दो भएको तर्क गर्दै उनले काभ्रे जिल्लामा प्रादेशिक राजधानी बनाउँदा त्यसको चाप उपत्यकालाई नै पर्न जाने तर्क समेत गरे ।


भौगोलिक रुपमा टाढा जस्तो लागे पनि यातायात सञ्जालको विकासले अन्य प्रदेशको राजधानीको तुलानामा हेटौंडाको आवागमन सहज भएको दाबी गर्दै जिल्लामा भएका ५ राजमार्ग र उपत्यका प्रवेशका ३ छोटा मार्गको शीघ्र निर्माण, मर्मत सुधारमात्र गर्ने हो भने पनि आवागमन अत्यन्त सहज हुने दाबी गरिएको छ ।


जवाफमा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो मात्रै केही नलाग्ने बताए । ‘मैले त राख्नकै लागि बनाएको हो नि, सार्नको लागि हैन,’ छोटो प्रतिक्रिया दिएका उनले भने, ‘अरु पार्टीहरु पनि छन्, उनीहरुले के भन्छन्, मेरो मात्रै के लाग्छ र ।’


देउवा नेतृत्वको सरकारले माघ ३ गते हेटौंडालाई प्रदेश ३ को अस्थायी मुकाम तोकेको थियो ।


ज्ञापन बुझाउने क्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, सन्तबहादुर प्रजा, कांग्रेस नेता माइकल रामचन्द्र अर्याल, अशोक शाक्य, एमाले उपाध्यक्ष बद्री लम्साल, राप्रपाका नेता मधु अधिकारी, वागमती गाउँपालिका अध्यक्ष दामोदर खनाल, मकवापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

स्थायी राजधानी कायम गर्न माग गर्दै काभ्रे, नुवाकोट र भक्तपुरले प्रदेश सभा सचिवालयमा विभिन्न प्रस्ताव दर्ता गराएपछि हेटौंडामा नै कायम गर्न माग गर्दै विभिन्न पक्ष र समूहले ज्ञापनपत्र बुझाउने क्रम सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले यसअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइसकेको छ । जिल्ला समन्वय समितिका प्रमुख खुलालले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई पनि लगत्तै ज्ञापनपत्र बुझाउने बताए ।

प्रकाशित : वैशाख ४, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?