सिरहा — कान्तिपुरका सिरहा संवाददाता विनय आजाद सम्मानित भएका छन् । चोहर्वामा नागरिक समाजले एक कार्यक्रम आयोजना गरी आजादलाई शनिबार सम्मान गरेको हो ।
आजादले जिल्लामा अतिक्रमणमा परेका सार्वजनिक जग्गा र सबै खाले बेथितिका विरुद्धमा निर्भीकतापूर्वक आवाज उठाएको भन्दै सम्मान गरिएको समाजले जनाएको छ । आजादसँगै डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजितकुमार झालाई पनि नागरिक समाजले सम्मान गरेको छ । यस्तै, थप अन्य तीन जना पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा वनका थप दुई कर्मचारी र जोबहा प्राकृतिक सामुदायिक वनका अध्यक्षसमेत छन् । सार्वजनिक जग्गा अतिक्रमणमुक्त पार्न उनीहरूले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरिएको समाजले जनाएको छ ।
डिभिजन वन कार्यालय, सिरहाले पछिल्लो समय गत साउन १२ मा नरहा गाउँपालिका ३ स्थित अतिक्रमणमा परेको २ हेक्टर सामुदायिक वनको जग्गा डोजर चलाएर अतिक्रमणमुक्त पारेको थियो ।
पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको नेपाली सेनाको ब्यारेकको दक्षिणपट्टीको जग्गा राजनीतिक शक्तिको आडमा केही व्यक्तिहरुले ३० वर्ष बढीदेखि कब्जा गरी घर बनाएर हाटल सञ्चालन गर्दै आएका थिए ।
प्रकाशित : श्रावण २६, २०८१ १६:१६