२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

निर्देशन लत्याउँंदै विदेश भ्रमण

दीपेन्द्र विष्ट

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनविरुद्ध स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमण गर्न थालेका छन् ।

मन्त्रालयले जथाभाबी र मनोमानी ढंगले विदेश भ्रमण जान थालेको भन्दै तत्काल त्यस्तो स्थगन गर्न निर्देशन दिए पनि स्थानीय तहले त्यसको बेवास्ता गरेको पाइएको छ ।

मन्त्रालयको परिपत्रलाई लत्याउँंदै कर्मचारी र जनप्रतिनिधि वैदेशिक अध्ययन र अवलोकनका नाममा विदेश भ्रमण जान थालेको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए । विदेश भ्रमण जाने अधिकांश उपत्यकाभित्रका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी रहेको ती अधिकारीले बताए । विदेश भ्रमणमा जाने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर, कागेश्वरी र संखरापुर नगरपालिकालगायतका जनप्रतिनिधि र कर्मचारी रहेका छन् ।

वैदेशिक अध्ययन र अवलोकन स्थगन गर्न निर्देशन दिए पनि नगरपालिकाका कार्यकारी प्रमुख मन्त्रालयका निर्देशन लत्याउँंदै जनप्रतिनिधि र कर्मचारीलाई स्वीकृति दिन थालेको खुलेको छ ।

मन्त्रालयले विभाग, आयोग, समिति तथा प्रतिष्ठान र स्थानीय तहका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण स्थगित गर्न निर्देशन दिइको हो । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भौतिक विभाग प्रमुख रामबहादुर थापा, विपद् व्यवस्थापनका निर्देशक इन्द्रमान सिंह र भवन निर्माण तथा सहरी विकास विभागका इन्जिनियर कुन्दन सिंहलाई एक साताको लागि अध्ययन भ्रमण तथा अवलोकन भ्रमणका लागि जापान जाने स्वीकृति शर्माले दिएका छन् ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापालगायत जापान भ्रमणमा गएका छन् । यसरी जनप्रतिनिधि र कर्मचारी मनोमानी ढंगले विदेश भ्रमणमा जान थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलसमेत फागुन १० गते अध्ययन तथा अवलोकनसम्बन्धी सबै किसिमका वैदेशिक भ्रमण कार्यक्रम स्थगित गराउन उल्लेख गर्दै निर्देशन दिएको छ । महानगरपालिका कार्यकारी शर्माले अवलोकन तथा अध्ययन भ्रमणमा कर्मचारी विदेश नगएको दाबी गरे । ‘इन्जिनियर तालिमका लागि पठाएका छौं । अध्ययन तथा अवलोकन भ्रमणका कोही पनि गएका छैन,’ उनले भने, ‘अन्यमा मन्त्रालयको निर्देशन मान्दै आएका छौं ।’ मन्त्रालयका सचिव दिनेश थपलियाले तालिम, अवलोकन र अध्ययन भ्रमणमा नपठाउन निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?