बारा — जिल्ला अदालत बारामा मुद्दा बढेको बढ्यै छन् । दुनियाँवादी देवानी (व्यक्तिगत) र सरकारवादी फौजदारी गरी दुवै प्रकारका मुद्दाको चाप बढेको हो । तर मेलमिलापका लागि आदेश भएका मुद्दामा भने सफलभन्दा असफल मुद्दाको संख्या धेरै छ ।
अदालत प्रशासनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को असारसम्मको प्रगति विवरणमा यस्तो देखिएको हो । यस अवधिमा एउटा मात्र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता भएकामा त्यसको पनि टुंगो लागिसकेको छ ।
वर्षभरिमा जिल्लामा ७१९ मुद्दामा मेलमिलापका लागि आदेश भए पनि २ सय ४ वटा मुद्दामा मात्र मिलापत्र भएको पाइएको छ । ४२ वटा मुद्दा अहिले पनि मिलापत्रको प्रक्रियामा छन् । मध्यस्थताको अभाव र वादी प्रतिवादीको जिद्दीपनाले मिलापत्रको संख्या न्यून भएको बारा जिल्ला अदालतका एक अधिकारीले बताए ।
अदालत प्रशासनबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नयाँ मुद्दा र यसअघिका वर्षबाट सरेर आएका मुद्दा ९ हजार ८ सय १५ रहेकामा ५ हजार ७ सय ३४ मुद्दाको फर्स्योट भएको छ ।
फैसला हुन बाँकी मुद्दा ४ हजार ८१ रहेका छन् । जिम्मेवारी सरेर आएका ३ हजार १ सय ३ र नयाँ दर्ता भएका मध्ये २ हजार ६ सय ३१ गरी ५ हजार ७ सय ३४ मुद्दाको फर्स्योट भएको स्रेस्तेदार लालबहादुर कार्कीले बताए । मुद्दाको लगत अनुसार धेरै मुद्दा दुनियाँवादी देवानी छन् ।
उनका अनुसार यस अवधिमा कसुरदार ठहर भएका २ सय ६९ व्यक्तिबाट ५८ वर्ष ५ महिना १४ दिन कैद र ३ सय ३५ दोषी ठहर भएका व्यक्तिबाट जरिवाना १ करोड १६ लाख ८१ हजार ५ सय ५१ रुपैयाँ नगद असुल गरिएको छ । मुद्दा फैसलाका क्रममा ७ वटा मुद्दामा १९ जना पीडितलाई ५८ लाख ५६ हजार २ सय ६० रुपैयाँ क्षतिपूर्ति पनि तिराइएको छ ।
प्रकाशित : श्रावण २६, २०८१ १९:२६