पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ४३ करोड रुपैयाँ बढीको कोइला आयात भएको छ ।
गत वर्ष देखि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा नेपाली आयातकर्ताको कोइला लगायतका डस्टी कार्गो लोडअनलोडमा रोक लागेपछि सिर्सिया सुक्खा बन्दरगाह हुँदै कोइला बोकेको रेल्वे र्याक भित्रिने क्रम बढेको हो ।
बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा यो नाका हुँदै १० अर्ब ४३ करोड ८७ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको ६५ करोड ९२ लाख किलो कोइला भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा २१ लाख ३२ हजार रुपैयाँ बराबरको १९ हजार ६ सय ९५ किलो मात्र कोइला भित्रिएको थियो ।
गत आर्थिक वर्षमा यो नाका हुँदै भित्रिएका बस्तुमा राजश्वमा योगदान गर्ने मुख्य १० बस्तुमा कोइला पनि परेको छ । कोइला यो सूचीमा सातौँ नम्बरमा परेको छ । गत आर्थिक वर्षमा कोइलाले मात्रै ९९ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा कोइलाले जम्मा ३ लाख ९७ हजार रुपैयाँ मात्र राजश्व दिएको थियो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत शुशिल प्रसाद शर्माका अनुसार कोइला आयात गर्दा भन्सार शुल्क ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । यो नाकाबाट कोइलाको आयात ह्वात्तै बढ्नुमा सीमा पारी भारतीय रेल्वे स्टेशनमा कोइला अनलोड गर्न नपाइने नियम लागु भएकै कारण रहेको शर्मा बताउँछन् ।
तुलनात्मक रुपमा मालबाहक ट्रक भन्दा रेलबाट ढुवानी सस्तो र सहज हुन्छ । एक रेल्वे र्याकमा ५५ बेगन हुन्छ । समग्रमा एक रेल्वे र्याकले ३ हजार ५ सय मेटन कोइला बोक्ने गर्छ ।
गत वर्षको ३० सेप्टेम्बर यता रक्सौल रेल्वे स्टेशनमा डस्टी कार्गो लोडअनलोड पूर्ण रुपले बन्द छ । सन् २०१९ मा भारतको पटना हाइकोर्टले दिएको आदेशको अनुपालन नभएको भन्दै स्थानीयले पुनः पटना हाइकोर्टमा उजुरी दिएपछि पटना हाइकोर्टले पुनः यस्तो आदेश दिएको थियो ।
प्रकाशित : श्रावण ३०, २०८१ १९:०५