महानगरपालिकाले थाल्यो अनुगमन

५० भन्दा बढी ठूला व्यवसायीले करोडौं राजस्व छली
प्रशान्त माली

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कर नतिर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन अनुगमन थालेको छ । वडाध्यक्षको समन्वयमा प्रत्येक वडाका सचिवको नेतृत्वमा राजस्वका कर्मचारीसहित ३ जनाको टोली ३२ वडामा परिचालन भएका छन् ।

महानगरपालिका जनप्रतिनिधिले गरेको सर्वेक्षणमा ५० भन्दा बढी ठूला व्यवसायीले करोडौं राजस्व छली गरेको पाइएको थियो । महानगरपालिका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्गले कर असुली कार्यलाई थप प्रभावकारी बनाउन अनुगमन थालेको बताए ।

‘ठूला करदातालाई करको दायरामा नल्याइकन लक्ष्यअनुरूप राजस्व भित्रिंदैन,’ उनले भने, ‘अनुगमन टोलीलाई स्थलामा कर आदेश जारी गर्न र रसिद काटी राजस्व दाखिला गर्नसमेत अधिकार दिइएको छ ।’ महानगरपालिकाको चालु आवमा १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । यो लक्ष्य गत वर्षको तुलनामा १० गुणाले बढी छ । राजस्व विभागका अनुसार माघसम्ममा २ अर्ब ६० करोड रुपैयाँ मात्र राजस्व संलग्न भएको छ ।

महानगरपालिकाका अधिकारीका अनुसार जनप्रतिनिधिले चाहेमा तीन महिनामा लक्ष्यअनुरूप राजस्व संलग्न गर्न सक्छ । ठूला करदाता राजनीतिक संरक्षणमा रहेर कर तिर्न अटेर गरिरहेका छन् । लक्ष्यअनुरूप राजस्व भित्र्याउन नसकेमा जनप्रतिनिधिले चाहेजस्तो विकास गर्न नसक्ने महानगरपालिकाका विज्ञ बताउँछन् ।

चालु आवमा घरजग्गा करबापत एक अर्ब ५० करोड रुपैयाँ भित्र्याउने लक्ष्य लिएकोमा सात महिनामा ३४ करोड ६५ लाख ३ हजार ३ सय ९७ रुपैयाँ उठाएको छ । यस्तै घरबहालबाट २ अर्ब रुपैयाँ लक्ष्य राखेकोमा १७ करोड ७४ लाख ६७ हजार ५ सय ३६ रुपैयाँ मात्र भित्रिएको छ । सवारी करबापत २० करोड रुपैयाँ भित्र्याउने लक्ष्यमा २३ लाख ५० हजार ७ सय ४४, विज्ञापनबाट १५ करोड रुपैयाँ भित्र्याउने लक्ष्यमा २ करोड ३८ लाख ९० हजार ७ सय १८ रुपैयाँ मात्र भित्रिएको छ । यस्तै ५० लाख भित्र्याउने लक्ष्य रहेको मनोरञ्जन र २५ लाख भित्र्याउने लक्ष्य रहेको केवल अपरेटरबाट भने राजस्व भित्र्याउन सकेका छैनन् ।

महानगरपालिकामा हालै गठित राजस्व समितिका संयोजक नवीन मानन्धरले महानगरको विकास गर्न अनिवार्य रूपमा लक्ष्यअनुसार राजस्व भित्र्याउनुपर्ने बताए । ‘समितिले अख्तियार पाएको छैन,’ उनले भने, ‘करले होइन रहरले राजव संलगन गरिन्छ ।’ महानगरपालिका–१ मा होटल माउन्टेन, ल्यान्ड मार्कले कर तिरेको छैन भने ३ नम्बरको एभरेस्ट बैंक लाजिम्पाट, सांग्रिला होटल, ग्लोबल आईएमआई पानीपोखरीलगायतले घरजग्गा कर तिर्न बाँकी छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

निर्देशन लत्याउँंदै विदेश भ्रमण

दीपेन्द्र विष्ट

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनविरुद्ध स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमण गर्न थालेका छन् ।

मन्त्रालयले जथाभाबी र मनोमानी ढंगले विदेश भ्रमण जान थालेको भन्दै तत्काल त्यस्तो स्थगन गर्न निर्देशन दिए पनि स्थानीय तहले त्यसको बेवास्ता गरेको पाइएको छ ।

मन्त्रालयको परिपत्रलाई लत्याउँंदै कर्मचारी र जनप्रतिनिधि वैदेशिक अध्ययन र अवलोकनका नाममा विदेश भ्रमण जान थालेको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए । विदेश भ्रमण जाने अधिकांश उपत्यकाभित्रका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी रहेको ती अधिकारीले बताए । विदेश भ्रमणमा जाने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर, कागेश्वरी र संखरापुर नगरपालिकालगायतका जनप्रतिनिधि र कर्मचारी रहेका छन् ।

वैदेशिक अध्ययन र अवलोकन स्थगन गर्न निर्देशन दिए पनि नगरपालिकाका कार्यकारी प्रमुख मन्त्रालयका निर्देशन लत्याउँंदै जनप्रतिनिधि र कर्मचारीलाई स्वीकृति दिन थालेको खुलेको छ ।

मन्त्रालयले विभाग, आयोग, समिति तथा प्रतिष्ठान र स्थानीय तहका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिलाई भ्रमण स्थगित गर्न निर्देशन दिइको हो । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भौतिक विभाग प्रमुख रामबहादुर थापा, विपद् व्यवस्थापनका निर्देशक इन्द्रमान सिंह र भवन निर्माण तथा सहरी विकास विभागका इन्जिनियर कुन्दन सिंहलाई एक साताको लागि अध्ययन भ्रमण तथा अवलोकन भ्रमणका लागि जापान जाने स्वीकृति शर्माले दिएका छन् ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापालगायत जापान भ्रमणमा गएका छन् । यसरी जनप्रतिनिधि र कर्मचारी मनोमानी ढंगले विदेश भ्रमणमा जान थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलसमेत फागुन १० गते अध्ययन तथा अवलोकनसम्बन्धी सबै किसिमका वैदेशिक भ्रमण कार्यक्रम स्थगित गराउन उल्लेख गर्दै निर्देशन दिएको छ । महानगरपालिका कार्यकारी शर्माले अवलोकन तथा अध्ययन भ्रमणमा कर्मचारी विदेश नगएको दाबी गरे । ‘इन्जिनियर तालिमका लागि पठाएका छौं । अध्ययन तथा अवलोकन भ्रमणका कोही पनि गएका छैन,’ उनले भने, ‘अन्यमा मन्त्रालयको निर्देशन मान्दै आएका छौं ।’ मन्त्रालयका सचिव दिनेश थपलियाले तालिम, अवलोकन र अध्ययन भ्रमणमा नपठाउन निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×