कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

३३ केभीए प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध, सुरक्षाकर्मी परिचालनपछि स्थिति नियन्त्रणमा

श्रावण २६, २०८१
३३ केभीए प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध, सुरक्षाकर्मी परिचालनपछि स्थिति नियन्त्रणमा

महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरमा ३३ केभीए प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । बस्तीमा असर गर्ने भन्दै स्थानीयले विरोध गरेका हुन् ।

बर्दिवास–४ स्थित गौशाला चोकबाट सुर्ती विकास हुँदै तत्काल नेपाल पल्प एण्ड पेपर इन्ड्रस्ट्रिज प्रालिसम्म विस्तार कार्य अघि बढेपछि स्थानीयको अवरोध सुरु भएको हो ।

स्थानीयको विरोध र अवरोधपछि स्थितिलाई शान्त बनाउन शनिबार यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले काम अघि बढाउन नदिएपछि गौशाला नगरपालिकाका प्रमुख दीपेन्द्र महतोको निर्देशनमा शनिबार विद्युत् विस्तारको काम स्थगित भएको विद्युत् कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

१३ किलोमिटर क्षेत्रमा विस्तार गरिने लाइनमा ११ किलोमिटर विस्तार सकिएपछि रामनगर क्षेत्रमा काममा अवरोध भएको हो । स्थानीय र सर्वदलीय बैठक डाकेर पटक–पटक छलफलपछि काम अघि बढाएको विद्युत् कार्यालयले जनाएको छ ।

नयाँ बनेको कागज कारखानाका लागि मात्रै नभई गौशालामा सवस्टेसन बनाउने गरी लाइन विस्तार गर्न लागिएको विद्युत् कार्यालयको भनाइ छ । १०५ फिटको सडक छेउबाट लाइन विस्तार गर्न लागिएकाले त्यसले बस्तीमा कुनै असर नपर्ने विद्युत् कार्यालयले जनाएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी पुगेसँगै अहिले गौशालाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले बताए ।

प्रकाशित : श्रावण २६, २०८१ १७:२६
x
×