१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महिनौंदेखि अस्पतालमा बेवारिसे

फातिमा बानु

काठमाडौँ — ट्रमा सेन्टरको बेड नम्बर ६४६ मा सुतेका छन् । दुवै खुट्टामा औंलादेखि तिघ्रासम्म ब्यान्डेजले बेरिएको छ । छेउमा न औषधि खुवाउने कुरुवा छ, न बेस्सरी दुख्दा के भयो भनेर सोध्ने आफन्त ।

महिनौंदेखि अस्पतालमा बेवारिसे

६ महिनादेखि यस्तै छ चलिरहेको उनको जिन्दगी । अस्पतालको बेडमा अलपत्र, एक्लै । उनी हुन् सर्लाहीका ५६ वर्षीय सन्तोष लामा । अनायास खुट्टामा निस्केको घाउ बढेर गत दसैंमा उनी अस्पताल भर्ना भएका हुन् । हिंड्नै नसक्ने गरी अस्पताल भर्ना हुँदा पनि कोही आफन्त भेट्न, सोध्न नआएको उनले गुनासो गरे ।

उनी भन्छन्, ‘सम्पत्ति हुँदासम्म आफन्तले घेर्थे, केही गर्न नसक्ने भएपछि हेर्न पनि कोही आउँदा रैन्छन् ।’ उनी सवारी चालउने काम गर्थे । कहिले पानी ट्यांकर, कहिले रात्रिबस त कहिले एम्बुलेन्स चलाएर जीवन निर्वाह गर्थे । हातखुट्टा चलुन्जेल कहिल्यै अभाव नझेलेका उनलाई अहिले एक छाक मासुभात खान पनि रहरै भएको सुनाए । दसैंताक सधैंजसो उनी काम गरेर घर फर्केका थिए । खुट्टामा सानो पानीफोका निस्किएको थियो । दिनभरि लगाएको छालाजुत्ताले पाछ्यो होला जस्तो मात्रै लागेको थियो उनलाई ।

‘बेलुका छाम्दा मसिनो फोका थियो, रातारात बढेर डर लाग्ने भैगो,’ उनी घाउ निस्केको दिन सम्झिन्छन् । गाउँले नाग लागेको भन्दै झारफुक गर्न सुझाएछन् । घाउ घट्नुको साटो बढेको थियो, पीडा त झन् दोब्बरतेब्बर । सुरुमा एउटा खुट्टामा देखिएको घाउ बढेर दुवैतिर फैलिए । घरी माता घरी झाँक्रीका घर चहार्दाचहार्दै उनी हिंड्नै नसक्ने भएको उनले सुनाए । जोरपाटीको अपांग हस्पिटलमा दुई दिन बसेपछि रिफर भएर उनी ट्रमा सेन्टर भर्ना भए ।

उनी भन्छन्, ‘सुरुमा त भाइ कुर्न आएको थियो, मेरो खल्तीबाट उपचार खर्च सकिएको दिनबाट अनुहार पनि देखाउन आएको छैन ।’ आफन्तको नाममा उनका सबै छन् । श्रीमती, तीन भाइ छोरा, भाइ बुहारी । श्रीमतीसँग भने उनको आठ वर्षदेखि बोलचाल बन्द भएको रहेछ । कमाएको पैसा अनावश्यक खर्च गरिदिने बानीका कारण उनले श्रीमती त्यागेका रहेछन् । अस्पताल भर्ना भएका सुरुवाती दिनमा घाउबाट भलभली रगत बग्थे, उनलाई परिवारको खुब सम्झना आउँथ्यो ।

अब भने पीडा र एक्लोपन उनका सारथिजस्तै बनेका छन् । अस्पताल घर डाक्टर–बिरामी नै परिवारजस्तो लाग्न थालेको छ उनलाई फोका भनेर बेवास्ता गरिएको घाउले उनको पिंडुलाको मासु कुहाइदिएको उनको उपचारमा संलग्न डाक्टर पियूष दाहालले बताए ।‘ खुट्टाको मासुु सबै कुहिएको थियो, शल्यक्रिया गरेर मासु काटेपछि छाला प्रत्यारोपण गरी टालिएको छ । छाला अभाव भएका कारण बिरामीकै तिघ्राबाट ताछेर निकालिएको उनले बताए ।

छाला ताछिएका तिघ्रा पनि घाइते छन् । शौचालय लगिदिनेसमेत साथी नहुँदा उनी नजिकैका अरू बिरामीसंँग सहयोग माग्छन् । कोही नहुँदा दिसापिसाब च्यापेरै बस्ने उनको अनुभव छ । शौचालय जानका लागि जबर्जस्ती ओल्टेकोल्टे गर्ने, उभिने गरेका दिन उनी रातैभरि सुत्दैनन् । ‘चर्रचर्र गर्छ, भतभती पोल्छ नदुख्ने औषधिले पनि काम गर्दैन’, उनी भन्छन्, ‘उठ्न सघाउने मात्रै कोही भएको भए पनि मेरो आधा दुखाइ कम हुन्थ्यो ।’

लामा उपचार खर्च जुटाउन पनि नसक्ने भइसकेका छन् । अस्पतालको बेवारिसे बेडमा उनको उपचार भइरहेको छ । डा. दाहाल भन्छन्, ‘अरू बिरामीलाई ब्यान्डेज गर्दा उब्रिएको कपडाले उनको घाउ बाँध्छौं, अरूले खाइनसकेका औषधि खोजेर उहाँलाई दिन्छौं ।’ उनी अस्पतालमा नमुना परीक्षणका लागि ल्याएएका औषधि खान्छन्, लगाउँछन् । सामाजिक संस्थाले फलफूल ल्याइदिएको दिन उनलाई ठूलै पर्व आएजस्तो लाग्छ । नजिकैका बेडका सुतेका बिरामीलाई रेखदेख गर्ने कुरुवा, भेट्न आउने आफन्त देख्दा उनलाई निकै नरमाइलो लाग्छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?